भक्तपुर । भक्तपुरको कौशलटार क्षेत्रका स्थानीयहरुको सहजताको लागि थप परिमाणमा खानेपानीको प्रबन्ध मिलाईएको छ । यसरी खानेपानी सहजीकरण गर्ने कार्यमा नेकपा- एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतको महत्वपूर्ण भूमिका रहेको थियाे।
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले स्थानीय जनताको लागि पानीको प्रबन्ध मिलाएर राम्रो चर्चा पाएका थिए ।
यता भक्तपुरमा पनि एमाले नेता महेश बस्नेतले स्थानीयहरुलाई पानी खुवाएका छन् । तर त्यस्तो हर्क र रवि जसरी बस्नेतको चर्चा भने भएको छैन ।
पूर्वमन्त्री समेत रहेका नेता बस्नेतको पहलमा मध्यपुर थिमी नगरपालिकाको कौशलटार र गठ्ठाघर क्षेत्रका घरहरुमा दैनिक ११ लाख लिटर थप खानेपानी वितरण शुरुवात भएको हाे ।
कौशलटारमा गरिएको डिपवोरिङबाट दैनिक सात लाख र गठ्ठाघरकोबाट पाँच लाख लिटर खानेपानी वितरण गर्न सकिने भएको छ । नेता बस्नेतको पहलमा केयुकेएलबाट प्राप्त दुई करोड रकमको लगानीमा गठ्ठाघर र कौशलटारमा दुई वटा डिपवोरिङ निर्माण गरिएको छ ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको आयोजनामा डिपवोरिङको माध्यमबाट कौशलटारमा दैनिक सात लाख र गठ्ठाघरमा पाँच लाख लिटर गरी ११ लाख लिटर खानेपानीको थप वितरण शुरु गरिएको हो । कौशलटारमा सात सय परिवारलाई पुग्ने खानेपानीको शुरु गरिएकाेमा केही दिन भित्रमा नै स्थानीयवासीको घरघरमा पुग्ने गरी वितरण गरिने केयुकेएलले जानकारी दिएको छ ।
मध्यपुर नगरपालिकामा खानेपानीको सवैभन्दा बढी समस्या रहेको कौशलटार र गठ्ठाघरमा उक्त डिपवोरिङ सञ्चालनमा आएसँगै ठूलो राहत हुने स्थानीयवासीको बुझाई रहेको छ । उक्त डिपवोरिङबाट दैनिक सात सय धारामा खानेपानी वितरण गर्न सकिने भएपनि तत्कालको लागि भने करिव चार सयमा मात्र वितरण गर्ने बताइएको छ । उक्त डिपवोरिङबाट उत्पादित पानीलाई ट्रिटमेन्ट (प्रशोधन) गर्नुपर्ने भएकाले तत्कालका लागि भने खानेपानीको वाहेक घरायासी प्रयोग मात्र गर्न सकिने केयुकेएल मध्यपुर थिमीका प्रमुख अनिलकुमार त्रिखत्रीले जानकारी दिनुभयो । आगामी आर्थिक वर्षमा करिव तीन करोड बजेट व्यवस्थापन गरी ट्रिटमेन्ट प्लान्ट निर्माण गरी पानी प्रशोधन गरेपश्चात मात्र पिउन योग्य पानी आउने उहाँले जानकारी दिनुभयो ।
नेता बस्नेत, एमाले पार्टी जिल्ला अध्यक्ष बचन देउजा, वडा सदस्य सुरेश न्यौपाने, केयुकेएलका प्रतिनिधि सहितको टोलिले भक्तपुरवासी जनतालाई शुद्ध खानेपानी वितरण गर्नुपर्नेमा जोड दिँदै टिगिनीमा रहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रशोधन स्थलको निरिक्षणसमेत गरिएको छ ।
निरिक्षणका क्रममा प्रशोधन केन्द्रको अवस्था, आगामी दिनमा गर्नुपर्ने सुधार तथा आवश्यकताको बारेमा छलफल भएको थियो ।