२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

कस्ताे रह्याे अनलाइन शैक्षिक कार्यक्रमको प्रभावकारिता

कस्ताे रह्याे अनलाइन शैक्षिक कार्यक्रमको प्रभावकारिता

गोपाल बुढाथोकी, प्रिन्सिपल, लालिगुराँस नेशनल स्कुल

अघिल्लो बर्ष नेपाल सरकारले लकडाउन गरेसँगै नेपालका सबैजसो संघसंस्था, कार्यालय, स्कुल कलेजहरु बन्द भए । स्कुलहरु बन्द भएपछि अनलाइनबाट शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने अवस्था आयो । यद्यपि सबैको पहुँचमा अनलाइन शिक्षा पुर्याउन सहज थिएन ।

हाम्रो यस लालिगुराँस स्कुलमा मात्रै ६८ जिल्लाका विद्यार्थीहरु अध्ययन गर्छन् । अधिकांश विद्यार्थीहरु उपत्यका भन्दा बाहिरी जिल्लाका नै छन् । लकडाउन हुने अवस्था सृजना भएपछि ती बाह्य जिल्लाका अभिभावकहरु आफ्ना बालबच्चा समेत साथमा लिएर आफ्नै घर फर्कनुभयो । नेपालका ग्रामीण क्षेत्रमा अझै पनि इन्टरनेटको सहज पहुँच विस्तार हुन नसकेको र स्तरीय मोबाइल, ल्यापटप, कम्प्युटर जस्ता साधनहरु समेत सबैको पहुँचमा नभएको कारण सबै विद्यार्थीहरु अनलाइन कक्षामा सहभागि हुन सक्ने अवस्था पनि रहेन ।

कतिपय विद्यार्थीहरु डिभाइसको अभावको कारण अनलाइन कक्षामा सहभागि हुन सकेनन् त कतिपय इन्टरनेट पहुँचको अभावले । जसले गर्दा सीमित ठाउँका मानिसहरु मात्र यस्तो सुविधाबाट लाभान्वित हुन सके । सबै विद्यार्थीहरुलाई भौतिक रुपमा उपस्थित गराई शैक्षिक कार्यक्रम सञ्चालन गर्न नसक्दा अनलाइन माध्यमबाट शैक्षिक कार्यक्रम सञ्चालनको विकल्प थिएन । यद्यपि यसरी सञ्चालन गरिएको अनलाइन कक्षालाई आंशिक रुपमा मात्र सफल रहेको मान्न सकिन्छ ।

नेपाल सरकारले असार देखि अनलाइन माध्यमबाट शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भनेर सर्कुलर गरेपछि हामीले अनलाइन माध्यमबाट शैक्षिक कार्यक्रम सञ्चालन गरेका छौं । असार भन्दा पहिलेका महिनाहरुमा हामी सबै अलमल्लमा रह्यौं । अब के हुने हो भन्ने कसैलाई थाहा थिएन । अनलाइन कक्षा सञ्चालन शुरु भएपछि पनि उपत्यका बाहिरका विद्यार्थीहरु न त काठमाडौं आउन नै सम्भव रह्यो, न त आफ्नो घरबाट नै शिक्षा लिन सक्ने स्थिति बन्यो । जसले गर्दा लकडाउनको कारण शिक्षा क्षेत्रमा निकै ठूलो नोक्सानी पुग्यो ।

हामीले अनलाइन कार्यक्रम प्रभावकारी बनाउने उद्देश्यले आफ्नै अलग सफ्टवेयर निर्माण गरेर नै हामीले अनलाईन शैक्षिक कार्यक्रम सञ्चालन गरेका थियौं । हुनतः हामी पनि अनुभवी थिएनौं । विद्यार्थी र अभिभावकहरु पनि अनलाइन कार्यक्रमको लागि अनुभवी हुनुहुँदैनथ्यो । त्यसकारण शुरुको अवस्थामा समस्या सृजना हुनु स्वभाविक थियो ।

कात्तिक-मंसिर पछि गोकर्णेश्वर नगरपालिकाले भौतिक रुपमा नै शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्छ भन्ने निर्णय गर्याे । कार्यान्वयनमा भने चुनौती नै देखियो । गोकर्णेश्वर पछि तारकेश्वर नगरपालिकाले विद्यालय सञ्चालनको निर्णय गर्यो । तारकेश्वरमा भने विद्यालयहरु सञ्चालन नै गरियो । सोहीबमोजिम हामीले मंसिर २१ बाट प्रत्यक्ष रुपमा शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्यौं । शुरुमा माथिल्लो कक्षाबाट शुरु गरेर माघ महिना देखि हामीले पूर्ण रुपमा कक्षाहरु सञ्चालन गर्यौं । शुरुका महिनाहरुमा विद्यालय तहका बालबालिकामा कोभिड–१९ को प्रभाव खासै देखिएन । तर पछिल्लो समय विश्वभर पुनः कोरोना संक्रमितहरुको सङ्ख्या बढ्दै गएको छ । यसले पुनः समस्या सृजना हुने अवस्था देखिएको छ ।

अनलाईन प्रणालीको उपलब्धि
यस बर्ष अनलाइनबाट शैक्षिक कार्यक्रम सञ्चालन मात्र नभई विद्यार्थीको परिणाम पनि मापन गरिएको छ । नयाँ परिवेश र वातावरणमा प्रविधिको प्रयोगबाट परिक्षा दिने व्यवस्था केही अप्ठ्यारो त रह्यो नै । तैपनि नयाँ प्रविधिसँग जोडिने अवसर कोरोनाले सृजना गरेको छ । यसरीे प्रविधिसँग निकटतम रहेर अघी बढ्दा विद्यार्थीहरुलाई दीर्घकालिन रुपमा भने लाभ हुने अपेक्षा गर्न सकिन्छ ।

साथै तारकेश्वर नगरपालिकामा मंसिरबाट भौतिक उपस्थितिमा शैक्षिक कार्यक्रम सञ्चालन गरेको अवस्थामा विद्यार्थीहरुले अनलाइन र भौतिक उपस्थिति दुवै तरिकाबाट शैक्षिक कार्यक्रमको अनुभव हासिल गरेका छन् । अनलाइनमा प्रभावकारी रुपमा सिक्न नसक्नेहरुलाई पुनः भौतिक कक्षाबाट समेत पढ्ने वातावरण मिलेकोले यस बर्ष विद्यार्थीलाई ठूलो नोक्सानी भने हुन सकेन । विद्यार्थीहरुले अन्तिम परिक्षा समेत गर्दा ३ ओटा परिक्षा भौतिक रुपमा उपस्थित भएर नै दिने स्थिति बन्यो । समग्रमा हेर्दा विज्ञान, कम्प्युटर जस्ता विषयहरु बढी प्रभावकारी भएको साथै परम्परागत विषयहरुमा उपलब्धि कम रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij