
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी साउन १ गतेदेखि स्वचालित प्रणालीमार्फत पूर्व र अन्तिम श्रम स्वीकृति प्रदान गर्ने भएको छ ।
म्यानपावर कम्पनीले आफ्नै कम्पनीमा बसेर वैदेशिक रोजगारीमा जाने श्रमिकको सूचना अनलाइनमा राख्न सक्ने र सूचना राखेपछि स्वतः श्रम स्वीकृति प्रदान हुने व्यवस्था गर्ने निर्णय भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार यो व्यवस्था कार्यान्वयनमा आएपछि पूर्व र अन्तिम श्रम स्वीकृतिका लागि फाइल बोकेर म्यानपावर कम्पनी श्रम तथा रोजगार कार्यालयमा धाउने अवस्थाको अन्त्य हुनेछ ।
मन्त्रालयले अहिलेको अनलाइन प्रणालीलाई परिमार्जन गर्दै पूर्व र अन्तिम श्रम स्वीकृतिसम्बन्धी सबै काम स्वचालित प्रणालीबाटै हुने व्यवस्था गरेको हो । वैदेशिक रोजगार व्यवसायीले गलत कागजात पेस गरी प्रविष्ट गरेमा वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली २०६४ बमोजिम कम्पनी खारेजीसम्मको सजाए हुने गरी निर्णय गरिएको जनाएको छ ।
यसैगरी अबदेखि श्रम स्वीकृतिका लागि आएका आवेदनको विवरण प्रमाणीकरण र अनुगमनको काम पनि अधिकृत तहका कर्मचारीले गर्ने गरी व्यवस्था गरिएको पनि श्रम सचिव अर्यालले जानकारी दिनुभयो । यसअघि ‘फेमिस सिस्टम’मार्फत दिएका आवेदन विभिन्न तहमा कर्मचारीले प्रमाणित गर्ने हुँदा काम ढिलो हुने गर्दथ्यो ।
पछिल्लो समय सबैखाले श्रम स्वीकृति अनलाइनमार्फत नै प्रदान हुन थालेपछि अब भने कुनै पनि कामका लागि कार्यालयमा गएर लाइन बस्नु पर्दैन । यसअघि श्रम स्वीकृति लिँदा ‘बायोमेट्रिक’ नभएकाले मात्र पुनःश्रम स्वीकृति लिनका लागि श्रम कार्यालयमा उपस्थित हुनपर्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij