काठमाडौं । नेपाल महर्षि वैदिक फाउण्डेसनको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा ‘अतिरुद्र विश्वकल्याण विराट महायज्ञ–२०८१’ आयोजना हुने भएको छ ।
उक्त महायज्ञ कात्तिक २१ देखि २५ सम्म चल्नेछ ।
नेपाल महर्षि फाउण्डेसनले नेपालमा भावातीत ध्यानलाई प्रवर्द्धन गर्दै आएको छ । भावातीत ध्यानका प्रवद्र्धक महर्षि महेश योगी हुनुहुन्छ ।
यस पटक आयोजना गर्न लागिएको अतिरुद्र महायज्ञ महर्षि महेश योगी नेपाल भ्रमणमा आएको स्वर्णमहोत्सव (५० बर्ष)को अवसर पारेर आयोजना गरिएको हो ।
‘Nepal to Lead the World’ अर्थात् नेपालले विश्वलाई नेतृत्व गर्न सक्छ’ भनेर महर्षि महेश योगीले लिनुभएको प्रतिज्ञा स्वरुप ऊहाँको संकल्प र योजनाको सम्मानार्थ नेपाल महर्षि वैदिक फाउण्डेसनले विभिन्न सामाजिक, आध्यात्मिक एवं उद्यमशिल गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।
नेपाल परम्परागत काल देखि नै तपोभूमि, योगभूमि, सिद्धभूमि, यज्ञभूमि, ज्ञानभूमिको रुपमा रहँदै आएको र यस ज्ञानको माध्यमबाट नै नेपालले विश्वलाई नेतृत्व गर्न सक्छ भन्ने विश्वास महर्षि महेश योगीमा थियो ।
महर्षिले देख्नुभएको त्यस सम्भावनालाई अहिलेको अवस्थामा पूरा गर्नको लागि हरेक व्यक्तिमा चेतना जागरण, आहार विहार, सोचविचारका तरिकामा बदलाव, प्राकृतिक (प्राङ्गारिक-वैदिक) उत्पादनको उपयोग, आयुर्वेदिक उपचार, नैतिक संस्कार लगायतका पक्षहरुमा सुधार गरेर पहिलेको अवस्थामा नै कायम राख्नुपर्नेमा नेपाल महर्षि वैदिक फाउण्डेसनले विभिन्न पहलहरु गर्दै आएको छ ।
यस पटक आयोजना हुन लागेको महायज्ञका मुख्य संयोजक दीपक प्रकाश बास्कोटा हुनुहुन्छ । दूरदर्शी व्यक्तित्व एवं सामाजिक उद्यमी बास्कोटा पूर्वगृहराज्यमन्त्री एवं सहकारी अभियन्ता हुनुहुन्छ । जो नेपाल महर्षि वैदिक फाउण्डेसनका समेत अध्यक्ष हुनुहुन्छ ।
यस पटकको आयोजना गर्न लागिएको यज्ञ सम्बन्धमा धारणा राख्दै मूल संयोजक दीपक प्रकाश बास्कोटाले यज्ञ निकै महत्वपूर्ण रहेको र यसले सबै किसिमका विचार, आस्था, मान्यतामा रहेका व्यक्तिहरुलाई एक ठाउँमा जोड्ने सामथ्र्य राख्ने बताउनुभयो ।
दोस्रो विश्व युद्ध चलिरहेको बेलामा आयोजना गरिएको यज्ञको प्रभाव स्वरुप अन्य कुनै पनि विधितरिकाबाट रोकिन नसकेको युद्ध २ हजार ब्राह्मण र १० हजार भक्तहरुको संयुक्त प्रयत्नबाट सञ्चालित यज्ञबाट रोकिएको र संयुक्त राष्ट्र संघ जस्तो विश्वस्तरीय विश्वसनीय संस्था समेत जन्मिएको बताउनुभयो ।
यसैगरी नेपालमा पनि पहिले–पहिले हरेक बर्ष ठूला (कोटी होम स्तरीय) यज्ञहरु हुने गरेको तर अहिले आइपुग्दा यस्ता यज्ञहरु सञ्चालनको क्रम घटेको साथै समाजमा विभिन्न किसिमका विकृतिहरु बढ्दै गएको समेत बताउनुभयो ।
योगी नरहरिनाथ जीवित रहँदा सम्म नेपालमा यज्ञहरु भइरहेको स्मरण गर्दै पछि यज्ञहरु घट्दै गएको र मानिसहरुका सोच र गतिविधिहरु विकृत बन्दै गएको ऊहाँले जानकारी गराउनुभयो ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij