काठमाडाैं, १ फागुनः इभेन्ट सोलुसन प्रा. लि.ले १०औं वार्षिकोत्सव मनाएको छ । बुधबार ललितपुरको ज्वागलस्थित इभेन्ट सोलुसनको कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरीे वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सवको अवसरमा इभेन्ट सोलुसनले स्थानीय स्काउट, बाराही टोल विकास समिति, ललितपुर महानगरपालिका १० नम्बर वडा कार्यालयसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागि ८० जनाभन्दा धेरैले रक्तदान गरेका छन् ।
इभेन्ट सोलुसनका अध्यक्ष सुनिल भण्डारीले १० वर्षे यात्राका क्रममा इभेन्ट सोलुसनसँग जोडिएका सबै सेवाग्राहीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहकार्यका लागि अनुरोध गरे ।
‘बि अ गेष्ट एट योर ओन इभेन्ट’ भन्ने नाराका साथ सेवा प्रवाह गर्दै आएको इभेन्ट सोलुसनले विभिन्न आरोह अवरोह वीचको संघर्ष र मेहनतले कम्पनी स्थापित भएको कम्पनीका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए । साथै सवैको साथ र सहयोगले इभेन्ट सोलुसनलाई स्थापित ब्राण्ड बनाउन सकिएको प्रधानको भनाई थियो । वार्षिकोत्सवको शुभ दिनमा स्थानिय संस्था, तथा स्काउटसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको भन्दै प्रधानले सहयोगी, रक्तदाता तथा कार्यक्रममा उपस्थित सबैलाई कृतज्ञता ज्ञापन गरेका थिए ।

नेपाल स्वयंमसेवी रक्तदाता समाजका अध्यक्ष एवं १८१औं कृतिमानी रक्तदाता प्रेम सागर कर्माचार्यले रक्तदान जीवनदान भएको भन्दै हरेक व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गरी अरुलाई सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । २०७१ माघ ३० गते स्थापना भएको इभेन्ट सोलुसनले राजधानीका साथै देशका सबै स्थानमा प्रभावकारी रुपमा आफ्नो सेवालाई सर्वसुलभ रुपमा उपलब्ध गराउंदै जाने प्रतिबद्धता जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij