
काठमाण्डौ । माघ महिनामा नेपालको अन्तर्राष्ट्रिय व्यापारमा ४ दशमलब ८२ प्रतिशतले घटेको छ । भन्सार विभागको प्रारम्भिक तथ्याङ्क अनुसार माघ महिनासम्म आयात व्यापारमा ४दशमलब ५ प्रतिशतले घटेको छ भने निर्यात व्यापारमा ८ प्रतिशतले कमी आएको छ ।
गत वर्षको सोही समयको आधारमा पुस महिनासम्म समग्र व्यापार ३ दशमलब ४७ प्रतिशतले मात्रै घटेको थियो। गत वर्ष पहिलो सात महिना साउनदेखि माघसम्ममा ९ खर्ब १९ अर्ब रूपैयाँ बराबरको वस्तु आयात भएको थियो । अहिले घटेर ८ खर्ब ७७ अर्ब ८० करोड रूपैयाँ बराबरको मात्रै आयात भएको छ। त्यस्तै गत आर्थिक वर्ष पहिलो सात महिनामा ९३ अर्ब ९४ करोड रूपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । अहिले ८५ अर्ब ९५ करोड रूपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।
समग्र व्यापारमा ४८ अर्ब रूपैयाँ बढीले कमी आएको छ । तर आयात व्यापार लगातार घटे पनि यो वर्ष भन्सार राजस्व भने बढेको छ । गत वर्ष करिब २१ प्रतिशतले आयात घट्दा ३८ प्रतिशतले भन्सार राजस्व घटेको थियो ।
यो वर्ष भने मूल्यको आधारमा ४ दशमलब ५ प्रतिशतले आयात व्यापार घटे पनि राजस्व भने ८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष माघ महिनासम्म दुई खर्ब १८ अर्ब ८३ करोड भन्सार राजस्व उठेको थियो । चालु वर्षमा भने दुई खर्ब ३६ अर्ब ९८ करोड राजस्व उठेको छ । तर लक्ष्यको तुलनामा भने यो वर्षको राजस्व निकै न्यून देखिएको छ । माघ महिनासम्मको लागि राखिएको राजस्व लक्ष्यमा जम्मा ६५ प्रतिशत उठेको विभागले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij