काठमाडौं । कतार सरकारले कम्पनी छाडेर अवैधानिक रुपमा काम गर्दै आएका आप्रवासी कामदारका लागि दिएको आममाफी प्रक्रिया सकिएको छ । अवैधानिक कामदारलाई सेप्टेम्बर १ (भदौ १६)देखि डिसेम्बर १ (मंसिर १६)गतेसम्म आममाफी प्रक्रियामा सामेल हुने अवसर दिइएको थियो ।
कतारको आन्तरिक मन्त्रालयले प्रवेश, गमन आवासीय र स्पोन्सर सम्बन्धी कानुन उल्लंघन गरेर बस्ने आप्रवासी कामदारलाई आममाफी प्रक्रियाका लागि आव्हान गरेको थियो ।
आन्तरिक मन्त्रालयले आममाफी सुबिधा लिएर घर फिर्न चाहनेलाई कतारको साल्वा रोडमा रहेको खोज तथा अनुगमन विभाग सर्च एन्ड फलोअप डिपार्टमेन्ट, सिआइडीमा सोमबारदेखि बिहीबारसम्म दिउँसो २ बजे देखि ८ बजेसम्म सम्पर्क गर्न सूचना जारी गरेको थियो ।
गैरकानूनी हैसियतमा रहेका नेपालीलाई सहजीकरण गर्न कतारस्थित नेपाली दूतावासले छुट्टै डेस्क सञ्चालन गरेको थियो । १५ सय ४० नेपाली आममाफी प्रक्रियामा सहभागी भएर स्वदेश फर्किएको नेपाली दूतावासका प्रवक्ता नितेश सापकोटाले जानकारी दिनुभयो ।
सापकोटाका अनुसार कतारको अनुगमन विभाग सर्च एन्ड फलोअप डिपार्टमेन्ट, सिआइडीमा सिधै सम्र्पक गरेर पनि थुप्रै नेपाली स्वदेश फर्केका छन् । कतारमा चार लाख ५० हजार नेपाली कामदार कानूनी हैसियतमा रहेर काम गरिरहेको अनुमान छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij