भक्तपुर । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको युथफोर्सले आफ्ना सयौं कार्यकर्तालाई एक दिने कमाण्डो तालिम सञ्चालन गरेकाे छ ।
सर्वाेच्च अदालतबाट प्रधानमन्त्रीकाे रुपमा शेरबहादुर देउवा पक्षमा गरिएकाे निर्णयसँगै देशमा आएकाे नयाँ राजनीतिक तरङ्ग बीच भएकाे उक्त प्रशिक्षण कार्यक्रमलाइ विशेष महत्व साथ हेरिएकाे छ ।
युवा संघले केही दिनअघि युथ फोर्स ब्यूँताइएको थियो । युथ फोर्सले पार्टी, देश र जनताको निम्ती आवश्यक परेमा खुकुरीको धार भएर निस्कने उद्घोषका साथ क्षितिज थेवेको संयोजकत्वमा युथ फोर्स व्युँताइएको बताइएकाे छ ।
उक्त कार्यक्रम भक्तपुरको सूर्यविनायकस्थित प्रस्तावित राष्ट्रिय प्राणी उद्यान केन्द्रमा आयाेजना गरिएकाे थियाे ।
कार्यक्रम पूर्वमन्त्री तथा संघका इन्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यतामा भएकाे थियाे ।

सर्वोच्च अदालतको असार २८ को परमादेश अनुसार सरकारबाट बाहिरिएसँगै एमालेले युथ फोर्स ब्यूँताएको हो । युथ फोर्सले राज्यका ज्यादती एवं जनताबिरुद्ध हुने कुनै पनि कामको प्रतिरोध गर्ने बताएको छ ।

प्रशिक्षण कार्यक्रममा बोल्दै नेता महेश बस्नेतले आफूहरूले कानुनलाई हातमा नलिने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी कानुनलाई हातमा लिँदैनौँ, साथमा लिन्छौँ । हिजो प्रचण्डले जस्तो हामी हत्या हिंसा गर्दैनौँ, मान्छेलाई दुःख दिँदैनौँ, निर्दोष व्यक्तिलाई दुःख दिँदैनौँ ।’
नेता बस्नेतले युथ फोर्सको विचार, कार्यकर्ता र शुभचिन्तकमाथि कसैले प्रहार गरेमा प्रतिरोधमा उत्रिन पनि निर्देशन दिनुभयो । उहाँले युथ फोर्समाथि अनेक आरोप लाग्न सक्ने बताउनुहुँदै सजग भएर अघि बढ्न पनि आग्रह गर्नुभयो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij