विषयप्रवेशः
नेपालको अर्थतन्त्रको मूल आधार कृषि हो । देशको ठूलो जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषि क्षेत्रमा नै निर्भर छ । तथापि कृषि क्षेत्रको विडम्बना यो छ कि हाम्रो लागतको तुलनामा उत्पादकत्व अत्यन्तै कम छ । जसले गर्दा अधिकांश कृषकहरु कृषिबाट सन्तुष्ट हुन नसकेको अवस्था छ । नयाँ पुस्ताका व्यक्तिहरु कृषिमा रमाउनुको सट्टा कृषिबाट विस्थापित भएर अन्य विकल्प खोज्न बाध्य छन् ।
मुक्तिनाथ कृषि सञ्चालनको सोच
नेपालको कृषिको घट्दो उत्पादकत्वलाई कसरी बढाउँदै लैजाने र कृषिलाई धेरै व्यक्तिहरुको आकर्षक पेशाको रुपमा अपनाउने स्थिति सृजना गर्नु अहिलेको आवश्यकता बनेको छ । कृषि नेपालको लागि सम्भावना भएको क्षेत्र समेत हो । यद्यपि यस क्षेत्रको एकीकृत तवरले विकास गर्न नसकिएको कारण हामीले यस क्षेत्रबाट राम्रो लाभ लिन नसकेका हौं । साथै कृषि क्षेत्र समस्या नभएको क्षेत्र होइन । यस क्षेत्रमा काम गर्दा विभिन्न समस्याहरु सामना अवश्य गर्नुपर्छ । ती समस्याहरु समाधान गर्ने कार्य व्यक्तिगत पहलबाट मात्र सम्भव हुन सक्दैन । यसकारण आफूहरुले संगठित रुपमा नै कृषिको समग्र विकासको लागि पहल आवश्यक रहेको महसुस गरेर मुक्तिनाथ कृषि कम्पनीको सोच विकास भएको कम्पनीका अध्यक्ष सिताराम काफ्ले बताउनुहुन्छ ।
मुक्तिनाथ बैंकमा समेत आबद्ध रहनुभएका काफ्ले मुक्तिनाथ विकास बैंक स्थापनाकाल देखि नै बैंकले निरन्तर रुपमा ग्रामीण क्षेत्रको विकास एवं जीवनस्तर उत्थानको लागि लघुवित्त मोडलमा कार्यक्रमहरु सञ्चालन गरी कर्जा प्रवाह गर्दै आएको बताउनुहुन्छ । सुलभ दरमा कृषकलाई ऋण उपलब्ध गराउँदैमा कृषि क्षेत्रलाई माथि उठाउन सम्भव रहेनछ भन्ने लामो अनुभवको आधारमा आफूहरुले पृथक अवधारणा सहित मुक्तिनाथ कृषि कम्पनी सञ्चालनमा ल्याएको कम्पनीका अध्यक्ष सिताराम काफ्लेले बताउनुभयो ।
अध्यक्ष काफ्लेका अनुसार मुक्तिनाथ कृषि कम्पनी कृषि क्षेत्रलाई विशिष्टीकृत गर्दै लैजाने योजना बमोजिम सञ्चालनमा आएको र यस कम्पनीले विभिन्न बहुउपयोगी कार्यक्रमहरु अघी सारेको छ । आगामी दिनमा थप आकर्षक कार्यक्रमहरु सार्वजनिक गर्दै अघी बढ्ने कम्पनीका अध्यक्ष सिताराम काफ्ले बताउनुहुन्छ ।
कस्तो कम्पनी हो मुक्तिनाथ कृषि ?
मुक्तिनाथ कृषिले मूलतः कृषक र बजारलाई जोड्ने काम गर्दै आइरहेको छ । मुक्तिनाथ विकास बैंकको एसोसिएट्स कम्पनीको रुपमा रहेको यो कम्पनीले पब्लिक कम्पनीको रुपमा आईपिओ मार्फत सर्वसाधारणलाई शेयर जारी गरिसकेको छ ।
हाल यस कम्पनीले अन्य १० ओटा सहायक कम्पनीहरु समेत सञ्चालनमा ल्याइसकेको छ । कृषि क्षेत्रको वृहत्तर विकासको लागि यस कम्पनीले आफ्नै मोडल निर्माण गरिसकेको छ । जसअन्तरगत ग्रामीण क्षेत्रका कृषकहरुलाई उत्पादनको लागि प्रोत्साहन गर्ने, कृषकका उत्पादनहरुको बजार सुनिश्चित हुने आधार तयार गर्ने, आफ्नै सञ्जालबाट बजारीकरणको व्यवस्था गर्ने, कृषिजन्य वस्तुहरुको प्रशोधनको काम गर्ने साथै निश्चित गुणस्तर सुनिश्चित गरी उपभोक्ताहरुलाई आफ्ना उत्पादन उपलब्ध गराउनको लागि बजार तयार गर्ने लगायतका योजनाहरु रहेका छन् ।
मुक्तिनाथ कृषिको सफलताको आधार
मुक्तिनाथ कृषि कम्पनी आफ्नो योजनामा सफल हुनुमा यसका व्यवस्थापन तहका व्यक्तिहरुको विभिन्न क्षेत्रको अनुभव एवं यस कम्पनीले सञ्चालन गरेका प्रभावकारी कार्यक्रमहरु महत्वपूर्ण छन् । खासगरी लामो समय सहकारी सञ्चालन, मुक्तिनाथ विकास बैंक अन्तरगत ग्रामीण भेगमा सञ्चालित लघुवित्त कार्यक्रमको अनुभव लगायत पक्षको भूमिका पनि महत्वपूर्ण छ ।
यी हुन् मुक्तिनाथ कृषिका १० सहायक कम्पनीहरु
– मुक्तिनाथ सिड बैंक लिमिटेड (गुणस्तरीय बीउको उत्पादन, प्रशोधन र वितरण)
– मुक्तिनाथ फर्टिलाइजर बैंक (दिगो मल व्यवस्थापन र गुणस्तरीय मलको आपूर्ति)
– मुक्तिनाथ नर्सरी बैंक (बिरुवाहरू उत्पादन गरी बिक्रीवितरण गर्ने)
– मुक्तिनाथ हर्बल बैंक (औषधीजन्य एवं जडीबुटीजन्य उत्पादनको प्रवद्र्धन र बजार व्यवस्थापन)
– मुक्तिनाथ फुड बैंक (कृषिजन्य उत्पादनको प्रशोधन, भण्डारण र बजार व्यवस्थापन)
– मुक्तिनाथ एग्रो मेशिनरी कम्पनी (कृषि उपकरणको आपुर्ति एवं उत्पादन)
– मुक्तिनाथ ट्रेडिङ (कृषक र उपभोक्तालाई आवश्यक कृषि सामाग्रीको वितरण र बजार व्यवस्थापन)
– मुक्तिनाथ आई–टेक
– मुक्तिनाथ क्लाइमेट केयर
– मुक्तिनाथ लाइभस्टक बैंक
अबको आवश्यकता
नेपालमा कृषि क्षेत्रमा संस्थागत रुपमा काम हुन सकेको अवस्था अत्यन्तै न्यून छ । स–साना प्रयत्नले मात्रै कृषिको यान्त्रिकीकरण, व्यावसायिकरण एवं युवा आकर्षणको लागि ठूलो परिमाणमा काम गर्न सकिँदैन । ६० प्रतिशत भन्दा बढी व्यक्तिहरु प्रत्यक्ष जोडिएको र कुल ग्राहस्थ उत्पादनमा २४ प्रतिशत योगदान पु¥याएको कृषि क्षेत्रमा नेपालमा राम्रो अवसर छ । यसकारण कृषि क्षेत्रमा अब ठूला संस्थाहरुले लगानी बढाउँदै लैजानुपर्ने आवश्यकता समेत छ ।
कम्पनीका शुरुवाती चुनौतीहरु
‘हामीले मुक्तिनाथ कृषि कम्पनी शुरुवात गर्दा केवल बजारीकरणलाई मात्रै जोड दिए पुग्ला भन्ने सोचेका थियौं । बाहिरबाट हेर्दा त कृषि क्षेत्रमा देखिने समस्या उत्पादन तहमा नभई बजारीकरणमा नै हुनुपर्छ भन्ने हामीलाई लाग्थ्यो । किनकि त्यस समय सम्म हामीले राम्रो तवरले कृषिको बजार अनुसन्धान गर्न सकेका थिएनौं । अहिले भने हामी बजार एवं प्राविधिक पक्ष लगायतमा अनुसन्धान गरेर मात्रै निर्णय लिने स्थितिमा पुग्छौं । जब हामीले मुक्तिनाथ कृषि सञ्चालनमा ल्यायौं, यो कम्पनी सञ्चालनमा आएको केही समयमा नै नेपालमा कोरोना महामारी फैलिन पुग्यो । यसले गर्दा विश्व नै प्रभावित हुन पुग्यो । यसैगरी रुस–युक्रेन युद्ध, ठूलो आर्थिक मन्दी लगायतका परिस्थितिलाई समेत यस कम्पनीले सामना गर्नुप¥यो । राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमहरु हामीले सोचेभन्दा विपरीत तवरले सामना गर्नुपर्ने स्थिति सृजना भयो । तैपनि हामी आफ्नो योजना र उद्देश्यबाट विचलित भएनौं’ कम्पनीका अध्यक्ष सिताराम काफ्लेले बताउनुभयो ।

कम्पनीका मुख्य उद्देश्यहरू
मुक्तिनाथ कृषि कम्पनीका उद्देश्यहरू समग्र नेपाली कृषि प्रणालीको रूपान्तरणमा केन्द्रीत छन् । ती उद्देश्यहरू यस प्रकार छन् ।
१. कृषक सशक्तिकरण
२. आधुनिक कृषि प्रणालीको प्रवद्र्धन
३. कृषिमा युवा सहभागिता बढाउने
४. बजार पहुँच बिस्तार गर्ने
५. एकीकृत कृषि सेवा केन्द्र स्थापना गर्ने
यी उद्देश्यहरु प्राप्तिको लागि मुक्तिनाथ कृषिले निम्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
१. कृषिजन्य सामान आपूर्ति
२. कृषि परामर्श तथा तालिम कार्यक्रम
३. वित्तीय सहजीकरण एवं कर्जा प्रवाह
४. उत्पादित वस्तु, संकलन, भण्डारन, प्याकेजिङ एवं बजारीकरण
५. सूचना प्रविधिमा आधारित स्मार्ट कृषि प्रविधि प्रवद्र्धन
कम्पनीका नारा र बजार मोडलहरु
यस कम्पनीले किसान र उपभोक्तालाई आफ्नो साथमा लिई ठूलो सञ्जाल बिस्तार गर्ने उद्देश्यले ‘किसानसँग मुक्तिनाथ’ र ‘उपभोक्तासँग मुक्तिनाथ’ गरी २ महत्वपूर्ण नाराहरु तय गरी काम गर्दै आएको छ । कम्पनीको मुख्य नारा ‘गाऊँको उत्पादन शहरमा, शहरको पुँजी गाऊँमा’ तय गरेको छ । यस कम्पनीले मूलतः निम्न ४ मोडलमा आफ्ना कार्यक्रम एवं सेवा सञ्चालन गरिरहेको छ ।
1 . ARC- Agriculture Research Center (सहकारीमा आधारित कृषि श्रोत केन्द्र)
2. APC – Agriculture Processing Center (कृषि प्रशोधन केन्द्र)
3. AMC -Agriculture Center (कृषि केन्द्र)
4. ABC – Agriculture Business Consultation Center (कृषि परामर्श केन्द्र
कृषि क्षेत्रमा कतिपय कृषकहरु आफूले उत्पादन गरेका वस्तुहरुको साधारण प्रशोधन समेत गर्ने तरिकाबारे जानकारी पाउन नसकेको कारण आफ्ना उत्पादनहरु नष्ट गर्नुपर्ने अवस्था छ । केही हद सम्म यी कुराहरु बारे जानकारी÷परामर्श उपलब्ध गराई साधारण उपकरण उपलब्ध गराउन सकेको खण्डमा आफ्ना उत्पादनलाई लामो समयको लागि टिकाउ समेत बनाउन सकिने कुरामा कृषकलाई जागरुक गराउने हाम्रो उद्देश्य छ ।
कृषिजन्य उत्पादनको बजारीकरणमा सहकारी अवधारणा
३ खम्बे अर्थनीतिको अवधारणा अन्तरगत सहकारी मोडललाई समेत साथमा लिएर ग्रामीण उत्पादनको बजारीकरण गर्न सकिन्छ भन्ने मान्यतालाई यस कम्पनीले जोड दिएको छ । जहाँ उत्पादक, स्थानीय सरकार, स्थानीय सहकारी, मुक्तिनाथ कृषि कम्पनी, मुक्तिनाथ मार्ट (सहकारीमा आधारित वितरण संयन्त्र) लगायतको एकीकृत प्रयत्न हुनेछ । सरकारले वितरण गर्ने सहुलियतलाई लागु गर्नको लागि समेत यो मोडल उत्कृष्ट मोडल सावित हुने कम्पनीका अध्यक्ष सिताराम काफ्लेको दाबी छ
……………………………………………………………………………………………………
को हुनुहुन्छ अध्यक्ष सिताराम काफ्ले ?
विगत २७ बर्ष पहिले रोयल सहकारी सञ्चालनमा ल्याई व्यावसायिक यात्रामा प्रवेश गर्नुभएका सिताराम काफ्ले हाल मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष हुनुहुन्छ । मुक्तिनाथ कृषि कम्पनी वि.सं २०७५ मा कृषि क्षेत्रको एकीकृत विकासको उद्देश्य सहित स्थापना भएको कम्पनी हो । यस कम्पनीले कृषि क्षेत्रमा आवश्यक पर्ने मल, बिऊ, प्राविधिक सहयोग एवं परामर्श लगायतका सेवाहरु उपलब्ध गराउने र कृषिलाई दिगो रुपमा विकास गर्ने योजना सहित काम गरिरहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij