
काठमाडौं । नेपाल कफी व्यवसायी महासंघले आयोजना गरेको ४ दिने राष्ट्रिय कफी सम्मेलन तथा प्रदर्शनी २०८० मङ्गलबार समाप्ति भएको छ ।
४ दिन सम्म चलेको सम्मेलन तथा प्रदर्शनीले नेपाली कफीको स्वदेशी प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने आयाेजक पक्षको विश्वास छ ।
समापन समारोहलाई मुख्य सम्बाेधन कृषि तथा पशुपक्षी मन्त्री वेदुराम भुसालले गरेका छन् । समापनमा बाेल्दै मन्त्री भुसालले कफी व्यवसायमा लामो समय देखि कृयाशिल उद्यमीहरूकाे याेगदानकाे कदर गरेका छन् । साथै मन्त्रालय सदैव सहयोगी बन्ने समेत बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका डा. बुद्धि प्रसाद उपाध्ययले नेपालमा कफीकाे सम्भावना बढ्दै गएको, माग समेत बढिरहेको साथै राज्यको समेत प्राथमिकता रहेको क्षेत्र रहेको बताए ।
कार्यक्रममा बाेल्दै चिया कफी विकास बाेर्डका कार्यकारी निर्देशक बिष्णु प्रसाद भट्टराईले कफीको दिगो विकासमा आफूहरूले विशेष महत्त्व दिईरहेको बताए । उनले अब उत्पादन वृद्धिमा नै केन्द्रित हुनुपर्ने बताएका छन्।
कार्यक्रममा बाेल्दै उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले नेपाल पृथक उत्पादन, जैविक विविधता, भाैगाेलिक अवस्थिति लगायतका हिसाबले राम्रो सम्भावनायुक्त देश हुँदाहुँदै पनि राजनीतिक दलहरूले सेवक नभई शासक भइरहने प्रवृत्ति त्याग्न नसक्दा समस्या सृजना भएको बताए । मेला समारोह कार्यक्रमलाई सम्बाेधन गर्दै ढकालले नेपालमा कफीको सम्भावना बढ्दै गएको समेत बताएका छन् ।
मेलामा विभिन्न जिल्लामा उत्पादन भएका कफी, कफी व्यवसायी, कफीको क्षेत्रमा उपलब्ध प्रविधि बिक्री एवं प्रदर्शनी तथा प्रतिष्पर्धात्मक गतिविधिहरू सञ्चालन गरिएको थियो ।
समापनकाे अवसर पारेर कफीको प्रवर्द्धन एवं उत्पादनमा महत्त्वपूर्ण याेगदान पुर्याउने व्यवसायी एवं संघसंस्थाहरूलाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको थियो ।
साथै यस बर्षबाट आफूहरूले नयाँ संस्करणकाे रूपमा पुस्ता हस्तान्तरणलाई प्रवद्धन गर्ने कार्य अभियान लिएको महासंघका महासचिव सन्तोष पाेखरेलले बताएका छन् ।
कार्यक्रमको समापन गर्दै महासंघका अध्यक्ष ओमनाथ अधिकारीले प्रदर्शनीलाई सफल बनाउन भूमिका खेल्ने सबै संघसंस्था एवं सदस्यहरू प्रति हार्दिक आभार प्रकट गरे ।
कफीमा उत्पादन, बजार, गुणस्तर लगायतका विषयवस्तुहरू कफी क्षेत्रमा रहँदै आएका महत्त्वपूर्ण विषयवस्तु भएको उनलेे बताए ।
साथै कफी क्षेत्रमा थुप्रै समस्या रहेको उनले बताएका छन् ।

उनले उठाएका विषयवस्तुहरूमा कफी नीति २०६० लाई परिमार्जन गर्नुपर्ने, बालि बिमा, जग्गाकाे हदबन्दी, भाडा लगायतमा सरकारले विशेष ध्यान दिनुपर्ने, कफी सम्बन्धि पाठ्यक्रम निर्माण, हावापानी सुहाउँदो जातका कफीकाे पहिचान स्थापना, थप कफी उत्पादनमा जाेड, प्राङ्गारिक मल उत्पादनमा जाेड दिनुपर्ने , सरकारी निकायहरूसँग संस्थागत सहकार्य, कफी क्षेत्रमा हुँदै आएको सहयोग पारदर्शी बनाउनुपर्ने, कफी उत्पादन, बजार र क्याफेकाे अवस्था सम्बन्धमा अनुगमन हुनुपर्ने लगायतका विषयवस्तुहरू लगायत रहेका छन् ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij