
दोस्रोपटक प्रहरीको पत्र पाएपछि सभामुखले हत्या अभियोग लागेका एमाले सांसद लक्ष्मी महतो कोइरीलाई निलम्बन गर्ने प्रक्रिया अघि बढाउने भएका छन्।
प्रहरीले आइतबार सभामुख देवराज घिमिरेलाई कोइरी पक्राउमा सहयोग गर्न माग गर्दै पत्र पठाएको थियो। हत्याका अभियुक्त रहेका कोइरी लामो समय संसद्मा अनुपस्थित छन्।
आगामी अधिवेशन सुरु हुनुअगाडि नै कोइरी निलम्बन गर्ने तयारी भइरहेको हो। संसद् नबसेको अवस्थामा सभामुखले निलम्बनको सूचना टाँस गर्न सक्नेछन्।
सभामुख निकट स्रोतका अनुसार कोइरीको सांसद पद निलम्बनको प्रक्रिया अघि बढाउने तयारी छ।
‘प्रहरीको पत्र आएपछि अब फरार माननीय सदस्यलाई निलम्बन गर्न सजिलो भएको छ,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘यसअघि नियमावलीमा निलम्बन गर्ने व्यवस्था थिएन, अब फरार रहेकै अवस्थामा निलम्बन गर्न सकिन्छ। माननीय सांसद कोइरी दसपटक भन्दा बढी समयदेखि संसद्मा उपस्थिति हुनुहुन्न।’
‘उहाँ प्रहरीको फरार सूचीमा रहेकैले निलम्बनको प्रक्रिया अगाडि बढ्नेछ, अर्काे संसद अधिवेशन सुरु हुनुअगाडि नै त्यो प्रक्रिया अघि बढाउने तयारी छ,’ स्रोतले थप्यो।
सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले प्रहरीले पठाएको पत्र सभामुखले अध्ययन गरिरहेको जानकारी दिए।
कोइरीले उपचारमा रहेको भन्दै बिदा स्वीकृत गर्न संसद् सचिवालयमा पत्र पठाए।
वैशाख १५ गते बसेको संसद् बैठकमा सभामुख घिमिरेले कोइरी उपचारमा रहेको भन्दै अनुपस्थितको बिदा स्वीकृत गराउन खोजेका थिए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij