२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

अठारौं दिनः प्रत्येक काम पूरा गर्नको लागि कृतज्ञता अभ्यास

अठारौं दिनः प्रत्येक काम पूरा गर्नको लागि कृतज्ञता अभ्यास

कृतज्ञता अभ्यासले हामीलाई हरेक कठिन अवस्थामा सम्हालिन र नयाँ विकल्प खोजी गर्नको लागि ठूलो सहयोग पु¥याउँछ । हरेक कठिनाईले केवल समस्या मात्र लिएर आएको हुँदैन । त्यसले आफूजत्रो र त्यो भन्दा पनि ठूलो सम्भावना समेत सँगसँगै बोकेर आएको हुन्छ । हामीले सामना गरेको त्यस समस्यालाई हामी आफूले कसरी लिन्छौं र त्यसप्रति व्यवहार (प्रतिक्रिया) गर्छौं भन्ने कुरा यसमा जिम्मेवार रहन्छ ।

आज हामी आफूले गर्नुपर्ने कामहरु बारे कृतज्ञता अभ्यास गर्नेछौं । हामी अधिक समय आफूले दैनिक रुपमा सम्पन्न गर्नुपर्ने कामको सूची देखेर ती कामहरुलाई कसरी सम्पन्न गर्ने भनेर अलमलमा पर्छौं । यसरी अलमलमा पर्दा हामीले सही उपाय निकाल्न सकिरहेका हुँदैनौं । के त्यस्तो बेलामा हामी शान्त, खुसी र आनन्दको स्थितिमा रहन सक्छौं त ? अवश्य सक्दैनौं । बरु हामी आत्तिएको र हतारमा काम गर्नुपर्ने स्थितिमा हामीबाट विगतमा राम्रो तवरले सम्पन्न हुँदै आएका कामहरु पनि बिग्रने सम्भावना अत्यधिक बढी हुन्छ । यस्तो अवस्थामा के गर्ने त ?

एकपटक विचार गरौं त, के हामीले प्रत्येक १ दिनको लागि सम्पन्न गर्ने भनेर सोचेका हरेक काम पूरा गर्दै आएका छौं त ? छौं भने अति राम्रो । हामीले सोचेका सबै काम यसकारण सदैव पूरा भइरहेका होलान्, कि त हामीले चाहेका हरेक काम दैनिक जीवनका अनिवार्य आवश्यकताका अंशहरु मात्रै हुन्, हाम्रो बानी बनिसकेका हुनाले ती चुनौतीपूर्ण लाग्दैनन् । यदि हामी आफूलाई चुनौतीपूर्ण काममा पनि त्यसरी नै सफल बनाउँदै आएका छौं भने हामी आफ्ना कामहरु प्रति अत्यन्तै जिम्मेवार भई अनुशासित तवरले काम गर्दै आएका छौं भन्ने बुझेर आफैं प्रति कृतज्ञ हुनुपर्छ ।

एउटा प्रयोग

हामीले आजको दिनभरमा सम्पन्न गर्नुपर्ने कामहरुको सूची डायरीमा तयार पारौं ।

त्यस सूचीमा आफूले सम्पन्न गर्नुपर्ने कामहरु मध्ये अति महत्वपूर्ण कामहरुलाई पहिलो, दोस्रो, तेस्रो लगायतको क्रममा मिलाउँ ।

सबैभन्दा पहिले ती हरेक कामहरु मध्ये एउटा काम लिउँ । आँखा बन्द गरेर भिजुअलाइज गरौं कि त्यो काम हामीबाट सम्पन्न भइसकेको छ । काम सम्पन्न भएकोमा त्यस काम प्रति अत्यन्न खुसी भाव सहित कृतज्ञता व्यक्त गरौं ।

भिजुअलाइज यसरी गरौं कि त्यो काम सम्पन्न भएको कारण हामी आफूमा भित्रै देखि खुसी अनुभव गरिरहेका छौं ।

भिजुअलाइज गर्ने क्रममा आफूले काम गर्नुपर्ने कामका हरेक प्रक्रियाहरु एक–एक गरेर सम्पन्न भएको अनुभव गरौं ।

एउटा काम राम्रोसँग सम्पन्न भएकोमा आफैंलाई बधाईं दिउँ ।

अब दोस्रो काम, तेस्रो काम गरी सबै काम आफूबाट आश्चर्यजनक ढंगले सम्पन्न भएको अनुभुति गरौं ।

प्रत्येक काम भिजुअलाइज गर्नको लागि कम्तीमा १ मिनट पूर्ण रुपमा त्यही विषयमा मात्रै केन्द्रित भएर आफूबाट काम सञ्चालन गर्ने क्रममा आउने आवाज, दृष्य, गन्ध, स्वाद, स्पर्श र भावनालाई भित्रैबाट महसुस गर्ने प्रयत्न गरौं ।

आफूबाट एक–एक गरेर आफूले तयार गरेका हरेक योजना पूरा भएकोमा आफूमा अत्यन्तै बढी खुसी र आनन्द भाव विकास गरौं । जति बढी आनन्द र कृतज्ञता भाव हामीले आफूमा विकास गर्न सक्यौं, हामीले आफूले चाहेको उपलब्धि हासिल गर्न सक्ने सम्भावना पनि त्यति नै बढी हुन्छ । यसरी आफूबाट आश्चर्यजनक तवरले काम सम्पन्न भएको जब पूर्ण अनुभुति गर्न सक्छौं, तब हामी क्रमिक रुपमा पहिले एउटा काममा वास्तविक रुपमा संलग्न होऔं । वास्तविक रुपमा आनन्दपूर्वक काम सम्पन्न भइसेपछि पनि सहज ढङ्गले उपलब्धि हासिल हुन सकेकोमा आफूलाई कुनै न कुनै पुरष्कार दिउँ । पुरष्कार सानो–ठूलोले केही फरक पार्दैन । बरु यसले हामीलाई अर्को काम गर्न र भविष्यमा पनि यसरी नै सबै काम गर्नको लागि प्रेरित बनाउँछ ।

निर्धारित काम सम्पन्न गर्न लापरवाही गरे दण्ड पाउँछौं

दैनिक रुपमा यदि हामी प्रशस्तै कामको योजना बनाउँछौं र ती मध्ये अधिकांश काम आफ्नै लापरबाहीको कारण हामीले सम्पन्न गर्न तयार हुँदैनौं भने हामीबाट आगामी दिनमा पनि कामहरु सम्पन्न हुने क्रम घट्दै जान्छ । किनकि हामी आफ्नै योजना र सङ्कल्पबाट टाढा भयौं । जुन आफ्नै लापरवाहीको कारण प्राप्त दण्ड सजाय हो ।

यस्तो अभ्यास किन जरुरी छ ?

पहिलो त हामीले भिजुअलाइज गर्दा हाम्रो ध्यान समस्यामा नभई सम्भावनामा केन्द्रित भएको हुन्छ । साथै हामीले भिजुअलाइज गर्दा हामी त्यस फ्रिक्वेन्सीमा एकाकार भई ब्रह्माण्डमा सङ्केत पठाइरहेका हुन्छौं । हरेक कामको समीकरण हुन्छ । समीकरण पूरा गर्ने तरिका हाम्रो चेतन मष्तिष्कलाई थाहा नभएपनि अवचेतन मष्तिष्कमा सङ्केत पुगेपछि त्यसले उक्त कामलाई आफ्नो नियमित गतिविधिको अंश मानेर भित्रभित्रै काम गर्न शुरु गरेको हुन्छ ।

काम गर्ने तरिका थाहा नभएको बेला के गर्ने ?

यदि हामीले कुनै काम सम्पन्न गर्नुपर्नेछ तर हामी त्यस कामलाई सम्पन्न गर्ने विधिबारे अज्ञात छौं । अर्थात हाम्रो अहिलेको अवस्थाको तुलनामा हामीले अघी बढाउन चाहेको काम निकै ठूलो छ । मानौं, त्यस्तो अवस्थामा हाम्रो योजना र रणनीतिले काम गर्दैन । यस्ता अवस्था पनि हामीले धेरै पटक सामना गर्नुपर्ने हुन्छ ।

यदि यस्तो अवस्था आयो भने हामीले त त्यही काम गर्ने हो । जुन हाम्रो नियन्त्रणमा छ । आफ्नो नियन्त्रणमा रहेको कामलाई पूर्ण समर्पण र विश्वास सहित अनुशासित तवरले गर्ने र आफ्नो नियन्त्रणमा नरहेको कामलाई ब्रह्माण्डले छिट्टै कुनै न कुनै रुपमा आफ्नो माध्यमबाट सम्पन्न गराउनेछ भन्ने विश्वास राख्यौं भने आकर्षणको नियम अनुसार अवश्य पनि बाँकी काम समेत सहज रुपमा सम्पन्न हुन सक्ने सम्भावना प्रवल रहन्छ ।

यस्तो अवस्थामा हामी केवल परिणाममा केन्द्रित होऔं । परिणाम अर्थात काम सम्पन्न भइसकेपछि हामीले आफूमा कस्तो महसुस गरेका हुन्छौं ? हाम्रो स्थिति के हुन्छ ? त्यो कुराको अहिले नै अनुभुति गरौं । आफू भित्र त्यो काम आफूबाट सम्पन्न भएको बारे जब सम्म गहिराईबाट भावनामा हामी डुब्न सक्दैनौं, तब सम्म यस अभ्यासलाई निरन्तरता दिउँ ।

हामीले जुन काम पूरा गर्न खोजेका छौं । त्यसको एउटा समीकरण छ । त्यो समीकरणमा हामीले जे–जे कुरा मिलाउन सक्छौं, ती हामीले मिलाउने हो । बाँकी कुरा मिलाउनको लागि ब्रह्माण्डीय शक्तिलाई छोडिदिने हो । काम कसरी सम्भव होला भनेर हामी आफूलाई धेरै चिन्तामा पु¥याउनु हुँदैन ।

ब्रह्माण्डले कसरी समाधान दिन्छ ?

यसरी गहिरो भाव सहित भिजुअलाईज गरेपछि हुन सक्छ कि हामीलाई कुनै आइडिया प्राप्त होला । त्यसो भयो भने हामी त्यस आइडियामा काम गर्न तयार बन्नुपर्छ ।

ब्रह्माण्डले हामीलाई कुनै साथी वा सम्बन्धित क्षेत्रको विज्ञसँग जोड्न सक्छ ।

सपना वा अन्तरवोधको रुपमा त्यस कामलाई सम्पन्न गर्ने तरिका हामीलाई प्राप्त हुन पनि सक्छ ।

अन्य कुनै पनि तरिका हामीलाई प्राप्त हुन सक्छ । ब्रह्माण्डले हाम्रो माध्यमबाट काम पूरा गराउनको लागि जुनसुकै किसिमले व्यक्ति, घटना र परिस्थिति हाम्रो अगाडि ल्याइदिन सक्छ ।

मात्र हामीलाई प्राप्त भएको त्यस तरिकामा पूर्ण विश्वास सहित समर्पित भई संलग्न हुनुपर्छ ।

 

यो पनि स्मरण गरौं

हामीले जुन काम गर्दै आएका छौं, ती मध्ये अधिकांश काम शुरु गर्दा हामीलाई शुरुमा निकै गाह्रो अनुभव हुने गर्छ । तथापि काम अघी बढाइसकेपछि हामीलाई गाह्रो नलाग्न सक्छ । किनकि काम शुरु गर्ने बेला हामी सचेत तवरले अभ्यास गरिरहेका हुन्छौं । काम गर्ने क्रममा हामीलाई अवचेतन मनले हाम्रा विगतका अनुभवसँग अचेतन रुपमा एकाकार गराउँछ । यसकारण हामीले आफ्नो माध्यमबाट त्यो काम कसरी सम्पन्न भयो भन्ने अनुभव नै नगर्दै काम सम्पन्न भइसकेको अवस्था पनि हामीले पक्कै अनुभव गरेका हुनुपर्छ ।

आजको अभ्यास

१. आज यस अघि कृतज्ञता प्रकटको लागि डायरीमा टिपोट गरेका सबै सकारात्मक बुँदाहरु एकपटक पढौं ।
२. त्यो सूचीमा कृतज्ञता प्रकट गर्नको लागि थप १० ओटा सकारात्मक बुँदाहरु थपौं । ती सबैलाई कम्तीमा एक पटक पढौं र हामी कृतज्ञ रहनुका कारणहरु सहित धन्यवाद व्यक्त गरौं ।
३. केही दिन पहिले देखि हामीले दैनिक रुपमा प्रयोग गर्दै आएका हरेक वस्तुहरु प्रति सचेत रुपमा कृतज्ञता प्रकट गर्न शुरुवात गरेका छौं । यसलाई निरन्तरता दिउँ ।
४. आजको दिनभरमा गर्नुपर्ने कामहरुको सूची तयार गरौं । ती कामहरुलाई प्राथमिकीकरण गरौं ।
५. ती कामहरु मध्ये सबैभन्दा महत्वपूर्णलाई पहिले लिउँ । काम सम्पन्न भइसकेको मानेर भित्रभित्रै आफैंलाई बधाईं दिउँ । काम पूरा हुँदा आफूलाई महसुस हुने स्थिति अनुभव गरौं ।
६. हरेक कामहरुमा यसरी नै हरेक कामहरुमा भिजुअलाइजेसन गरौं । प्रत्येक कामको भिजुअलाइज गर्न कम्तीमा १ मिनट समय दिउँ ।
७. राती ओछ्यानमा सुत्नु भन्दा पहिले दोस्रो दिनको चमत्कारी पत्थर हातमा लिएर आजको दिन सुखद बनेकोमा खुसी व्यक्त गरौं । आजका दिनभरका हरेक सुखद यादहरु (कम्तीमा १० ओटा)लाई सम्झेर खुसी र कृतज्ञ भाव सहित विश्राम लिउँ ।

हामीहरु सबैको आजको दिन शुभ रहोस् । साथै हरेक दिनहरु यसरी नै सुखद बन्दै जाउन् । हार्दिक कृतज्ञता सहित । धन्यवाद धन्यवाद ।। धन्यवाद ।।।

  • कमल पन्थी

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij