२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

कृषि क्षेत्रको एकीकृत विकासमा केन्द्रित रहेका छौं: अध्यक्ष काफ्ले

कृषि क्षेत्रको एकीकृत विकासमा केन्द्रित रहेका छौं: अध्यक्ष काफ्ले

सिताराम काफ्ले, अध्यक्ष, मुक्तिनाथ कृषि कम्पनी लि.

विषयप्रवेशः
नेपालको अर्थतन्त्रको मूल आधार कृषि हो । देशको ठूलो जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषि क्षेत्रमा नै निर्भर छ । तथापि कृषि क्षेत्रको विडम्बना यो छ कि हाम्रो लागतको तुलनामा उत्पादकत्व अत्यन्तै कम छ । जसले गर्दा अधिकांश कृषकहरु कृषिबाट सन्तुष्ट हुन नसकेको अवस्था छ । नयाँ पुस्ताका व्यक्तिहरु कृषिमा रमाउनुको सट्टा कृषिबाट विस्थापित भएर अन्य विकल्प खोज्न बाध्य छन् ।

मुक्तिनाथ कृषि सञ्चालनको सोच
नेपालको कृषिको घट्दो उत्पादकत्वलाई कसरी बढाउँदै लैजाने र कृषिलाई धेरै व्यक्तिहरुको आकर्षक पेशाको रुपमा अपनाउने स्थिति सृजना गर्नु अहिलेको आवश्यकता बनेको छ । कृषि नेपालको लागि सम्भावना भएको क्षेत्र समेत हो । यद्यपि यस क्षेत्रको एकीकृत तवरले विकास गर्न नसकिएको कारण हामीले यस क्षेत्रबाट राम्रो लाभ लिन नसकेका हौं । साथै कृषि क्षेत्र समस्या नभएको क्षेत्र होइन । यस क्षेत्रमा काम गर्दा विभिन्न समस्याहरु सामना अवश्य गर्नुपर्छ । ती समस्याहरु समाधान गर्ने कार्य व्यक्तिगत पहलबाट मात्र सम्भव हुन सक्दैन । यसकारण आफूहरुले संगठित रुपमा नै कृषिको समग्र विकासको लागि पहल आवश्यक रहेको महसुस गरेर मुक्तिनाथ कृषि कम्पनीको सोच विकास भएको कम्पनीका अध्यक्ष सिताराम काफ्ले बताउनुहुन्छ ।

मुक्तिनाथ बैंकमा समेत आबद्ध रहनुभएका काफ्ले मुक्तिनाथ विकास बैंक स्थापनाकाल देखि नै बैंकले निरन्तर रुपमा ग्रामीण क्षेत्रको विकास एवं जीवनस्तर उत्थानको लागि लघुवित्त मोडलमा कार्यक्रमहरु सञ्चालन गरी कर्जा प्रवाह गर्दै आएको बताउनुहुन्छ । सुलभ दरमा कृषकलाई ऋण उपलब्ध गराउँदैमा कृषि क्षेत्रलाई माथि उठाउन सम्भव रहेनछ भन्ने लामो अनुभवको आधारमा आफूहरुले पृथक अवधारणा सहित मुक्तिनाथ कृषि कम्पनी सञ्चालनमा ल्याएको कम्पनीका अध्यक्ष सिताराम काफ्लेले बताउनुभयो ।

अध्यक्ष काफ्लेका अनुसार मुक्तिनाथ कृषि कम्पनी कृषि क्षेत्रलाई विशिष्टीकृत गर्दै लैजाने योजना बमोजिम सञ्चालनमा आएको र यस कम्पनीले विभिन्न बहुउपयोगी कार्यक्रमहरु अघी सारेको छ । आगामी दिनमा थप आकर्षक कार्यक्रमहरु सार्वजनिक गर्दै अघी बढ्ने कम्पनीका अध्यक्ष सिताराम काफ्ले बताउनुहुन्छ ।

कस्तो कम्पनी हो मुक्तिनाथ कृषि ?
मुक्तिनाथ कृषिले मूलतः कृषक र बजारलाई जोड्ने काम गर्दै आइरहेको छ । मुक्तिनाथ विकास बैंकको एसोसिएट्स कम्पनीको रुपमा रहेको यो कम्पनीले पब्लिक कम्पनीको रुपमा आईपिओ मार्फत सर्वसाधारणलाई शेयर जारी गरिसकेको छ ।

हाल यस कम्पनीले अन्य १० ओटा सहायक कम्पनीहरु समेत सञ्चालनमा ल्याइसकेको छ । कृषि क्षेत्रको वृहत्तर विकासको लागि यस कम्पनीले आफ्नै मोडल निर्माण गरिसकेको छ । जसअन्तरगत ग्रामीण क्षेत्रका कृषकहरुलाई उत्पादनको लागि प्रोत्साहन गर्ने, कृषकका उत्पादनहरुको बजार सुनिश्चित हुने आधार तयार गर्ने, आफ्नै सञ्जालबाट बजारीकरणको व्यवस्था गर्ने, कृषिजन्य वस्तुहरुको प्रशोधनको काम गर्ने साथै निश्चित गुणस्तर सुनिश्चित गरी उपभोक्ताहरुलाई आफ्ना उत्पादन उपलब्ध गराउनको लागि बजार तयार गर्ने लगायतका योजनाहरु रहेका छन् ।

मुक्तिनाथ कृषिको सफलताको आधार
मुक्तिनाथ कृषि कम्पनी आफ्नो योजनामा सफल हुनुमा यसका व्यवस्थापन तहका व्यक्तिहरुको विभिन्न क्षेत्रको अनुभव एवं यस कम्पनीले सञ्चालन गरेका प्रभावकारी कार्यक्रमहरु महत्वपूर्ण छन् । खासगरी लामो समय सहकारी सञ्चालन, मुक्तिनाथ विकास बैंक अन्तरगत ग्रामीण भेगमा सञ्चालित लघुवित्त कार्यक्रमको अनुभव लगायत पक्षको भूमिका पनि महत्वपूर्ण छ ।

यी हुन् मुक्तिनाथ कृषिका १० सहायक कम्पनीहरु
– मुक्तिनाथ सिड बैंक लिमिटेड (गुणस्तरीय बीउको उत्पादन, प्रशोधन र वितरण)
– मुक्तिनाथ फर्टिलाइजर बैंक (दिगो मल व्यवस्थापन र गुणस्तरीय मलको आपूर्ति)
–  मुक्तिनाथ नर्सरी बैंक (बिरुवाहरू उत्पादन गरी बिक्रीवितरण गर्ने)
– मुक्तिनाथ हर्बल बैंक (औषधीजन्य एवं जडीबुटीजन्य उत्पादनको प्रवद्र्धन र बजार व्यवस्थापन)
– मुक्तिनाथ फुड बैंक (कृषिजन्य उत्पादनको प्रशोधन, भण्डारण र बजार व्यवस्थापन)
– मुक्तिनाथ एग्रो मेशिनरी कम्पनी (कृषि उपकरणको आपुर्ति एवं उत्पादन)
–  मुक्तिनाथ ट्रेडिङ (कृषक र उपभोक्तालाई आवश्यक कृषि सामाग्रीको वितरण र बजार व्यवस्थापन)
– मुक्तिनाथ आई–टेक
– मुक्तिनाथ क्लाइमेट केयर
– मुक्तिनाथ लाइभस्टक बैंक

अबको आवश्यकता
नेपालमा कृषि क्षेत्रमा संस्थागत रुपमा काम हुन सकेको अवस्था अत्यन्तै न्यून छ । स–साना प्रयत्नले मात्रै कृषिको यान्त्रिकीकरण, व्यावसायिकरण एवं युवा आकर्षणको लागि ठूलो परिमाणमा काम गर्न सकिँदैन । ६० प्रतिशत भन्दा बढी व्यक्तिहरु प्रत्यक्ष जोडिएको र कुल ग्राहस्थ उत्पादनमा २४ प्रतिशत योगदान पु¥याएको कृषि क्षेत्रमा नेपालमा राम्रो अवसर छ । यसकारण कृषि क्षेत्रमा अब ठूला संस्थाहरुले लगानी बढाउँदै लैजानुपर्ने आवश्यकता समेत छ ।

कम्पनीका शुरुवाती चुनौतीहरु
‘हामीले मुक्तिनाथ कृषि कम्पनी शुरुवात गर्दा केवल बजारीकरणलाई मात्रै जोड दिए पुग्ला भन्ने सोचेका थियौं । बाहिरबाट हेर्दा त कृषि क्षेत्रमा देखिने समस्या उत्पादन तहमा नभई बजारीकरणमा नै हुनुपर्छ भन्ने हामीलाई लाग्थ्यो । किनकि त्यस समय सम्म हामीले राम्रो तवरले कृषिको बजार अनुसन्धान गर्न सकेका थिएनौं । अहिले भने हामी बजार एवं प्राविधिक पक्ष लगायतमा अनुसन्धान गरेर मात्रै निर्णय लिने स्थितिमा पुग्छौं । जब हामीले मुक्तिनाथ कृषि सञ्चालनमा ल्यायौं, यो कम्पनी सञ्चालनमा आएको केही समयमा नै नेपालमा कोरोना महामारी फैलिन पुग्यो । यसले गर्दा विश्व नै प्रभावित हुन पुग्यो । यसैगरी रुस–युक्रेन युद्ध, ठूलो आर्थिक मन्दी लगायतका परिस्थितिलाई समेत यस कम्पनीले सामना गर्नुप¥यो । राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमहरु हामीले सोचेभन्दा विपरीत तवरले सामना गर्नुपर्ने स्थिति सृजना भयो । तैपनि हामी आफ्नो योजना र उद्देश्यबाट विचलित भएनौं’ कम्पनीका अध्यक्ष सिताराम काफ्लेले बताउनुभयो ।

कम्पनीका मुख्य उद्देश्यहरू
मुक्तिनाथ कृषि कम्पनीका उद्देश्यहरू समग्र नेपाली कृषि प्रणालीको रूपान्तरणमा केन्द्रीत छन् । ती उद्देश्यहरू यस प्रकार छन् ।

१. कृषक सशक्तिकरण
२. आधुनिक कृषि प्रणालीको प्रवद्र्धन
३. कृषिमा युवा सहभागिता बढाउने
४. बजार पहुँच बिस्तार गर्ने
५. एकीकृत कृषि सेवा केन्द्र स्थापना गर्ने
यी उद्देश्यहरु प्राप्तिको लागि मुक्तिनाथ कृषिले निम्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
१. कृषिजन्य सामान आपूर्ति
२. कृषि परामर्श तथा तालिम कार्यक्रम
३. वित्तीय सहजीकरण एवं कर्जा प्रवाह
४. उत्पादित वस्तु, संकलन, भण्डारन, प्याकेजिङ एवं बजारीकरण
५. सूचना प्रविधिमा आधारित स्मार्ट कृषि प्रविधि प्रवद्र्धन

कम्पनीका नारा र बजार मोडलहरु
यस कम्पनीले किसान र उपभोक्तालाई आफ्नो साथमा लिई ठूलो सञ्जाल बिस्तार गर्ने उद्देश्यले ‘किसानसँग मुक्तिनाथ’ र ‘उपभोक्तासँग मुक्तिनाथ’ गरी २ महत्वपूर्ण नाराहरु तय गरी काम गर्दै आएको छ । कम्पनीको मुख्य नारा ‘गाऊँको उत्पादन शहरमा, शहरको पुँजी गाऊँमा’ तय गरेको छ । यस कम्पनीले मूलतः निम्न ४ मोडलमा आफ्ना कार्यक्रम एवं सेवा सञ्चालन गरिरहेको छ ।

 1 .  ARC- Agriculture Research Center  (सहकारीमा आधारित कृषि श्रोत केन्द्र)
2. APC – Agriculture Processing Center (कृषि प्रशोधन केन्द्र)
3. AMC -Agriculture  Center  (कृषि केन्द्र)
 4.  ABC – Agriculture Business Consultation Center  (कृषि परामर्श केन्द्र

कृषि क्षेत्रमा कतिपय कृषकहरु आफूले उत्पादन गरेका वस्तुहरुको साधारण प्रशोधन समेत गर्ने तरिकाबारे जानकारी पाउन नसकेको कारण आफ्ना उत्पादनहरु नष्ट गर्नुपर्ने अवस्था छ । केही हद सम्म यी कुराहरु बारे जानकारी÷परामर्श उपलब्ध गराई साधारण उपकरण उपलब्ध गराउन सकेको खण्डमा आफ्ना उत्पादनलाई लामो समयको लागि टिकाउ समेत बनाउन सकिने कुरामा कृषकलाई जागरुक गराउने हाम्रो उद्देश्य छ ।

कृषिजन्य उत्पादनको बजारीकरणमा सहकारी अवधारणा
३ खम्बे अर्थनीतिको अवधारणा अन्तरगत सहकारी मोडललाई समेत साथमा लिएर ग्रामीण उत्पादनको बजारीकरण गर्न सकिन्छ भन्ने मान्यतालाई यस कम्पनीले जोड दिएको छ । जहाँ उत्पादक, स्थानीय सरकार, स्थानीय सहकारी, मुक्तिनाथ कृषि कम्पनी, मुक्तिनाथ मार्ट (सहकारीमा आधारित वितरण संयन्त्र) लगायतको एकीकृत प्रयत्न हुनेछ । सरकारले वितरण गर्ने सहुलियतलाई लागु गर्नको लागि समेत यो मोडल उत्कृष्ट मोडल सावित हुने कम्पनीका अध्यक्ष सिताराम काफ्लेको दाबी छ

 

……………………………………………………………………………………………………

को हुनुहुन्छ अध्यक्ष सिताराम काफ्ले ?
विगत २७ बर्ष पहिले रोयल सहकारी सञ्चालनमा ल्याई व्यावसायिक यात्रामा प्रवेश गर्नुभएका सिताराम काफ्ले हाल मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष हुनुहुन्छ । मुक्तिनाथ कृषि कम्पनी वि.सं २०७५ मा कृषि क्षेत्रको एकीकृत विकासको उद्देश्य सहित स्थापना भएको कम्पनी हो । यस कम्पनीले कृषि क्षेत्रमा आवश्यक पर्ने मल, बिऊ, प्राविधिक सहयोग एवं परामर्श लगायतका सेवाहरु उपलब्ध गराउने र कृषिलाई दिगो रुपमा विकास गर्ने योजना सहित काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij