काठमाडौं, १३ चैतः नेपालले चालु आर्थिक वर्षका पहिलो आठ महिनामा करिब ५६ अर्ब रुपैयाँ बराबरको खानेतेल निर्यात गरेको छ। आयातित कच्चा पदार्थलाई प्रशोधन गरी मूल्य अभिवृद्धि गरेर निर्यात गर्दा खानेतेलको व्यापार उल्लेखनीय रूपमा बढेको देखिएको छ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालले कुल १ खर्ब ५८ अर्ब रुपैयाँको वस्तु निर्यात गरेको छ। सोही अवधिमा ११ खर्ब ४५ अर्ब ५६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। तुलनात्मक रूपमा, यो निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५७.२० प्रतिशतले वृद्धि भएको हो भने आयातमा ११.२० प्रतिशतको वृद्धि देखिएको छ।
नेपालबाट सबैभन्दा धेरै निर्यात भएको वस्तुमा भटमास (सोयाबिन) तेल अग्रस्थानमा रहेको छ। पछिल्लो आठ महिनामा मात्र ४७ अर्ब ९४ करोड ६६ लाख रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात गरिएको छ। यस्तै, सूर्यमुखी तेलको निर्यात ७ अर्ब ९८ करोड २३ लाख रुपैयाँ पुगेको छ। अन्य प्रमुख निर्यात सामग्रीमा ५ अर्ब ८३ करोड ७३ लाखको अलैंची र ४ अर्ब ३२ करोड ३९ लाखको कार्पेट रहेका छन्।
हालसम्मको तथ्याङ्कअनुसार, नेपालले कुल १३ खर्ब ३ अर्ब ७३ करोड ८६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गर्दा ९ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ।
भारतसँग व्यापार घाटा उच्च
नेपालको व्यापार घाटामा सबैभन्दा बढी असर भारतसँगको व्यापारले पारेको छ। पछिल्ला आठ महिनामा मात्र भारतसँग ५ खर्ब ६३ अर्ब ६७ करोड रुपैयाँको व्यापार घाटा रहेको छ। भारतबाट ६ खर्ब ८८ अर्ब ६८ करोड रुपैयाँ बराबरको सामान आयात हुँदा नेपालले केवल १ खर्ब २५ अर्ब रुपैयाँको निर्यात गर्न सकेको छ। चीनसँगको व्यापारमा पनि नेपालले २१ अर्ब ७० करोड रुपैयाँ घाटा व्यहोरेको छ, जहाँ चीनबाट २ खर्ब १९ अर्ब १८ करोड रुपैयाँ बराबरको आयात हुँदा निर्यात मात्र २ अर्ब १२ करोड रुपैयाँ भएको छ।
नेपालले अफगानिस्तान, डेनमार्क, रसिया, अस्ट्रिया, माल्दिभ्सलगायत ३४ देशहरूसँग व्यापार नाफा गरेको छ। तर अर्जेन्टिना, युक्रेन, यूएई, अष्ट्रेलियालगायतका मुलुकहरूसँग व्यापार घाटा उच्च रहेको छ।
पेट्रोलियम पदार्थको आयात उच्च
नेपालको आयातमा पेट्रोलियम पदार्थको हिस्सा अझै उच्च छ। पछिल्ला आठ महिनामा मात्र नेपालले ७८ अर्ब ८६ करोड ३७ लाख रुपैयाँ बराबरको डिजेल, ४२ अर्ब ८० करोड १७ लाख रुपैयाँ बराबरको पेट्रोल र ४१ अर्ब रुपैयाँ बराबरको एलपी ग्यास आयात गरेको छ।
त्यस्तै, विद्युतीय सवारीसाधनको आयात ९ अर्ब ६९ करोड २२ लाख रुपैयाँ रहेको छ भने अन्य सवारीसाधन २ अर्ब ११ करोड रुपैयाँ बराबरमा आयात गरिएको छ। स्मार्टफोन आयातको तथ्याङ्क हेर्दा पछिल्ला आठ महिनामा मात्र १४ लाख ७ हजार ७८ वटा स्मार्टफोन आयात भएको देखिन्छ, जसको मूल्य २१ अर्ब ९१ करोड ८३ लाख रुपैयाँ बराबर रहेको छ।
नेपालको कुल निर्यात वृद्धिले सकारात्मक संकेत देखाए पनि व्यापार घाटा भने अझै चिन्ताजनक स्तरमा रहेको अर्थविद्हरू बताउँछन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij