
त्र
सर्वप्रथम त म यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु ।
धन्यवाद
नेपालमा सहकारीको इतिहासलाई यहाँले कसरी बुझ्नुभएको छ ?
नेपालमा सहकारीको विकास धेरै पुरानो नभएपनि यसको सुरुवात भने राणाकाल देखि नै भएको पाईन्छ । सहकारीको व्यवसायिक शुरुवात भने २०१३ चैत २० गते चितवन जिल्लाको वखान सहकारी संस्था स्थापना गरिएसँगै भएको मानिन्छ । संघिय सहकारी विभाग अनुसार हाल नेपालभर ३० हजार भन्दा वढी सहकारीहरु स्थापना भएका छन् । हाल सम्म सहकारीमा ७३ लाखभन्दा बढी व्यक्तिहरु सदस्य रहेका छन् । कूल ग्राहस्थ उत्पादनमा सहकारीको योगदान ३ प्रतिशत पुगेको अनमान छ भने १ लाख २५ हजार भन्दा बढी व्यक्तिलाई प्रत्यक्ष र ७ लाखभन्दा बढी व्यक्तिलाई यस क्षेत्रले अप्रत्यक्ष रुपमा रोजगारीको अवसर प्रदान गरेकोे छ । सहकारीमा महिला सहभागिता ५१ प्रतिशत पुगेको छ भने व्यवस्थापनमा पनि महिला सहभागिता १५ प्रतिशत पुगेको छ । हाल नेपालमा महिलाद्वारा सञ्चालित सहकारी संस्था मात्रै पनि करिव ३५ सय पुगिसकेका छन् । नेपालमा सहकारीहरुको वार्षिक कारोबार मोटामोटि करिब पौने छ खर्ब पुगेको छ ।
अहिले हामीकहाँ सहकारी र वित्तीय क्षेत्रमा रहेको प्रमुख समस्या के हो ? यसको समाधान के–कसरी गर्न सकिएला जस्तो तपाईलाई लाग्दछ ?
वित्तीय क्षेत्रको एउटा ठूलो समस्या सीमित व्यापारी तथा व्यवसायीको वर्चस्व हुनु हो । हाल तरलताको अभाव र कर्जा संकुचन हुँदा अर्थतन्त्रमा माग र कारोबार सुस्ताएको छ । राजस्व घटेको छ, सार्वजनिक वित्त व्यवस्थापन चुनौतीपूर्ण बनेको छ, घरजग्गा र शेयर वजारको कारोबार सुकेको छ । एकातिर जग्गामा लगानी भएको कर्जाको ब्याज थपिँदै जाने र अर्काेतिर जग्गाको मूल््य नबढ्ने र बेच्न पनि नसकिने अवस्थामा पुगेको छ । साथै सहकारी संस्थाहरूको अस्वाभाविक आकार, जग्गा लगायत अनुउत्पादक क्षेत्रमा भएको उच्च लगानी, सम्पत्ति र दायित्वबीच तालमेल नहुनु र केहि सीमित व्यक्तिहरु चाँडो धनि हुने आसयले सहकारी सञ्चालन गर्नुका साथै सहकारीको मूलभूत अवधारणाबाट विमुख हुनु जस्ता कारणले सहकारी संस्थाहरू एकपछि अर्को गरेर संकटग्रस्त अवस्थामा पुग्न थालेका हुन् । यसको लागि त सर्वप्रथम राज्यद्वारा गरिएका पुँजीगत खर्चका विलविजक हरु फर्छ्यौट गरि अर्थतन्त्र चलायमान गराउनु प¥यो । यसका साथै बिप्रेषणको भर नपरि विकास निमार्णका कार्यहरु तुरुन्त्त थालनी गरि विदेशिएका युवाहरुलाई स्वदेशमै रोजगारीको वातावरण राज्यद्घारा बनाउनु प¥यो । साथै सहकारीमा सहकारी शिक्षा अनिवार्य लागु गरि सहकारीलाई जनव्यवसायिक उद्योगको रुपमा स्थापित गर्न राज्यवाट बढावा दिनुपर्छ र अहिले सहकारीमा भएका विसङ्गतिहरुलाई राज्यद्वारा नियन्त्रणमा लिई सहकारी सञ्चालनको लाद्वग स्पष्ट नीति, नियम एवं कानुन परिपालना गराउनु पर्छ । यसो गरेमा सायद अहिले निम्तिएका समस्याहरू विस्तारै घट्दै जान्छन् जस्तो मलाई लाग्छ ।
केहि सहकारीहरूको गलत नियतले गर्दा सर्वसाधारणले ठूलो दुःख कष्ट पाइरहेका छन् । यो हुनुलाई यहाँले के भन्नुहुन्छ ?
मैले अगाडि पनि भनिसकेको छु । केहि सीमित सहकारीका सञ्चालकहरुले चाँडो धनि हुने उद्देश्य राखि चर्को व्याजको लोभमा पारि उठाएको वचत अहिले संकटमा छ, यसको जवाफदेहि राज्य देखि स्वयम वचतकर्ता पनि हुनु जरुरि छ किनकि सहकारी आफैँमा एउटा जनव्यावसायिक विधि सहित आफ्नो लागि आफैंले सदस्यहरु मिलि जोहो गर्ने सहकारिमा सदस्यको रुपमा प्रवेश नगरी ग्राहकको रुपमा वैंक वित्तिय संस्थासँग तुलना गरी अधिक व्याज पाउने लोभमा वचत जम्मा गरेर निम्तिएको कष्ट हो । यसका अलावा सहकारी शिक्षाको कमि हुनु पनि कष्टको अर्को कारण हो । सोहि कारणले गर्दा राज्यको जवाफदेहिता आवश्यक रहन्छ साथै फितलो नीति, नियम र कानुन कार्यन्वयनले गर्दा पनि वचतकर्ताको वचत जोखिममा परेको छ ।

नेपालमा सहकारीलाई ३ खम्बे अर्थतन्त्रको रुपबाट व्याख्या गरिन्छ, तर आज सहकारीकै नामबाट धेरै सर्वसाधारणहरूले निकै समस्या झेल्दै आइरहेका छन् नि ?
आर्थिक परिवेशमा अर्थतन्त्र चलायमान बनाउने तौरतरिकामा विशेषतः राज्यले अपनाउने वितरणमुखि अर्थनीति एवं निजी क्षेत्रले अपनाउने नाफामुखि अथीिनतिको विचमा रहि एक अर्काको परिपुरकको रुपमा समान उद्देश्य र लक्ष्य राखि आ–आफ्ना व्यक्तिगत एवं समुदायमा आधारीत अर्थिक क्रियाकलापहरुलाई चलायमान गराउने क्रममा तेस्रो खम्वाको रुपमा स्थापित सहकारी अभियान हो । तर विशिष्टकृत सहकारी संघ संस्थामा व्यापक राजनितिकरण र सीमित व्यक्तिको लाभका कारणले गर्दा आम सर्वसाधारण जनताहरुले विभिन्न समस्या झेल्दै आएका छन् । यदि सहकारीको इतिहासलाई हेर्ने हो भने यसले गरिव वर्गको अनि पिछडिएका समुदायलाई उकास्न ठूलो भुमिका खेलेको छ । यो पनि सत्य हो ।
नेपालको अर्थतन्त्रमा सहकारीको पनि ठूलो योगदान रहेको छ, तर आज दिन प्रतिदिन सहकारी प्रति सर्वसाधरणको विश्वास घट्नुको मुख्य कारण के हो ?
आफूले कारोबार गर्ने संस्थाबारे सचेत नहुनुका साथै सहकारी सम्बन्धी शिक्षा र चेतनाको कमी हुँदा पैसा सदुपयोग, हर हिसाबको कुरा सबै सदस्यहरूले जानकारी नलिनाले आज केहि सहकारीहरुका सञ्चालकहरुले पैसा उठाई गलत तरिकाले प्रयोग गर्ने प्रवृत्ति बढेको हुनाले सर्वसाधरणको वचत फिर्ता हुन सकेन । जसको कारणले गर्दा सर्वसाधारणको अलिक विश्वास घटेको हो । साथै सहकारी क्रियाकलापको सघनता उत्पादन तथा स्वरोजगारको क्षेत्रमा नभई बचत तथा ऋणको कारोबारमा शहरमूखी र बैंक तथा वित्तीय संस्थाहरुसँग प्रतिस्पधा गर्न खोज्दा निम्तिएको समस्या हो तर अब विषेशत शहरमुखि सहकारी संस्थाका सञ्चालकहरु, सदस्यहरु आफैँ सच्चिन जरुरी छ । अन्यथा सहकारीमा सहकारीता खोज्नुपर्ने अवस्था आउँछ ।
नेपालको सहकारीको इतिहास बखानपुरको एक सहकारी संस्थाबाट भएको हो भनेर भनिन्छ, तर आज त्यो खालको इतिहासलाई किन सहकारी सञ्चालकहरुले गलत बाटोबाट हिँडिरहेको हो जस्तो लाग्दछ यहाँलाई ?
नेपालको सहकारी इतिहासलाई हेर्दा यसको शुरुवात चितवनको बखानपुर सहकारीबाट सुरु भएको हो । हाल सहकारीलाई सरसर्ति हेर्दा सहकारी संस्थाहरुको संख्या आवश्यकता भन्दा बढी भैसक्यो, धेरै जना सञ्चालक सदस्य हुनुको साथै सदस्यहरुको दोहोरो सदस्यताले गर्दा पनि सहकारीमा वित्तिय सुशासनको कमि छ । जब–जब कुनै पनि काम कुराहरु धेरैको संख्यामा हुन्छ त्यति नै वेला स्पष्ट नीति नियम र कानुन परिपालनको प्रत्याभुति गराउनुपर्ने हुन्छ । जुन कुरा सहकारीको क्षेत्रमा अधिक न्युन रुपमा छ जसको फलस्वरुप केहि सञ्चालकहरुले राजनीतिक भरणपोषणको आडमा सहकारीलाई गलत रुपमा व्याख्या गर्ने गरेको पाईन्छ । तसर्थ समग्र सहकारी क्षेत्र र सहकारीकर्मीहरुलाई नै गलत छ र गलत वाटोमा हिँडेको छ भन्न पाईंदैन ।
यहाँ त एउटा सफल युवा उद्यमी तथा सहकारी सञ्चालक समेत हुनुहुन्छ, अबको सबल र समृद्धिसहितको अर्थतन्त्रको सुधारात्मक बाटो के हुन सक्दछ ?
नेपालको आर्थिक तरलतामा केहि सुधार आएको छ, यसलाई दिगो विकासका लक्ष्य सहित सहकारी मार्फत समुदाय समुदायमा समृद्धि सहितको कार्यक्रम र सचेतना ल्याउन सकियो भने दिर्घकालिन रुपमा अर्थतन्त्र वलियो बनाउन सकिन्छ । यसमा सरकारको पहल हुन बढि आवश्यक छ । आजको अवस्थालाई नियाल्ने हो भने देशमा बालबच्चा र बुढापाका मात्र रहेका छन् । देशको उर्जाशिल जनशक्ति विदेश पलायन भएको अवस्थामा देशको जनशक्ति देशकै उत्पादनशिल क्षेत्रमा उपयोग हुनु आवश्यक छ । साथै हाम्रो आफ्नो देशको अवश्यकता अनुरुप दक्ष जनशक्तिको उत्पादन गर्न सकियो भने भोलिका दिनमा एउटा समृद्वि सहितको अर्थतन्त्र र विकशित देश बनाउन अवश्य सकिएला ।
विश्वमा आएको मन्दीसँगै नेपाल पनि अछुतो रहन सकेन । सरकारले यो खालको आर्थिक जटिल तरलतालाई सहि बाटोमा ल्याउनका निम्ति अब के–कस्तो खालको नीति तथा योजनाहरु ल्याउनु पर्ला जस्तो लाग्दछ यहाँलाई ?
आर्थिक मन्दि विश्वमा नै छ तर हाम्रो जस्तो देशहरु चाहिँ विकशित मुलुकहरुको दवावमा यसको सिकार बन्दै छन् जसले गर्दा अबका दिनमा हाम्रो आफ्नै श्रोत र साधनवाट परनिर्भर नभएर हाम्रा लागि (देश र जनताका) आवश्यकताहरु प्राथमिकतामा राखि नयाँ नीति तथा योजना ल्याउन आवश्यक पर्दछ । साथै जे–जति नीतिनियम योजनाहरु पहिले बनेका छन् तिनिहरुलाई नै सहि रुपमा कार्यन्वयनमा ल्याउन सकियो भने मात्र पनि सधै यहि अवस्था झेलेर बस्नु पर्दैन ।
नेपालको अर्थतन्त्र आज निकै असहज बाटो हुँदै आइरहेको छ, यो खालको अर्थतन्त्रमा तरलतामा कमि आउनुको मुख्य दोषी को हो जस्तो लाग्दछ यहाँलाई ?
नेपालको अर्थतन्त्रमा सीमित व्यापारी तथा व्यवसायीको वर्चस्व हुनुका साथै देशको वित्तीय तथा मौद्रिक नीति हेर्दा जनमानसबाट कर मार्फत चुसेर केही सीमित कर्पोरेट हाउस, कर्मचारी र नेता पाल्नमा केन्द्रित छ । आधुनिकिकरणका नाममा राष्ट्रिय सम्पदा तहसनहस भएका एवं मासिएका छन् । राष्ट्रको उत्पादन र रोजगारी सिर्जनामा सरकारले काम नै गर्न सकेको छैन । अर्थतन्त्र रेमिट्यान्स र राजश्व असुलीको भरमा परेकोे छ । एकातिर बेरोजगारी र अर्काेतिर गतिशील युवा जनसंख्याको ठूलो हिस्सा देश बाहिर भएपछि उपभोग गर्ने मानिसहरुको जमातमा कमी हुनु र सरकारले गर्नुपर्ने भुक्तानी समयमा हुन नसक्नुका अलावा भ्रष्टाचार, तस्करी र कालोबजारीले पनि बजारमा असर गरेको छ । अस्थिर सरकार, यसका मतियारहरु र देश चलाउने व्यक्ति यसका मुख्य दोषि हुन् ।

यहाँहरुले सञ्चालन गरेको सुनवर्षी बहुउद्देश्यीय सहकारी कुन प्रयोजनले स्थापना गरिएको हो ? यहाँहरुले के कस्ता गतिविधिहरु सञ्चालन गर्दै आउनुभएको छ ?
अन्तर्राष्ट्रिय सहकारी महासघंले प्रतिपादन गरेका सहकारी सिद्धान्त अनुरुप यस संस्थाका सम्पुर्ण सदस्यहरुलाई प्रत्यक्ष रुपमा सक्रिय सहभागी गराई जीवनस्तरसँग सम्बन्धित हरेक क्रियाकलापहरुमा सहकारीकरण गरी सदस्यहरुको सुरक्षित वित्तीय स्वतन्त्रता र भविष्य सुनिश्चित बनाउनका लागि पुँजीको उचित परिचालनका साथै प्राविधिक ज्ञान, सीप, तालिम र प्रविधि हस्तान्तरणको माध्यमबाट सदस्यहरुको सामाजिक र आर्थिक विकासमा महत्वपूर्ण योगदान दिनुका साथै सहकारी शिक्षा मार्फत वित्तीय साक्षरता अभिवृद्घि गर्नु हाम्रो लक्ष्य हो । हाल हामीले पाँच प्रकारका सेवाहरु उपलब्ध गराउँदै आएका छाैं ।
१. तालिम केन्द्र मार्फत विभिन्न किसिमका तालिमहरु प्रदान
२. जिवन उपयोगि शिक्षा
३. स्वास्थ्य सेवा मार्फत विद्यालय तहमै स्वास्थ सेवा
४. उद्यमशिलता प्रर्वर्द्धन
५ वचत तथा ऋण सेवा
अन्त्यमा यहाँले के भन्न चाहनुहुन्छ ?
नेपालमा सहकारी क्षेत्रको दायरा बढाउन सकेको खण्डमा सहकारीले साधारण नेपालीको जनजीवनलाई माथि उठाउनको लागि निकै महत्वपूर्ण भूमिका खेल्न सक्छ । सहकारीलाई नीति, विधि र सिद्धान्त अनुरुप सञ्चालन गर्ने दायित्व सहकारीकर्मी, सदस्य र सबै सरकारी एवं सरोकारवाला निकायहरुको अवश्य पनि रहन्छ । मुलुकमा अवसरहरु सृजना गर्नमा र उद्यमशिलता जागरणमा सहकारी क्षेत्रको भूमिका अत्यन्तै महत्वपूर्ण रहन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij