
मोरङ- कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मोरङको जङ्गल हुदै मानवीय बस्ती पसेका हात्ती धपाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।
शुक्रबार मोरङको बेलबारी–१० भाउन्नेमा हात्तीले पुराएको क्षतिको स्थलगत निरीक्षण गर्दै मुख्यमन्त्री कार्कीले सुरक्षा निकायसँग छलफल राखेर स्थानीयलाई शान्ति सुरक्षा कायम गर्न निकायलाई निर्देशन दिएका हुन् ।
उनले भने, ‘हात्तीले कुनै मानवीय क्षति पुर्याउनु भन्दा अघि नै हामी सबै सजग हुनुपर्छ । यस क्षेत्रमा हात्तीले अन्नबालीदेखि बसोबासमा समेत नोक्सान गरिरहेको छ । सरकार यस विषयमा गंभीर छ ।’
स्थानीयसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले जंगली हात्तीबाट जोगिनका लागि सरकारले आवश्यक पहल गर्ने बताए ।
पछिल्लो एकसाताबाट करिब २७ वटा हात्ती दिनभर जङ्गल र रातपरेपछि नजिकका बस्ती पस्ने गरेको छ ।
बेलबारीस्थित चिसाङ साझेदारी सामुदायिक वनका अध्यक्ष दिनेश गिरीका अनुसार हात्तीको झुण्डले निरन्तर समस्यामा पारिरहेको बताए ।
अध्यक्ष गिरीका अनुसार हात्तीले रातीको समय बस्ती पसेर घर भत्काउने, अन्नबाली नष्ट गर्ने क्रम बढ्दै गएको छ ।
हात्तीको आक्रमणबाट सो क्षेत्रमा सोमबार ५२ वर्षीय कमल माझीको मृत्यु भएको बताए अध्यक्ष गिरीले सुनसरी, मोरङ र झापामा गरी कुल ४ जना सर्वसाधारणको हात्ती आक्रमणमा मृत्यु भइसकेको जानकारी दिए ।
त्यसैगरी, बेलबारी–१० भाउन्ने क्षेत्रको करिब २० विगाह क्षेत्रफलमा लगाइएको मकै, केरा लगायतका अन्नबालीमा हात्तीले क्षति पुराएको वडाध्यक्ष गंगा याक्खाले गुनासो गरे।
२५ देखि २७ वटा हात्ती एकसातादेखि निरन्तर आसपासको जङल र गाँउमा बस्दै आएको बताएका वडाध्यक्ष याक्खाले मुख्यमन्त्री समक्ष हात्तीलाई सुरक्षित अन्यत्र हटाइदिनका लागि आग्रह गरेका थिए । हात्तीले सो वडामा विहीबार राती स्थानीय विन निरौला र तीर्थ दाहालको घरमा क्षति पुर्याएको उनले बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij