काठमाडाैं । नारायणगढ मुग्लिन सडकको सिमलतालमा पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेका छन् ।
चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान साढे तीन बजे तिर लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूलीमा बेपत्ता भएका हुन् ।
सिमलतालमा दुईवटा बस पहिरोमा बगेको भन्ने जानकारी आए पनि एउटा बसको केही भाग मात्र देखिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए । सो बसमा रहेका तीनजना यात्रु हाम फालेर बाहिर निस्केको र उनीहरूका अनुसार सो बसमा ३० जना यात्रु थिए ।
बस काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्सको रहेको भन्ने पनि उनीहरूले बताएको डीएसपी रिजालले जानकारी दिए । अर्को बस पनि पुरिएको भन्ने कुरा आए पनि केही कुरा नखुलेको उनको भनाइ छ । घटनास्थलमा प्रहरी पुगिसके पनि पानी परिरहेकोले उद्धारमा समस्या भएको छ । घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने “हामी घटनास्थलमा छौँ । पानी परिहेको छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।”
त्यसैगरी सोही सडक खण्डको १७ किलोमा बिहान साढे तीन बजे आसपासमा खसेको पहिरोबाट आएको ढुंगाले लागेर बसका चालकको निधन भएको छ । बुटबलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसलाई ढुंगाले लाग्दा गम्भीर घाइते भएका चालक नवलपरासीका मेघनाथ विकको उपचारका क्रममा चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा निधन भएको डीएसपी रिजालले बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij