२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

ऊर्जाको विकास, देशको सर्वांगीण विकास

ऊर्जाको विकास, देशको सर्वांगीण विकास

गणेश कार्की
अध्यक्ष, स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल (इप्पान)

नेपालको जलविद्युतको इतिहास एकदमै लामो छ । फर्पिङ जलविद्युत आयोजना आएको ११२ वर्षभन्दा बढी भइसक्यो । त्यसबेला नीति निर्माण तहमा रहेकाहरुमा पनि देशलाई बिजुली चाहिन्छ भन्ने दृष्टिकोष थियो भन्ने यसले स्पष्ट गर्छ । तर, त्यसपछि त्यतिमै सीमित रह्यो । जनसंख्या बढ्दै जाँदा आवश्यकताअनुसार विकास गर्दै लगिएन । नेपालमा हामीले स्कुल जीवनदेखि नै नेपालमा ८३ हजार मेगावाट बिजुली उत्पादन हुनसक्छ, यो जलस्रोतमा विश्वकै दोस्रो धनी देश हो भनेर पढ्यौँ ।

विश्वकै ‘दोस्रो धनी’ भन्ने पूृर्वानुमानमाथि प्रश्न भए पनि निःसन्देश हामी जलस्रोतमा ‘धनी’ चाहिँ छौँ । त्यसबेला सोलार पनि हुन्छ भनेर परिकल्पना नै गरिएको थिएन । सोलार पनि धेरै नै हुने रहेछ । कुनै कुनै अध्ययनले नेपालमा ४० हजार मेगावाट सोलार इनर्जी उत्पादन हुनसक्छ भनेर देखाएको छ । हाइड्रोजनका कुरा पनि आउन थालेका छन् । त्यसको सम्भावना पनि प्रचुर छ ।
त्यसकारण सम्भावना एउटा कुरा हो । त्यसबाट समयमै लाभ लिइएन भने त्यो ‘आउटडेटेड’ पनि हुनसक्छ अथवा त्यसको ‘स्रोत’ सकिँदै जानसक्छ ।

फर्पिङयताको अवधिमा नेपालको जलविद्युतमा ठूलो विकास भइसक्नुपथ्र्यो । तर, भएन । त्यसबेलासम्म करिब २ सय मेगावाट हाराहारीमात्र विद्युत् उत्पादन भइरहेको थियो ।
यसको अर्थ त्यसपछि २०४९ सालसम्म हामीले जलविद्युतलाई कुनै प्राथमिकता दिएनौँ । २०४९ सालमा निजी क्षेत्रलाई आउन दिनेगरी कानुन बन्यो । त्यसपछि निजी क्षेत्रको प्रवेश हुन थाल्यो । २०५८ सालपछि निजी लगानीकर्ताले औपचारिक रुपमा जलविद्युत उत्पादनमा हात हालेको पाइन्छ । सन् २०३५ सम्ममा १३ हजार ५ सय मेगावाट त नेपालमै खपत हुने प्रक्षेपण छ । त्यति बिजुली खपत हुने हो भने यो देशको कायापलट हुन्छ ।

तर, सरकारले नेपाललाई कति जलविद्युत आवश्यक छ र कतिसम्म उत्पादन गर्ने भन्ने निक्र्योल गर्न सकेन । अध्ययन अनुसन्धान भएन । अन्योल, थुप्रै असहज नियम कानुन र जटिल वित्तीय व्यवस्थापनका बाबजुद २०६० देखि ७० सम्ममा जलविद्युत क्षेत्रले केही गति लियो ।
उत्पादन नहुँदा हामीले १२, १४ र १८ घण्टासम्म लोडसेडिङ बेहो¥यौँ । क्षमताअनुसार मानिसहरु डिजेल चलाएर उज्यालोमा बस्नुपर्ने अवस्थामा पुगे । उद्योगधन्दा, कलकारखाना र कार्यालयहरु कि त डिजेलको भरमा चले कि त बत्ती नआउँदासम्म बन्द भएर बसे । मैनबत्तीको भरमा भातभान्सा गर्नुप¥यो । साँच्चै नै भयावह स्थिति थियो त्यो । अब यो देश कहिले पनि लोडसेडिङ मुक्त हुन्छ होला भन्ने नै लाग्दैनथ्यो ।

त्यसबेला तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जामन्त्री जनार्दन शर्माले एउटा अप्रत्यासित निर्णय लिनुभयो र नेपाल विद्युत प्राधिकरणको नेतृत्व परिवर्तन गर्नुभयो । त्यही नेतृत्व अर्थात् कुलमान घिसिङले भएकै विद्युतको कुशल व्यवस्थापन गरेर १२–१४ घण्टाको लोडसेडिङलाई न्यून गर्नुभयो । यद्यपि, उद्योग क्षेत्रमा लोडसेडिङको समस्या यथावत् थियो ।
त्यही सरकारले २०७२ सालमा एउटा लक्ष्य सार्वजनिक ग¥यो । १० वर्षमा १० हजार मेगावाट उत्पादन गरौँ भनेर सरकार अघि बढ्यो । त्यसपछि आएका सरकारले झन्–झन् लक्ष्य बढाएर पनि भने । त्यसमै प्रतिस्पर्धा भयो ।

‘१० वर्षमा १० हजार मेगावाट’को नारा पपुलर भयो । विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) खुल्यो । निजी क्षेत्र पनि आक्रामक ढंगले अघि बढ्यो । त्यसपछि धेरै परियोजना अघि बढे । अहिले ३३ सय मेगावाट उत्पादन भइसकेको छ । त्यसमा २६ सय मेगावाट अर्थात् करिब ८० प्रतिशत उत्पादनमा नेपाली निजी क्षेत्रको योगदान छ ।

अझ ४ हजार मेगावाट निर्माणाधीन छ । ती बढीमा तीन वर्षसम्ममा आउँछन् । थप केही परियोजनाको पीपीए भएको छ । वित्तीय व्यवस्थापन भइसकेका छन् । ती पनि चाँडै निर्माणको चरणमा जान्छन् । यसरी हेर्दा निजी क्षेत्रको प्रवेशपछि नेपालको जलविद्युतले ठूलो फड्को मारेको छ भन्न सकिन्छ । निजी क्षेत्रलाई प्रवेश नगराएको भए अहिले पनि लोडसेडिङको स्थिति भयावह नै हुने थियो ।
बंगलादेश, पाकिस्तान लगायत देश अहिले पनि १७, १८ र २१ घण्टाको लोडसेडिङ सामान गरिरहेका छन् । हामी पनि त्यही अवस्थामा रहन्थ्यौँ ।

सन् २०३५ सम्ममा १३ हजार ५ सय मेगावाट त नेपालमै खपत हुने प्रक्षेपण छ । त्यति बिजुली खपत हुने हो भने यो देशको कायापलट हुन्छ ।

जलविद्युतको विकासमा ब्रेक
तर, यही बीचमा सरकारका गलत कदमहरु सुरु भए । अध्ययन र योजनाबिना जलविद्युतको उत्पादन र विकासमा ब्रेक लगाउने काम भयो । २०७५ सालपछि पीपीए गरेर जलविद्युत उत्पादन प्रक्रिया अघि बढाइहालौँ भन्ने सोच नेपाल सरकारमा आएन । उत्पादित बिजुली कहाँ र कसरी खपत गर्ने भन्ने योजना सरकारले बनाउन सकेन ।

हामीसँग बर्खामा बिजुली बढी हुन थाल्यो । तर, बढी भएको बिजुली छिमेकी मुलुकमा बेच्नका लागि सम्झौता पनि भएन, पूर्वाधार पनि थिएन । उत्पादित बिजुली बिकेन भने ठूलो क्षति हुन्छ भन्ने भयमा सरकार थियो कि भन्ने लाग्छ ।

तर, त्यही कारण हामी अहिले पनि बिजुली किनेर लोडसेडिङ व्यवस्थापन गर्नुपर्ने स्थितिमा छौं । यो वर्ष पनि हिउँदमा ६–७ सय मेगावाट किन्नुपर्ने अवस्था छ । भारतले दिएन भने त फेरि पनि लोडसेडिङ हुन्छ । त्यसकारण हामी कम्तीमा नेपाललाई बाह्रै महिना पुग्ने बिजुली उत्पादन त गरौँ भनिरहेका छौँ ।
अब उत्पादित बिजुली खेर जाला, लगानी डुब्ला भन्ने चिन्ता पनि छैन । भारतले १० हजार मेगावाट किन्छु भनिसक्यो । बंगलादेशले किन्ने भएको छ । कहिलेकाहीँ चीनले पनि किन्छ भन्ने हल्ला चल्छ । तर, भारतले किन्छ भन्ने त प्रमाणित भइसक्यो ।

विगतमा भारतले हामीसँग बढी भएको बिजुली नकिन्न चाहेजस्तो लाग्थ्यो । तर, त्यस्तो होइन रहेछ । अहिले भारतले हामीलाई सहयोग गरिरहेको छ । बढी भएको बिजुली किनिदिएको छ, नेपाललाई अपुग भएका बेला बिजुली दिएको पनि छ ।

यसकारण हामी नेपाल सरकारलाई ‘आन्तरिक बजारमा पनि खपत उच्च हुन थालेको छ, बाह्य बजार पनि सुनिश्चित भइसक्यो, अब निर्धक्कसँग उत्पादन गरौँ’ भनिरहेका छौँ । भारतलाई हामीले १० हजार मेगावाट बिजुली दिने सम्झौता गरेका छौं । उत्पादनमा ढिलाइ ग¥यौँ भने हाम्रो प्रतिबद्धता पूरा हुँदैन । १० वर्ष भनेको धेरै लामो समय होइन । भनेको समयमा बिजुली दिन सकिएन भने भारतले वैकल्पिक स्रोत खोज्न सक्छ ।

बंगलादेशले पनि चुनावी घोषणा पत्रमा ९ हजार मेगावाट बिजुली नेपालबाट लैजाने कुरा गरेका थियो । भनेपछि अब जति बिजुली उत्पादन गरे पनि बजारको समस्या छैन भनेर हामी सरकारलाई भनिरहेका छौँ । उत्पादन गरौं, सरकारले नसके निजी क्षेत्रले पनि बजार खोज्छ, बिजुली बिक्री गर्छ भनेका छौँ ।
तर, अहिले पनि सरकारले हाम्रो कुरालाई गम्भीरताका साथ लिएको छैन । हामीले मौखिक पनि धेरै पटक भन्यौँ, लिखित पनि दियौँ तर पीपीए खुलेको छैन । बीचमा पम्फा भुसाल ऊर्जामन्त्री भएका बेला १५ सय मेगावाट खुलाउने प्रक्रिया अघि बढाउनुभयो र पछि राजेन्द्र लिङ्देनले खोल्नुभयो । त्यसयता पीपीए भएको छैन ।

२८ हजार ५०० को लक्ष्य
यसअघिकै सरकारले सन् २०३५ सम्ममा २८ हजार ५ सय मेगावाट उत्पादनको लक्ष्य लिएको छ । त्यसका लागि वर्तमान सरकारले ‘ऊर्जा विकास मार्गचित्र २०८१’ मन्त्रिपरिषद बैठकबाट पारित गरेको छ ।

लक्ष्यअनुसार उत्पादन गर्न ५० अर्ब डलर अर्थात् ६७–६८ खर्ब लागत अनुमान गरिएको छ । बिजुली प्रवाह गर्न देशभित्र र अन्तरदेशीय प्रसारण लाइन बनाउनुपर्छ । त्यसमा अर्को ८ अर्ब डलर अर्थात् १२ खर्ब डलर पैसा चाहिन्छ । बिजुली उत्पादन र प्रसारण लाइनका लागि झन्डै ७०–७५ खर्ब पैसा चाहिने रहेछ ।

सरकारको नीति अस्थिर हुनु हुँदैन । नीतिगत अस्थिरताको बाटो नै बन्दै गर्नुपर्छ । ठूलो लगानी गरिसकेको हुन्छ, नीति परिवर्तन भयो भने लगानीकर्ता भ्रमित हुन्छन्, उनीहरुका सबै खालका प्रक्षेपण प्रभावित हुन्छन् ।

त्यसकारण हामी ढिला नगरौँ भनिरहेका छौँ । यति धेरै पैसा त सजिलै निस्किँदैन । उत्पादन गर्न पनि समय लाग्छ । सरकारले सकेसम्म चाँडो निजी क्षेत्रलाई आह्वान गर्नुपर्छ । सँगै नेपाली जनतालाई पनि लगानीका लागि विश्वास दिलाउनुपर्छ । अब यो भन्दा ढिला नगरौँ ।

लक्ष्य पूरा गर्न हामीलाई पैसा धेरै चाहिन्छ । स्वदेशी पुँजीले मात्र नपुग्ला । विदेशी पुँजी पनि ल्याउनुपर्ला । प्रविधि पनि त्यसैअनुसारको चाहिएला । नेपालीहरुले नै नेपालमा लगानीको वातावरण छैन भन्छन् भने विदेशीहरु त आउँदैनन् । त्यसकारण सरकारले वातावरण सहज पनि बनाउनुपर्छ । पहिलो कुरा सरकारले नेपालीहरुलाई नेपालमा काम गर्ने वातावरण बनाउनुपर्छ ।

समस्या नै समस्या
कानुनी अड्चन धेरै छन् । सरकारले हालै मात्र केही कानुनमा सुधार गरेको छ । तर, त्यो पर्याप्त छैन । त्यसबाहेक प्रशासनिक झन्झट धेरै छन् । एउटा काम गर्न १८ वटा मन्त्रालय र तिनका विभाग धाउनुपर्ने स्थिति अद्यापि छ । त्यसकारण यी सबै समस्यालाई निराकरण गर्ने गरी १० वर्षका लागि ऊर्जा दशक घोषणा गरेर सरकार अघि बढ्नुपर्छ र लक्षअनुसार बिजुली उत्पादन नभएसम्मका लागि ‘एकद्वारा प्रणाली’ लागू गरेर सबै कानुनी र प्रशासनिक काम एकै ठाउँबाट सकिदिने खालका नीतिगत निर्णय सरकारले गर्नुपर्छ ।

वनका काम, जग्गा लिजमा लिने काम, रुख काट्ने काम यी सबैका लागि ऊर्जा मन्त्रालय गए पुग्ने अवस्था बनाउनुपर्छ । रुख काट्ने स्वीकृति लिँदा–लिँदै पाँच वर्ष बित्यो भने त भएन नि ! स्वदेशी लगानीकर्ताका लागि सहज वातावरण भएको देखेपछि विदेशी पनि आकर्षित हुन्छन् ।
विदेशीका लागि थप सहज बनाइदिनुपर्छ । हालैको कानुनी संशोधनमार्फत नेपालमा गरिएको विदेशी लगानीबाट प्राप्त आर्जित रकम फिर्ता लैजाने प्रक्रिया सरलीकृत गरिएको छ । यो राम्रो कुरा हो । तर, नीतिगत अस्थिरताबाट हामी ग्रसित छौँ ।

सरकारको नीति अस्थिर हुनु हुँदैन । नीतिगत अस्थिरताको बाटो नै बन्दै गर्नुपर्छ । ठूलो लगानी गरिसकेको हुन्छ, नीति परिवर्तन भयो भने लगानीकर्ता भ्रमित हुन्छन्, उनीहरुका सबै खालका प्रक्षेपण प्रभावित हुन्छन् । त्यसले सम्बन्धित लगानीकर्तालाई त समस्या पर्छ नै अरु कोही आउन पनि हच्किन्छन् ।
लगानी गर्दा ऊर्जा विधेयक कस्तो छ भनेर नेपालीले पनि हेर्छन्, विदेशीले पनि हेर्छन् । ऊर्जा विधेयकमा लगानीमैत्री प्रावधानहरु हुनुपर्छ । अहिलेको विधेयकमा हाम्रो ठूलो विरोध छ । विधेयकमा निजी लगानीकर्तालाई उत्साहित होइन, निरुत्साहित बनाउने थुप्रै प्रावधान छन् । अहिलेको विधेयक २०४९ सालको भन्दा पनि ‘प्रतिगामी’ छ ।

हामीलाई ८० खर्ब लगानी चाहिएको छ । विधेयक भने लगानी गर्नै मन नलाग्ने किसिमको आउँदैछ भने विद्युत क्षेत्रको विकास कसरी होला । ऐन नियम त ‘लगानी गरौँ, गरौँ’ लाग्ने खालको पो आउनुपर्ला त ! लगानीमैत्री कानुन आउने हो भने निजी क्षेत्रले धेरै गर्न सक्छ । अब हामी हिँडेर लक्ष्य पूरा गर्न नसक्ने ठाउँमा छौँ । दौडिनुपर्ने स्थिति छ । तर, सरकारले दौडिन त के हिँड्न पनि नसक्ने गरी खुट्टा बाँध्ने काम गरिरहेको छ ।

ठूला परियोजना निर्माण गर्न समय पनि धेरै लाग्छ । एउटै २ हजार मेगावाटको परियोजना बन्न १२ वर्ष लाग्ला । हामीसँग १० वर्षको मात्र समय छ । त्यसकारण ढिला नगरौँ भनिरहेका छौँ ताकि भोलि भारतले हामीसँग ‘समयमा बिजुली दिएनौ, अब चाहिँदैन’ भन्ने अवस्था नआओस् ।

युवालाई रोक्ने अथवा फर्काउने कुरा धेरै सुनिन्छ । नेपालमा बस्ने, लगानी गर्ने र कमाउने वातावरण भयो भने रोक्ने या फर्काउने कुरा नै गर्नु पर्दैन । युवा आफैँ रोकिन्छन् । सन् २०३५ सम्ममा २८ हजार ५ सय मेगावाट उत्पादन गर्न बर्सेनि ८ खर्ब पैसा परिचालन हुनुपर्छ ।

ऊर्जा विकासको विकल्पै छैन
नेपालको विकासका लागि ऊर्जा क्षेत्रको विकास गर्नुको विकल्प नै छैन । हामी १५ हजार मेगावाट निर्यातको तयारीमा छौँ । सन् २०३५ सम्ममा १३ हजार ५ सय मेगावाट त नेपालमै खपत हुने प्रक्षेपण छ । त्यसकारण बिजुली त हामीलाई धेरै नै चाहिन्छ ।

त्यति धेरै बिजुली खपत हुने हो भने यो देशको कायापलट हुन्छ । दिनमा २४ घण्टा नै बिजुली दिनसक्ने हो भने धेरै ठूला उद्योगधन्धा नेपालमा आउँछन् । ठूलो लगानी नेपाल भित्रिन्छ । बिजुलीबाट मात्रै चल्ने उद्योग पनि धेरै हुन्छन् । त्यस्ता उद्योग आउँछन् । सस्तोमा बिजुली दिन्छौँ, उद्योग राख भन्न पाइन्छ ।
होटल क्षेत्रमा लगानी थपिन्छ, त्यसले पर्यटन क्षेत्र फस्टाउँछ । कृषिका परियोजनामा लगानी भित्रिन्छ । बाँझो भएर बन्जर बन्दै गरेको खेतीयोग्य जमिनलाई हराभरा बनाउन सिँचाइ सुविधा चाहिन्छ, सिँचाइ सुविधा पु¥याउन बिजुली नै चाहिन्छ । कृषिमा प्रविधि भित्र्याउन पनि बिजुली आवश्यक पर्छ ।
सूचना प्रविधि, अरु उद्योग, अस्पताल, शिक्षा, विद्युतीय सवारी साधन, रेल यातायात सबैका लागि बिजुलीको विकल्प छैन । डिजेल, पेट्रोल र ग्यासको आयात घटाउन पनि बिजुली उत्पादन बढाउनुपर्छ । त्यसकारण लगानीमैत्री वातावरण बनाउनुपर्छ ।

युवालाई रोक्ने अथवा फर्काउने कुरा धेरै सुनिन्छ । नेपालमा बस्ने, लगानी गर्ने र कमाउने वातावरण भयो भने रोक्ने या फर्काउने कुरा नै गर्नु पर्दैन । युवा आफैँ रोकिन्छन् । सन् २०३५ सम्ममा २८ हजार ५ सय मेगावाट उत्पादन गर्न बर्सेनि ८ खर्ब पैसा परिचालन हुनुपर्छ । त्यति पैसा परिचालन हुँदा यो देशका निर्माण उद्योग चल्छन्, युवाले रोजगारी पाउँछन्, होटल व्यवसाय फस्टाउँछन्, कृषि उपजले बजार पाउँछ, धेरै लाभ नै लाभ प्राप्त हुन्छ । सरकारले खाली त्यसका लागि वातावरण बनाउनुपर्छ ।

( इमान जर्नलमा प्रकाशित अंश )

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij