
यस बर्ष मुलुकको अर्थतन्त्र कमजोर अवस्थामा छ । त्यसको प्रत्यक्ष असर हाम्रो अटोमोबाइल व्यवसायमा पनि पर्न जानु स्वभाविक भयो । तुलनात्मक रुपमा अघिल्लो बर्ष भन्दा यस बर्ष करिब ६० प्रतिशतले हाम्रो कारोबारमा कमी आएको छ ।
हामीले यस पटक केही जोखिम उठाएर नाडा अटो शो आयोजना गरेका थियौं । यसपटक शो आयोजना गर्दा उद्योगी व्यवसायीहरुको करिब १ करोड खर्च भएको छ । नाडा अटो शो आयोजना गर्दैमा व्यवसायले गति लिन्छ भन्ने सुनिश्चितता र विश्वास थिएन । अहिले पनि हामीले आशा मारिसकेका छैनौं । राष्ट्र बैंक र अर्थ मन्त्रालयले अर्थतन्त्रलाई सही दिशा दिन प्रभावकारी भूमिका खेल्नेछन् भन्नेमा हामी आशावादी छौं । अर्थतन्त्रको क्षेत्रमा सबैभन्दा बढी अर्थ राख्ने निकायहरु अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक नै हुन् । यी निकायले खेल्नुपर्ने भूमिका निकै महत्वपूर्ण हुने गर्छ ।
निर्माण व्यवसायीलाई शिघ्र भुक्तानी गरियोस्
निर्माण व्यवसायीहरुले सरकारबाट हुनुपर्ने भुक्तानी समयमा हुन सकेन भन्दै आएका छन् । सरकारले गर्नुपर्ने भुक्तानी समयमा हुन नसक्दा अर्थतन्त्र अझ कमजोर र अवरुद्ध बन्दै जान्छ । अर्थात् अर्थतन्त्र चलायमान हुन सक्दैन । यसकारण अर्थ मन्त्रालयले जति सक्दो छिटो निर्माण व्यवसायीलाई गर्नुपर्ने भुक्तानी गर्नुपर्छ । कर्मचारी वर्गको तलबमान बरु केही महिना भुक्तानी नगर्दैमा केही फरक पर्दैन । अर्थतन्त्र एक किसिमको चक्रबाट चलिरहेको हुन्छ । पैसा लामो समय कुनै व्यक्ति सम्म पनि रहन सक्दैन । करिब ३ महिना अवधिमा पैसा १ चक्र पूरा गरेर पुनः सरकारको खातामा पुग्ने गरेको पाइन्छ । सरकारले निर्माण व्यवसायीलाई भुक्तान गरेमा यसबाट रोडा, ढुङ्गा, क्रसर, सिमेन्ट, छड लगायतका व्यवसायमा जोडिएका व्यक्ति र फर्महरुले काम पाउँछन्, पैसा पाउँछन् । यसले अर्थतन्त्र चलायमान बनाउन मद्धत गर्छ ।
विषम परिस्थितिमा चालु पुँजी मार्गदर्शन जारी
अहिले नेपाल राष्ट्र बैंकले विषम परिस्थितिमा चालुँ पुँजी मार्गदर्शन जारी गरेको छ । जुन निर्देशिकाले व्यवसायीलाई बाँकी रहेको किस्ता तिरिहाल्न आग्रह गरेको छ । अहिले कर्जाको किस्ता नतिरे कारबाही गर्ने कुरा उल्लेख छ । अहिले जसरी किस्ता असुली नहुने समस्या देखिएको छ, यसो हुनुमा विगतमा नेपालमा माग हुने कर्जा सही ठाउँमा खर्च भएनभएको बारे राष्ट्र बैंकको अनुगमन कमजोर हुनु एउटा ठूलो कारण हो । त्यति बेला राष्ट्र बैंकले आँखा चिम्लियो, नबुझेको होइन । अहिले व्यवसायीहरु साँच्चै अप्ठ्यारोमा छन् । यस्तो अवस्थामा सहजीकरण गरेर उचित निकास दिनुपर्नेमा व्यवसायीहरुलाई थप पेल्ने प्रयत्न गर्न खोजे जस्तो देखिँदैछ । विगतमा व्यवसायीहरुले एउटा काम देखाएर अर्कै काममा पैसा लगानी गर्ने, २ ओटा ब्यालेन्स सिट निर्माण गरर कर्जा लिने गर्दा बैंक र राष्ट्र बैंकले अहिलेको अवस्था सृजना हुन सक्ने बारे सोच्नुपर्दैनथ्यो । साथै अझै पनि थप सहजीकरण नगर्ने हो भने केही समयमा नै बाणिज्य बैंकहरुको एनपिएल निर्धारित सिमा भन्दा माथि जान सक्छ । जसले बैंक धराशयी हुन सक्ने जोखिमको दरलाई थप बढाउँछ । सबै दोष जनता र व्यवसायीलाई मात्रै थोपरेर आफू चोखिने काम कसैले गर्नुहुँदैन । आफूबाट भएको कमजोरी स्वीकार्नुपर्छ ।
साथै चालु पुँजी मार्गदर्शन लागु नै गरिने हो भने उक्त मार्गदर्शन लागु हुनु भन्दा पहिले कर्जा लिएका व्यवसायीहरुलाई उक्त व्यवस्था लागु नहुने, उक्त मार्गदर्शन आइसकेपछि कर्जा लिने व्यवसायीहरुलाई मात्र लागु हुने गर्नुपर्छ । यही मात्र अहिलेको लागि भरपर्दो समाधान हुन सक्छ । यदि देश नै असफल बन्यो भने पछि कसैले पनि सम्हाल्न सक्दैनन् । अर्थतन्त्रलाई सम्हाल्न अहिले नै पहल गरिएन भने यसबाट ठूलो असन्तुष्टि उत्पन्न हुन सक्ने र मानिसहरु जिविकोपार्जनका आवाज लिएर स्वतःस्फूर्त रुपमा सडकमा आउन सक्ने स्थिति टाढा देखिँदैन ।
विभिन्न क्षेत्रमा लगानी विविधिकरण गर्ने प्रचलन लगानीकर्ताको लागि बढी व्यवहारिक देखिन्छ । पोर्टफोलियो विविधिकरण सिद्धान्त सबै क्षेत्रमा एकै पटकमा मन्दी आउँदैन भन्ने अवधारणामा आधारित छ । नेपालमा विगतमा हामीले शेयरबजार र घरजग्गा बाहेक अन्य क्षेत्रमा यसरी मन्दी आएको अनुभव गरेका थिएनौं । अहिले सबै किसिमका उद्योग व्यापारमा मन्दी आएको छ ।
कस्तो व्यवसाय हो अटोमोबाइल ?
अटोमोबाइल अर्थात गाडी कारोबार मानिसको लागि ठूलो महत्व राख्ने व्यवसाय हो । अवस्था सहज भएको बेला कारोबार बढ्ने र अवस्था कमजोर भएको बेला कारोबार पनि घट्ने गर्छ । मानिसका रुचि र आवश्यकताहरु उमङ्ग, उत्साह र समृद्धिको अवस्थामा बढी हुन्छन् । कमजोर अवस्थामा जसोतसो टिक्ने भन्ने मात्र हुन्छ । अहिले साधारण खर्चको तुलनामा अधिकांश मानिसको अतिरिक्त खर्च घटेको छ । यस क्षेत्रलाई विलासिताको क्षेत्र पनि मानिन्छ । अहिले २ पाङ्ग्रे साधन कामकाजी व्यक्तिलाई अनिवार्य आवश्यकताको माध्यम बनेको छ । ४ पाङ्ग्रे साधनको लागि जिन्दगीभरीको कमाई उपयोगमा ल्याउनुपर्छ । दैनिक स्थिति नै कसरी चलाउने भन्ने स्थितिमा थप खर्चिलो क्षेत्रमा लगानी गर्न कोही तयार हुँदैनन् । यसबाट मन्दी थप उत्कर्षमा पुग्न जान्छ ।
लगानी विविधिकरण
अर्थतन्त्र सदैव एउटै स्थितिमा रहँदैन । यसकारण विभिन्न क्षेत्रमा लगानी विविधिकरण गर्ने प्रचलन लगानीकर्ताको लागि बढी व्यवहारिक देखिन्छ । पोर्टफोलियो विविधिकरण सिद्धान्त सबै क्षेत्रमा एकै पटकमा मन्दी आउँदैन भन्ने अवधारणामा आधारित छ । नेपालमा विगतमा हामीले शेयरबजार र घरजग्गा बाहेक अन्य क्षेत्रमा यसरी मन्दी आएको अनुभव गरेका थिएनौं । अहिले सबै किसिमका उद्योग व्यापारमा मन्दी आएको छ । साथै मन्दीको अवधि विगतमा बढीमा १ बर्ष मात्र रहने गर्दथ्यो । अहिले अवधि लम्बिएको छ । यसकारण हामी थप पीडामा छौं । नेपालमा मन्दी आउँदा एकैपटकमा सबै क्षेत्र प्रभावित भइहाल्ने भएको कारण लगानी विविधिकरण अवधारणा समेत यस्तो कठिन स्थितिबाट बाहिर आउन प्रभावकारी तरिका हो भन्ने सकिने स्थिति रहेन ।
उद्योगको वातावरण छैन
नेपालमा उद्योग सञ्चालन गर्न बढी जोखिम छ । राजनीतिक दलका कार्यकर्ताहरुले दिने अनावश्यक दुख, झण्झटिला प्रावधान, प्रक्रियागत कठिनाई, मुनाफा सुनिश्चितता गर्न गाह्रो स्थिति, महँगो जग्गा लागत, जग्गा भाडा सहमति सम्बन्धमा राम्रो नीतिको अभाव, चेक बाउन्समा उचित समाधानको व्यवस्था नहुनु लगायतका समस्याहरु उद्योग स्थापनाका कठिनाईहरु हुन् । जसले गर्दा नेपालका व्यवसायीहरु चाहेर पनि उद्योग स्थापना नगरी टेड्रिङमा मात्र संलग्न हुनुपर्ने स्थिति छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij