काठमाडाैं । झापाको बिर्तामोडमा रहेको गिरीबन्धु टि– स्टेट प्रालिका सञ्चालक छत्र गिरीले गिरीबन्धु टि–स्टेट राज्यको सम्पत्ति नभएको बताएका छन् ।
आज बुधबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै गिरीबन्धुका सञ्चालक गिरीले आफ्नो वा आफ्ना परिवारको स्वामित्वमा भएको गिरीबन्धु टि–स्टेट राज्यको सम्पत्ति नभएको बताएका हुन् ।
उनले पत्रकारहरूसामु गिरीबन्धु टि–स्टेट आफ्ना बाबु–बाजेले आर्जेको सम्पत्ति भएको र त्यो सम्पत्ति राज्यको नभएको स्पष्ट पारेका छन् । उनले आफ्नो निजी सम्पत्तिमा विभिन्न प्रकारको अफवाह फैलाइएको दाबी समेत गरेका छन् ।
२०२१ सालमा भूमिसम्बन्धी ऐन लागू हुनुअघि नै गिरीबन्धुले चिया खेती विस्तार गरेको गिरीको भनाइ थियो । हदबन्दी छुटमा ५०० विघा जग्गा राख्ने अनुमति पाएकोमा अहिले गिरीबन्धुको नाममा ३९० विघा जग्गा रहेको उनको भनाइ छ ।
सर्वोच्च अदालतको हालै गरेको फैसलालाई पालना गर्दै निकास खोज्ने काम भइरहेको उनले बताए । एकै पटक धेरै जग्गा पाउन गाह्रो हुने भएकाले विभिन्न व्यक्तिहरूसँगको सहकार्यमा जग्गाको कारोबार सुरु गरेको गिरीले स्वीकार गरे ।
दीपक मलहोत्रा, विष्णुबहादुर राईलगायत व्यक्तिहरूसँग जग्गा विषयमा कारोबार भएको उनले खुलासा गरेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij