मान्म (कालीकोट), २८ चैतः लगातारको वर्षापछि कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत–हुम्ला सडकखण्ड अवरुद्ध भएको छ। कालीकोटको रास्कोट नगरपालिका–८ स्थित भात्तडीमा ठूलो पहिरो खसेपछि उक्त खण्डमा यातायात ठप्प भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार सान्नी त्रिवेणी गाउँपालिका–३ सिस्नेमा खसेको पहिरो भने स्थानीयवासी, यात्रु र सुरक्षाकर्मीको सक्रियतामा हटाइएसँगै त्यहाँ यातायात पुनः सुचारु भइसकेको छ।
तर, रास्कोटको भात्तडी क्षेत्रमा खसेको पहिरो अझै हटाउने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख टेकबहादुर रावतले जानकारी दिनुभयो। उहाँका अनुसार प्रहरी, स्थानीय बासिन्दा र स्काभेटरको सहयोगमा पहिरो हटाउने काम तीव्र गतिमा भइरहेको छ। “सडक खुलाउने प्रयास जारी छ,” रावतले भन्नुभयो, “आजभित्रै यातायात सञ्चालनमा ल्याउने लक्ष्य छ।”
यस घटनाका कारण यात्रुहरू अलपत्र परेका छन् भने स्थानीयवासीलाई आवागमनमा कठिनाइ भएको छ। अधिकारीहरूले यथासिघ्र सडक पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij