काठमाडौं, ५ चैतः काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा अच्युतप्रसाद वाग्लेले प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष समारोहमा उपकुलपति वाग्लेको शपथग्रहण सम्पन्न भएको हो। प्रधानमन्त्री ओलीले विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि गठित खोज तथा सिफारिस समितिको सिफारिसअनुसार डा. वाग्लेलाई काठमाडौं विश्वविद्यालय ऐन, २०४८ को दफा १३ (४) बमोजिम सोमबार नियुक्त गर्नुभएको थियो।
शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री ओलीले विश्वविद्यालयको नेतृत्वलाई सुदृढ गर्दै सबै पक्षको सहकार्यमा साझा विश्वविद्यालयका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो। साथै, उपकुलपति नियुक्तिमा देखिएको ढिलाइलाई ध्यानमा राखी आगामी दिनमा यस्ता प्रक्रियालाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो।
उक्त अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, मुख्यसचिव एकनारायण अर्याल, शिक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्ले लगायत अन्य पदाधिकारीहरू उपस्थित हुनुहुन्थ्यो।
नवनियुक्त उपकुलपति वाग्ले यसअघि काठमाडौं विश्वविद्यालयका कार्यवाहक उपकुलपति तथा रजिष्ट्रारको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij