काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका अन्तरगत सञ्चालनमा रहँदै आएको प्रारम्भ वर्ल्ड स्कुल तथा कलेजको आयोजनामा २ दिने अन्तरविद्यालय फुट्सल प्रतियोगिता आयोजना गर्न लागिएको छ ।
यसपटक पहिलो पटक आयोजना गर्न लागेको फुट्सल टुर्नामेन्ट्समा १६ विद्यालयहरु सहभागि हुँदैछन् ।
खेललाइ विवादरहित बनाउने आयोजक पक्षबाट विद्यालयका प्रिन्सिपल कमल प्रसाद ज्ञवालीले बताउनुभएको छ ।
प्रारम्भ SEE SUP फुट्सल टुर्नामेन्ट-२०८० नाम दिइएको उक्त खेल विद्यालयको फुट्सल हलमा असार १ र २ अर्थात आज र भोलि सञ्चालनमा रहनेछ ।
विद्यार्थीहरुको SEE पछिको खाली समयलाई सिर्जनशिल बनाउन सकियोस् भन्ने मनसायले आफूहरुले पहिलो पटक यस्तो प्रतियोगिता आयोजना गर्न लागेको विद्यालयका प्रिन्सिपल ज्ञवालीले बताउनुभयो । उहाँले खेलमा हारजित भन्दा पनि सहभागिता र अनुशासन महत्वपूर्ण हुने कुरामा समेत विशेष जोड दिनुभएको छ ।
विद्यालयका अध्यक्ष विनोद चापागाईंको सभापतित्वमा खेल कार्यक्रमबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा तारकेश्वर नगर प्याब्सनका अध्यक्ष एवं एन्जल हार्ट स्कुलका प्रिन्सिपल धन बहादुर पुन सहित स्प्रिङ भ्याली स्कुलका नवराज न्यौपाने, सेक्रेड हार्ट स्कुलका हरि आचार्य, मेगा पब्लिक स्कुलका दीपक भण्डारी तथा कोच गौरव बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
खेल आज विहान १० बजेबाट शुरुवात हुनेछ ।
प्याब्सनका नगर अध्यक्ष धन बहादुर पुनले खेललाइ फेयर बनाइनुपर्ने र SEE विद्यार्थीहरुलाइ मात्रै संलग्न गराइनुपर्ने कुरामा जोड दिनुभएको छ । यसका लागि विद्यार्थीको डकुमेन्ट छनौटमा व्यवस्थापन पक्ष चनाखो बन्नुपर्ने साथै हरेक विद्यालयले आफ्ना आफ्ना आधिकारिक विद्यार्थीलाई मात्र खेलमा सहभागि बनाएर सहयोग गर्नुपर्ने समेत उहाँले बताउनुभएको छ ।
खेलले अन्तरविद्यालय मतभेद र वैमनस्यतालाइ समेत कमी ल्याउन सहयोग पुग्ने बताइएको छ ।
उत्कृष्ट खेलाडीहरु मध्ये प्रथमलाई नगद २५ हजार, द्वितीयलाई १५ हजार र तृतीयलाई नगद १० हजार एवं मेडल र प्रमाणपत्र सहित पुरष्कृत गरिनेछ ।