काठमाडौं, चैत १३: अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ्गले चलचित्र ‘अञ्जिला’ मा प्रस्तुत गरिएको संघर्ष प्रत्येक खेलाडीको जीवनसँग मेल खाने बताएका छन्। ललितपुरस्थित लाविम मलमा आयोजित विशेष प्रदर्शनमा सहभागी भएपछि अध्यक्ष नेम्वाङ्गले उक्त चलचित्रले खेल जीवनमा लाग्न चाहने युवा खेलाडीहरूलाई ठूलो प्रेरणा दिने बताए।
उनले भने, “चलचित्रमा देखाइएका घटनाक्रम हाम्रो हरेक खेलाडीको प्रतिनिधित्व गर्छन्। कप्तान अञ्जिला तुम्बापो सुब्बाको जस्तै संघर्षबाट धेरै खेलाडी अगाडि बढेका छन्। हामीले आफ्ना बालबालिकासँगै चलचित्र हेर्न ल्याएका छौँ, किनकि यसले उनीहरूलाई लक्ष्य प्राप्त गर्न कडा मेहनत गर्न उत्प्रेरित गर्छ। यो चलचित्र सबै खेलाडीहरूले हेर्नै पर्ने खालको बनेको छ।”
खेलाडीहरूको विषयमा चलचित्र निर्माण हुनु सकारात्मक कदम भएको बताउँदै अध्यक्ष नेम्वाङ्गले निर्माता प्रेमकुमार श्रेष्ठ र निर्देशक मिलन चाम्सलाई विशेष धन्यवाद दिए। कप्तान सुब्बाका धर्मपिता समेत रहेका निर्माता श्रेष्ठले ‘अञ्जिला’ को सफलताले अन्य निर्माताहरूलाई खेलकुद क्षेत्रका चलचित्र बनाउन प्रोत्साहित गर्ने बताए।
श्रेष्ठका अनुसार, “नेपालमा खेलकुदसम्बन्धी चलचित्रले व्यावसायिक सफलता हासिल गर्न नसक्दा निर्माताहरू यो विधामा लगानी गर्न हिच्किचाएका थिए। तर, ‘अञ्जिला’ को सफलताले उनीहरूलाई हौसला दिएको छ। मैले कप्तान सुब्बालाई लिएर देखेको सपना अब चाँडै साकार हुने छ।”
चलचित्रका निर्देशक मिलन चाम्सले पनि खेलाडीहरूको संघर्ष र खेल क्षेत्रलाई उजागर गर्ने चलचित्रहरूको आवश्यकता रहेको बताए। उनले भने, “अब आउने दिनमा खेलाडी वा खेलसँग सम्बन्धित चलचित्रहरू निर्माण हुनेछन्। केही परियोजनाहरूबारे छलफल भइरहेको मैले सुनेको छु, जुन खेल प्रेमीहरूका लागि खुसीको कुरा हो।”
विशेष प्रदर्शनी कार्यक्रममा एन्फाका महासचिव किरण राई, पूर्व कप्तान हरि खड्का र विराज महर्जन, खेलाडी संघका अध्यक्ष विक्रम लामा, महिला फुटबल संघकी केन्द्रीय सदस्य पेमा लामा, विना श्रेष्ठ, तथा राष्ट्रिय महिला फुटबल टिमकी म्यानेजर बिन्द्रा देवानलगायतको उपस्थिति रहेको थियो। नेपालभर यो चलचित्र गत फागुन २९ देखि प्रदर्शनमा आएको हो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij