
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लाेकतन्त्रलाइ बलियाे बनाउन प्रेस बलियाे हुनुपर्ने बताएका छन् । बाराको कलैयामा शनिबार आयोजित नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै महामन्त्री थापाले प्रेस स्वतन्त्रताकाे महत्व बारे प्रष्ट पार्दै यस्ताे बताएका हुन् । उनले प्रेस बलियाे नभए संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत नहुने समेत बताएका छन्।
संविधान मान्ने र नमान्ने दुई पक्ष मुलुकमा देखिएको उल्लेख गर्दै उनले संविधान पक्षधर सम्पूर्ण लोकतन्त्रवादी एकजुट हुनुको विकल्प नरहेको बताए।
प्रेसलाई संकुचन पारेर संघीयतालाई समाप्त पार्ने खेल भइरहेको उनले बताए ।
कांग्रेसलाई कमजोर पार्न र मुलुकमा अधिनायकवाद लाद्न तथा अस्थिरता सिर्जना गर्ने प्रयास भइरहेको उनको भनाइ थियो। देशलाई विकास र समृद्धितर्फ उन्मुख गराउन तथा विधिको शासन सही दिशामा डोर्याउन पनि एमाले बाहेकका पार्टीको तर्फबाट राष्ट्रपति बनाउनुपर्ने महामन्त्री थापाको धारणा थियो।
नेपाल प्रेस युनियनका उपाध्यक्ष अनिल कर्णको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयवाबु शिवाकोटी, पूर्व केन्द्रीय सदस्य गुरुराज बराल, नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति चन्द्रशेखर यादव, संविधानसभा सदस्य डा शोभाकर पराजुली, युनियनका महासचिव दिलीप पौडेललगायतले प्रेसलाई अंकुश लगाउने कार्य सह्य नहुने बताए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij