काठमाडौं । नेपाल एयरलाइन्सले पहिलो पटक जापानका लागि सिधा उडान शुरू गरेकाे छ । निगमका उपमहाप्रबन्धक गणेशबहादुर चन्दले राति २ः३० बजे करिब ९० यात्रु बाेकेर उड्ने उडान नै जापानकाे लागि पहिलाे उडान हुने बताउनुभयाे । त्रिभुवन विमानस्थलबाट करीव साढे ६ घण्टाको अवधिमा उक्त जहाज ओशाकास्थित कान्साई विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । टोलीका नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले गर्ने भएका छन् । पहिलो उडानमा मन्त्रालयका सहसचिव, निगम सञ्चालक समितिका सदस्यहरु र व्यापारिक साझेदारहरुलाई पाहुनाका रुपमा सहभागी गराइनेछ ।

नेपाल एयरलाइन्सले वाइडबडी जहाज ए ३३०–२०० जहाजले यो रुटमा उडान गर्नेछ । वाइडबडीको यो पहिलो लामो दूरीको उडान हुनेछ, जसमा एकतर्फी उडान समय नै साढे ६ घण्टाको हुने नेपाल एयरलाइन्सले जनाएको छ । नेपाल एयरलाइन्सकै लागि भने ओशाका पुरानै गन्तब्य हो । तर यसअघि सिधा उडान भएको थिएन । जापानको ओशाकामा नेपाल एयरलाइन्सले १२ अप्रिल २००७ सम्म जहाज उडाएको थियो । शुरुमा नेपाल एयरलाइन्सले ‘काठमाडौं–सांघाई–ओशाका’ रुट उडान थाल्दा सांघाईमा ट्रान्जिट गरी जापान जाने यात्रु दुई जना मात्र रहेको निगममा कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए ।
तर अब काठमाडौंबाट सिधा ओशाका उडान हुनेछ र नेपाल एयरलाइन्सले सातामा मंगलबार, बिहीबार र शनिबार गरी तीन उडान भर्नेछ । निगमका अनुसार सातामा तीन उडान गर्न कुल २५ जना पाइलट खटिनेछन्, त्यसमध्ये १५ पाइलट विदेशी हुन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij