
ललितपुरको सुन्धारामा जन्मिएका व्यक्ति हुन् महेश्वर श्रेष्ठ । उनी लामो समय देखि फेल्ट व्यवसायमा संलग्न रहँदै आएका छन् । फेल्ट व्यवसाय उनी आफैंले शुरुवात गरेका हुन् । एभरेष्ट फेसन नामक कम्पनी सञ्चालन गरेर उनले यो व्यवसायलाई उत्पादन र निर्यात गर्दै आएका छन् । यो कम्पनी हरेक बर्षजसो उत्कृष्ट निर्यातकर्ताको रुपमा राज्यबाट सम्मानित हुँदै आएको छ । आफ्नो कम्पनीमा प्रत्यक्ष संलग्न कामदारको अलावा अन्य ४२ ओटा सानातिना कम्पनीलाई काममा उनले लगाउँदै आएका छन् । सबैगरी उनको माध्यमबाट करिब २ हजार व्यक्तिहरुलाई रोजगारी प्राप्त हुँदै आएको छ ।
बजार ट्रेण्ड
नेपालबाट बाह्य बजारमा निर्यात हुने वस्तुहरु मध्ये फेल्टको व्यवसाय सबैभन्दा बढी छ । कारोबारको हिसाबले अघिल्लो बर्ष करिब ७ अर्बको फेल्ट कारोबार नेपालबाट भएको श्रेष्ठ बताए । यसको कारोबार अझ बढ्ने क्रममा छ । रोजगारी सृजनामा समेत यस उद्योगले महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । विश्व अर्थतन्त्र कमजोर भएर नेपालका अन्य उद्योग व्यवसायको कारोबार घट्दा पनि फेल्टको कारोबार भने घटेको छैन, बरु बढ्दो क्रममा छ । नेपालमा हरेक व्यवसाय करिब १५ बर्षको अवधिमा फेजआउट हुने स्थिति देखिएकोमा फेल्ट भने लामो समय एकनाशले अघी बढिरहेको छ । अझै ८–१० यस व्यवसायको टे««ण्ड उकालो क्रममा नै रहने श्रेष्ठको अनुमान छ ।
कच्चा पदार्थ
फेल्ट व्यवसायको लागि आवश्यक पर्ने कच्चा पदार्थ उन हो । जुन बाह्य बजारबाट नै भित्रिने गरेको छ । आफूले न्यूजिल्याण्डबाट कच्चा पदार्थ आयात गर्दै आएको श्रेष्ठ बताउँछन् ।
नेपालमा अधिकांश उद्योग किन फस्टाउँदैनन् ?
अधिकांश नेपालीहरुमा तत्काल प्रतिफल चाहने अवस्था रहँदै आएको छ । कुनै पनि पेशा व्यवसायमा सफल हुनको लागि विचलित नभइकन कम्तीमा ४–५ बर्ष सम्म इमान्दार तवरले टिकेर काम गर्नुपर्ने हुन्छ । तर अधिकांश नेपालीहरुमा यस किसिमको लगनशिलता समयक्रम अनुसार घट्दै जान्छ । जसले गर्दा नेपालमा व्यवसायमा संलग्न भएका अधिकांश व्यक्तिहरु सफल हुन नसकेको स्थिति छ ।
राज्यबाट अपेक्षा
राज्यले थप सहज अवस्था निर्माण गर्न सकेको खण्डमा आफ्नो व्यवसायलाई केही बर्षमा दोब्बर बनाउन सक्ने व्यवसायी श्रेष्ठ बताउँछन् । नेपाल सानो देश भएको र यहाँ उपलब्ध स्रोतसाधन एवं जनशक्तिलाई राम्रो तवरले प्रयोगमा ल्याउनुपर्ने उनी बताउँछन् । जसबाट हामीले अपेक्षाकृत रुपमा मुलुकको विकासलाई नयाँ उचाईमा अघी बढाउन सक्छौं ।

राज्यले विद्यालय तहको शिक्षामा नै उद्यमशिलता सम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने, व्यवसायमा आउन चाहने व्यक्तिहरुलाई प्रोत्साहन गर्नुपर्ने, उद्योग व्यवसायको आधार सडक एवं पूर्वाधार भएको कारण पूर्वाधार विकासलाई विशेष महत्व सहित अघी बढाउनुपर्ने लगायतका कामहरुमा राज्यले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उनको धारणा छ ।
दिगो नीति आवश्यक
नेपालमा कामलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसकिएको स्थिति छ । काम गर्नको लागि राज्यसँग प्रयाप्त पैसा पनि रहेको र कामको लागि जनशक्ति समेत उपलब्ध रहेको अवस्थामा पनि राज्य पक्षले प्रभावकारी रुपमा काम गर्न सकेको छैन । जहाँ राज्य प्रति सर्वसाधारणले प्रश्न गर्न सक्ने अवस्था समेत सृजना हुने गरेको छ ।
राज्यले कतिपय नीतिहरु कार्यान्वयनमा लगेर प्रभावकारी बनेका कार्यक्रमहरुलाई समेत लामो समय निरन्तरता दिन सकेको छैन । राज्यले नियमहरु बनाएर पनि ती नियमहरुलाई राम्रो तवरले प्रयोगमा ल्याउन किन सक्दैन ? भन्ने कुरा विशेष महत्वको रहने गर्छ । यहाँ व्यक्ति अनुसार अलग–अलग कानुनहरु लागु गर्ने स्थिति समेत छ । यसले नेपालका उद्योगी व्यवसायीहरुमा आशङ्का सृजना गर्दै आएको छ । जसबाट व्यवसायमा संलग्न हुनुपूर्व नै व्यवसायमा आकाङ्क्षा रहेको व्यक्ति अघी बढ्न नसक्ने स्थिति छ । राजनीतिक प्रभावको कारण सबैजसो क्षेत्र अस्तव्यस्त बन्दै आएका छन् ।

अन्त्यमा,
नेपालमा अवसरहरु प्रशस्त छन् । नेपालबाट निर्यातको सम्भावना पनि राम्रो छ । यसलाई अझ प्रभावकारी बनाउनको लागि राज्यले दिगो नीति लिनुपर्छ । राज्यको पक्षबाट निर्वाह गर्नुपर्ने भूमिका प्रभावकारी बनाउन सकेको खण्डमा नेपालमा थप रोजगारी सृजना गर्न सकिन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij