
भनिन्छ, एउटा खुसि, प्रशन्न र कृतज्ञ व्यक्तिले सोही बमोजिमका हरेक वस्तु, परिस्थिति र घटनालाई आकर्षित गर्न सक्छ ।
बिग्रँदो सम्बन्ध, आर्थिक दबाब, जागिर वा व्यवसायमा समस्या, खराब स्वास्थ्य स्थिति, आपसी मनमुटाव लगायतका हरेक परिस्थितिहरु लामो समय देखिको कृतज्ञता अभाव अर्थात भित्री रुपमा आफैं प्रतिको प्रेमको अभावका कारण सृजना भएका हुन् ।
खुसी, शान्ति, प्रेम, न्याय र समृद्धि हाम्रो लागि प्राकृतिक अवस्था हुन् । यी अवस्थामा निरन्तर रहन हामीले सचेत रुपमा अभ्यास गर्नु जरुरी रहन्छ । कुनै काममा संलग्न हुनुपूर्व त्यसले सृजना गर्न सक्ने हरेक अवस्था प्रति हामीले विचार गर्नुपर्छ । यसको लागि आफूबाट हुँदै आएका हरेक गतिविधि माथि निरीक्षण जरुरी हुन्छ ।
हामी सचेत रुपमा हाम्रो लागि आवश्यक काममा संलग्न हुन सकेनौं भने प्रकृतिको स्वभाविक नियमअनुसार चिन्ता, भय, विमार, झगडा, आरोपप्रत्यारोपको अवस्था हामीलाई उपहारको रुपमा स्वतः प्राप्त हुन्छन् ।
कारण र परिणामको नियम
अहिले हामी जुन अवस्थामा छौं, त्यो अवस्था केवल परिणाम हो । संसार कारण र परिणामको नियम अनुसार चलेको हुन्छ । कुनै परिमाणका पछाडि कारण अवश्य हुन्छ ।
अहिले सम्म हामीले परिणामका लक्षणहरुलाई मात्रै हेरेर बदलाव ल्याउने प्रयत्न गर्यौं । यस्तो अभ्यासले दिने नतिजा केवल क्षणिक हुने गर्दछ । जब हामी कुनै समस्याको कारणलाई नै पहिचान गरेर बदल्ने प्रयत्न गर्छौं, त्यो समस्या सधैंको लागि विलय नै भएर जान सक्छ ।
एक पटक विचार गरौं त, के हामीले
- म चिन्ता गर्दिन ।
- म विरामी हुन्न ।
- म असफल हुन्न ।
- म कुनै गल्ति गर्दिन ।
- म गरीब रहन्न ।
भनेर साँच्ची यस्ता अवस्थाबाट छुटकारा पाउन सक्छौं त ? सक्दैनौं ।
आखिर किन त ? किनकि हामीले शुरुमा नै आफ्नो ध्यान नकारात्मक कुरामा केन्द्रित गर्यौं ।
हामीले यी कुराहरु विचार गर्दा हाम्रा विगतका नकारात्मक अनुभवहरु एवं बाह्य घटनाका थुप्रै चित्रहरु हाम्रो मष्तिष्कमा एक–एक गरेर आए । जसले हाम्रो सफलतामा अवरोध (ब्लकेज)हरु निर्माण गरायो ।
त्यसो हो भने अब यी वाक्यांशलाई थोरै बदलेर पुनः अनुभव गरौं कि,
- म अत्यन्त खुसी छु । सदैव खुसीयालि अवस्थामा रहने प्रयत्न गरेर अन्य व्यक्तिलाई समेत प्रेरित गरिरहन्छु ।
- म आफू बदलिएर अन्य व्यक्तिहरुलाई आशा र सम्भावनाका मार्गहरु देखाउने काममा निरन्तर प्रयत्नरत छु र रहिरहनेछु । म सँग अरुलाई दिनको लागि खुसी, आनन्द र मार्गदर्शनका अनेकौं तरिकाहरु छन् ।
- मैले पूर्ण स्वास्थ्यको महसुस गरिरहेको छु ।
- हरेक आरोहअवरोह मेरो जीवनका सिकाईका कारणहरु बनिरहेका छन् । हरेक घटनाबाट कि मैले जित्छु, कि केही अवश्य सिक्छु ।
- म एकपटक म बाट भइसकेका गल्तिलाई पुनः दोहोरिन नदिने प्रतिज्ञा गर्दछु । साथै नयाँ काम शुरु गर्ने क्रममा कुनै गल्ति होला कि भनेर हात बाँधेर म कहिल्यै बस्ने छैन ।
- समृद्ध जीवन मेरो अधिकार हो । म आफ्नो र समाजको भलाईको लागि प्रशस्त सम्पत्ति आर्जन गर्न सक्छु ।
पुनः विचार गर्नुस् त माथिका अघिल्लो अनुच्छेद भन्दा पछिल्लो अनुच्छेदका वाक्यांशहरु धेरै शक्तिशालि छन् । जसले हामीलाई काममा साँच्ची प्रेरित गर्नको लागि ऊर्जा प्रदान गर्दछन् ।
हामी नकारात्मक अवस्थामा के गर्छौं ?
- जब हामी विरामी हुन्छौं, अस्पताल जान्छौं । डाक्टरलाई चेकजाँच गराउँछौं । डाक्टरले तत्कालिन समयमा हाम्रो शरीरको अवस्था एवं रसायनहरुलाई जाँचेर मुख्यतया औषधी खाने र आराम गर्ने परामर्श दिन्छन् । डाक्टरले समस्याको कारण पत्ता लगाएका हुँदैनन् । केवल लक्षणको आधारमा उपचारको प्रयत्न गरेका हुन्छन् ।
- हामी आफूमा निराशा बढ्दै जाँदा फिल्म, टिभी हेर्छौं । कसैले मदिरा, चुरोट लगायत समेत सेवन गरौंला ।
- जब हामी निरन्तर चिन्तामा हुन्छौं, हामीले आफू जस्तो चिन्तामा रहेको अर्को व्यक्तिको साथ खोजी गर्छौं । आफू जस्तै अर्को व्यक्ति पनि निराशामा रहेको देखेर हामी केही समयको लागि आफूलाई खुसी बनाउँछौं ।
- जब हामीसँग प्रयाप्त धन उपलब्ध हुँदैन, त्यस समयमा हाम्रो सम्पर्कका अधिकांश साथीहरु पनि हामी सरह (गरीब र कमजोर मानसिकता)का नै जोडिँदै जान्छन् ।
यस्तो किन हुन्छ ? किनकि ब्रह्माण्डको नियम नै छ कि Like Attracts like अर्थात समान चिजले समान चिजलाई आकर्षित गर्दछ ।
– ब्रह्माण्ड ऊर्जाको नियम अनुसार चलेको छ । हामी भित्रबाट नकारात्मक फ्रिक्वेन्सीमा रहेर सकारात्मक परिस्थिति र उपलब्धिको अपेक्षा गर्न सक्दैनौं । सबै कुरामा बदलाव ल्याउनको लागि त हामीले आफ्नो अवस्था पनि सकारात्मक भाइब्रेसनमा पुर्याउनुपर्छ ।
यी कुरा पनि विचार गरौं
- के हामी आफ्नो जागिरे जीवन राम्रो चलिरहेकोमा कहिल्यै दैनिक रुपमा खुसी वा कृतज्ञताको सचेत अभ्यास गर्यौं ?
- के हामी वैवाहिक जीवन राम्रो चलेकोमा नियमित अदृश्य शक्ति प्रति कृतज्ञ बन्दै आयौं ।
- के हामी स्वस्थ अवस्थामा रहँदा आफू स्वस्थ हुनु ठूलो उपलब्धि मान्यौं ?
- के हामी राम्रो शिक्षादिक्षाको लागि हाम्रा अनेकौं गुरुहरु प्रति कृतज्ञ रहँदै आयौं ?
- के हामीले आफू भित्रका क्षमता र सम्भावनाहरुलाई एक–एक गरेर विचार एवं टिपोट गयौं ?
कि अथवा
- आफ्नो जागिर प्रति सदैव ग्लानि पो महसुस गर्दै आएका छौं कि ?
- आफू सफल हुन नसक्नुमा परिवार बाधक बनिरहेको महसुस पो गरिरहेका छौं कि ?
- हामी छोटो समय बिरामी पर्दा इश्वर र भाग्यलाई नै दोषी पो ठहराइरहेका हुन्छौं कि ?
- हामी ज्ञान सीप आर्जन गर्नमा नभई तत्काल आनन्द लिन चलचित्र, फेसबुक, टिकटक, मदिरा सेवन लगायतमा पो बढी रमाउँदै आएका छौं कि ?
- हामी आफूलाई संसारको सबैभन्दा अभागी व्यक्ति मान्दै जेनतेन निकै कठिनाईपूर्वक आफ्ना दिन एक–एक गरेर गन्दै कटाइरहेका पो छौं कि ?
यो पनि विचार गरौं
हामी अहिले जहाँ जुन अवस्थामा छौं, यही समयमा संसारका थुपै्र व्यक्तिहरु भोकमरी, कठिन विमार, जेल जीवन लगायतबाट पीडित हुनुपरेको छ । हामी त स्वतन्त्र छौं, मन लागेको जुनसुकै काम गर्ने स्वतन्त्रता छ । घुमफिर, मनोरञ्जन, अध्ययन, उद्योग व्यापार लगायत हामीले चाहेका हरेक कुरा हाम्रो लागि हामीलाई छनौट गर्ने अवसर छ । यसकारण हामी आफूमा खुसीका अनेकौं कारणहरु पहिचान गरौं ।
जे उपलब्ध छैन, त्यसमा असन्तोष व्यक्त गरेर आफूलाई थप कमजोर नबनाउँ, जे उपलब्ध छ, त्यसमा सन्तुष्ट रहँदै थप प्रगतिको लागि नयाँ सीप विकास गर्न प्रयत्नशिल बनौं ।
हामी जे दिन्छौं त्यही फिर्ता पाउँछौं
हामी अहिले सम्म आफूसँग अरुलाई दिनको लागि केही चिज पनि नभएको ठानिरह्यौं र आफूलाई सदैव कमजोर मात्रै मानिरह्यौं । यथार्थ त्यो भन्दा पृथक छ । अब आफूसँग भएका राम्रा कुराहरु एक एक गरेर गन्न शुरुवात गरौं ।
अरुको लागि जे गर्न सकिन्छ, त्यो अवश्य गरौं । आफूलाई सीमित बनाउने विचारहरुबाट टाढा रहौं । ब्रह्माण्डको नियम छ कि हामीले जे दिन्छौं, त्यही कुरा चक्रीय रुपमा वृद्धि भएर कुनै न कुनै माध्यमबाट हामी तर्फ नै फर्कन्छ ।
आजको अभ्यास
- कृतज्ञ प्रकटको लागि हामीसँग उपलब्ध रहेका कम्तीमा १० ओटा राम्रा कुराहरु डायरीमा टिपोट गरौं ।
- ती कुराहरु किन महत्वपूर्ण छन्, कारण समेत खुलाउँ
– म ………….प्रति कृतज्ञ छु किनकि …………………….।
- आफ्नो जीवनमा आइपरेको र समाधान गर्न चाहने ठूलो समस्या वा नकारात्मक अवस्थालाई डायरीमा टिपौं ।
- त्यस नकारात्मक अवस्था प्रति कृतज्ञ हुने १० वाक्यहरु समेत टिपोट गरौं । जसले त्यस घटना वा परिस्थिति प्रति हामीलाई नयाँ ढङ्गले सोच्न र दृष्टिकोण बदल्नमा सहयोग पुर्याओस् ।
त्यसपछि यो पनि लेख्नुहोस् कि
- धन्यवाद । धन्यवाद ।। धन्यवाद ।।। अब …….(समस्या)….मेरो लागि समस्या रहने छैन । आफैंले त्यसमा समाधान निकाल्न सकेको महसुस गरेर भित्रै देखि र आफैं प्रति पनि बधाईं र धन्यवाद भाव व्यक्त गर्नुस् ।
- आफू केवल आजको १ दिन कुनै पनि चिज प्रति नकारात्मक नहुने प्रतिज्ञा गर्नुहोस् ।
- जब मनमा कुनै कुराको नकारात्मक भाव आउँछ, तब त्यस भावलाई तुरुन्तै रोकेर पुनः सोच्नुहोस् कि
– ……..(नकारात्मक विचार)…………….अवस्था हुँदाहुँदै पनि म………………..को लागि भित्रै देखि कृतज्ञ छु किनकि ……………..(कारण जोड्नुहोस्) ।
- राति सुत्ने बेलामा पुनः आजको दिनका राम्रा–राम्रा क्रियाकलापहरु मध्ये कम्तीमा १० ओटा कामहरु एक–एक गरेर स्मरण गरेर वा डायरीमा टिपोट गरेर धन्यवाद भाव सहित विश्राम लिनुहोस् ।
हामीहरु सबैको आजको दिन शुभ रहोस् । साथै हरेक दिन यसरी नै सुखद बन्दै जाउन् । हार्दिक कृतज्ञता सहित ।
- राण्डा बर्नकाे पुस्तक चमत्कारकाे साताैं अध्याय (The Magic) मा आधारित