२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आर्थिक उपार्जनको बलियो आधारः निर्यात र उत्पादन

आर्थिक उपार्जनको बलियो आधारः निर्यात र उत्पादन

अमृत खड्का, अध्यक्ष, उनी तथा फेल्ट उत्पादक तथा निर्यातक संघ

अहिले सम्म नेपाल मुख्यतः आयातमा नै निर्भर रहँदै आएको छ । नेपालबाट उत्पादन भइ बाहिर जाने सामानहरु तुलनात्मक रुपमा अत्यन्तै थोरै छन् । अहिले सम्म आइपुग्दा नेपालमा प्रयोग हुने खाद्यान्न एवं दैनिक उपभोग्य सामानहरु समेत बाह्य बजारबाट नै नेपालमा भित्रिइरहेका छन् ।

नेपाल कृषिप्रधान मुलुक हुँदाहुँदै पनि सबैजसो खाद्यान्नहरु बाह्य बजारबाट नै भित्रिने क्रम बढ्नु आफैंमा दुखद छ । नेपालमा मकै, चामल, पीठो, केराउ लगायतका कृषिजन्य सामानहरु बाहिरबाट नै आइरहेका छन् । माछा, मासु, फूल लगायतका सामानहरु पनि बाहिरबाट नै भित्रिइरहेका छन् । फलफूल तथा तरकारीको लागि समेत हामी बाह्य बजारमा नै निर्भर छौं ।

के नेपालमा यस्ता सामानहरु उत्पादन गर्न सकिने नै अवस्था नभएको कारण हामी यी सामानहरु आयात गर्न बाध्य भएका हौं त ? अवश्य होइन । नेपालमा उत्पादन हुने सामानको लागत महँगो पर्छ । विगतमा आत्मनिर्भर रहँदै आएका विभिन्न क्षेत्रहरु अहिले किन कमजोर बन्दै गएका छन् त ? नेपालमा उत्पादन तथा निर्यात सम्बन्धी विभिन्न समस्याहरु सृजना भएको कारण यस्तो हुन पुगेको हो ।

पछिल्ला बर्षहरुमा श्रमिक समस्या नेपालका उत्पादनमूलक उद्योगहरुको लागि एक ठूलो समस्या बन्न पुगेको छ । अहिलेको कोरोना सँगै नेपालमा विदेशिएका युवाहरु फर्किने क्रम शुरु भएकोले आगामी दिनमा यो समस्या केही कमी हुने आँकलन गर्न सकिन्छ ।

अबका दिनमा नेपालले राम्रो आर्थिक लाभ हासिल गर्न सक्ने नयाँ सम्भावना क्षेत्रहरुको पहिचान गर्नु जरुरी छ । बाहिर निर्यात गरेर राम्रो लाभ हासिल गर्न सकिने ती वस्तुहरु पहिचान गरी निर्यात गर्न सकेको खण्डमा अवश्य पनि राम्रो आर्थिक लाभ हासिल गर्न सकिन्छ ।

यदि नेपाल सरकार साँच्चै नै नेपालको निर्यात बढाउन तयार छ भने त्यसको लागि विशेष योजनावद्ध तवरले काममा होमिनु जरुरी रहन्छ । केही कामहरु नेपाल सरकारले शुरुवात गरेको छ । राम्रा कामहरुको प्रशंसा पनि गर्नुपर्छ । त्यसमध्ये एक हो निर्यातमा प्रोत्साहित गर्न इन्सेन्टिभ दिने कार्य । यसले बजारमा प्रतिष्पर्धी बन्न सहयोग पुर्याउँछ । यसको अलावा नेपाल सरकारले निर्यातको क्रममा भन्सार छुट एवं सहज नीतिगत व्यवस्था गर्नु पनि त्यति नै जरुरी छ ।

नेपाललाई अबका दिनमा आत्मनिर्भर बनाउनको लागि के–के काम गर्नु आवश्यक छ भन्ने सम्बन्धमा विस्तृत अध्ययन, व्यापक छलफल र दिगो योजना सहित अघी बढ्न सकेको खण्डमा नेपालले छोटो अवधिमा नै राम्रो प्रगति गर्न सक्छ । यसको लागि हाम्रा सम्भावना क्षेत्रहरु के–के हुन् ? ती क्षेत्रहरुको पहिचान गर्नु जरुरी रहन्छ । त्यस मध्ये कुन–कुन वस्तुमा हामी आत्मनिर्भर भइ आयात प्रतिस्थापन गर्न सक्छौँ ? कुन–कुन वस्तु आयातमा नै निर्भर रहनुपर्ने हुन्छ ? साथै कुन–कुन वस्तु निर्यात गरेर राम्रो लाभ हासिल गर्न सक्छौं भन्ने सम्बन्धमा विशेष योजना सहित हामी अघी बढ्नु जरुरी छ ।

नेपालले उच्च लागतकै कारण सबै वस्तु नेपालमा उत्पादन गर्न सम्भव हुँदैन भने नेपालमा उत्पादन गरी निर्यात गरेर र आयात प्रतिस्थापन गरेर हाम्रो व्यापार घाटा घटाउन र स्वदेशमै रोजगारी सृजना गर्न सकिन्छ । यसको लागि विदेशीहरुले अपनाउँदै आएका उत्पादन तथा निर्यात नीतिहरु के छन् ? तिनको अध्ययन गरी नेपाल अनुकुल हुने गरी लागु गर्नु जरुरी रहन्छ ।

विदेशीहरुले अपनाउँदै आएको सेज अवधारणा एउटा सफल अवधारणा हो । यसको अभ्यास नेपालमा पनि गर्ने प्रयाश गरिएको छ । तर पनि यो अहिले सम्म सफल बन्न सकेको छैन । नेपालका सिमरा, पाँचखाल र भैरहवा क्षेत्रबाट शुरु गर्ने भनिएको सेज अवधारणा हाल सम्म पनि किन सफल हुन सकेको छैन त ? त्यसको गहन अध्ययन गरी हामीले यसलाई छिट्टै समाधान गर्नु जरुरी छ । यसको लागि हामीले राम्रो कामलाई विशेष सहयोग पुर्याउनुपर्छ । यदि साँच्चै व्यावसायिक सफलताको योजना सहित नै नेपालमा सेजको अभ्यास गरिएको छ भने ती योजनाहरु सफल बनाउन सबै पक्ष विशेष समन्वयात्मक रुपमा विगतमा भोग्नुपरेका कमीकमजोरीलाई सच्याएर अघी बढ्नु जरुरी रहन्छ ।

निर्यातमा इन्सेन्टिभ: उत्कृष्ट प्रयाश
यदि नेपाल सरकार साँच्चै नै नेपालको निर्यात बढाउन तयार छ भने त्यसको लागि विशेष योजनावद्ध तवरले काममा होमिनु जरुरी रहन्छ । केही कामहरु नेपाल सरकारले शुरुवात गरेको छ । राम्रा कामहरुको प्रशंसा पनि गर्नुपर्छ । त्यसमध्ये एक हो निर्यातमा प्रोत्साहित गर्न इन्सेन्टिभ दिने कार्य । यसले बजारमा प्रतिष्पर्धी बन्न सहयोग पुर्याउँछ । यसको अलावा नेपाल सरकारले निर्यातको क्रममा भन्सार छुट एवं सहज नीतिगत व्यवस्था गर्नु पनि त्यति नै जरुरी छ ।

निर्यातमा राम्राे सम्भावना बोकेको फेल्ट उद्योगः
नेपालमा पछिल्ला दिनहरुमा राम्रो सम्भावना क्षेत्रको रुपमा फेल्ट उद्योग विकास हुँदै गएको छ । यस उद्योगले मुख्यतः महिला रोजगारी प्रवद्र्धनमा ठूलो सहयोग पु-याएको छ । यस्ता उद्योगहरुलाई प्रोत्साहन गर्नसके नेपाललाई आत्मनिर्भर र व्यापारघाटा घटाउन निकै ठूलो सहयोग पुग्न सक्छ । यस कार्यमा राज्यले उद्योगीहरुलाई कसरी थप सहयोग पुर्याउन सक्छ ? कुनै पनि मुलुकको विकास राज्यका योजनाहरुमा नै निर्भर रहन्छ । सोहीकारण निर्यात कार्यमा विशेष योजना सहित काम गर्न राज्य पक्ष तयार हुनु जरुरी रहन्छ । नेपाली उत्पादनहरुलाई प्रतिष्पर्धी विश्व बजारमा विक्रीवितरण गर्न सकिने किसिमले यथाशक्य कम लागतमा सामान उत्पादन गर्न सकिने वातावरण नेपाल सरकारले बनाइदिनुपर्छ । यसबाट मात्र हाम्रो व्यापार प्रवर्धनमा सहयोग पुग्न सक्छ ।

नेपालबाट निर्यात हुने वस्तुहरुः
अहिले नेपालबाट बाह्य बजारमा निर्यात हुँदै आएका वस्तुहरु अलैंची, अदुवा, अम्रिसो कुचो, छुर्पी, हस्तकलाजन्य सामाग्री, हाते कागज लगायत हुन् । यी सामानहरुको बाह्य बजारमा हुने निर्यातको आयतन बढाउन र नयाँ क्षेत्रको समेत खोजी गरी ती वस्तुहरुको प्रवर्द्धन गर्न नेपाल सरकारको विशेष ध्यान जानु जरुरी छ ।

अन्य वस्तुहरुको खोजी गरौंः
नेपालले अहिले सम्म निर्यातमा राम्रो सम्भावना रहेका अन्य वस्तुहरुको पहिचान गरी ती वस्तुको प्रवर्धनकाे लागि विशेष चासो दिन सकेको छैन । तर यस्ता वस्तुहरु के हुन सक्छन् भन्ने सम्बन्धमा हामी निजी क्षेत्रले भने अध्ययन गर्दै आइरहेका छौं । खासगरी नन टिम्बर अन्तरगत पर्ने फरेस्ट प्रडक्टको थप प्रशोधन गरी निर्यात गर्नसके नेपालले राम्रो लाभ लिन सक्ने हामीले देखेका छौँ । त्यस अन्तरगत चिउरीको घिऊ, लप्सी, रिठ्ठा, लालिगुराँसको फूलबाट उत्पादन हुने वस्तुहरुको विशेष महत्व रहेको हामीले अध्ययन गरेका छौँ । यी मध्ये कतिपय वस्तुहरु लोप हुन सक्ने अवस्थामा पनि छन् । हामीले यी वस्तुहरु निर्यातको योजना बनाउँदा एकातिर यी वस्तुहरु संरक्षणमा सहयोग पुग्छ भने अर्कोतिर यी वस्तुहरुको प्रशोधन र निर्यातबाट राम्रो आर्थिक लाभ र नेपालको पहिचान विश्व बजारमा स्थापित गराउन सहयोग पुग्छ । सोहीकारण आगामी दिनमा यी र यस्ता क्षेत्रको थप अध्ययन सहित लगानी विस्तार गर्ने योजनामा म आफू पनि छु ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij