२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

वित्तीय कर्मचारीको गुनासो सम्बाेधनमा जिफन्टको अग्रसरता आवश्यक छः महासचिव श्रेष्ठ

वित्तीय कर्मचारीको गुनासो सम्बाेधनमा जिफन्टको अग्रसरता आवश्यक छः महासचिव श्रेष्ठ

यादब पन्थी, काठमाडौं । ‘श्रमजिवी वर्गको सम्मानित, समृद्ध र सृजनशिल जीवन’ भन्ने मूलनारा सहितकाे नेपाल ट्रेड युनियन महासंघ-जिफन्टको वृहद कार्यकर्ता भेला काठमाडौंमा सम्पन्न भएको छ ।

माघ १५ र १६ गते दुई दिन चलेको उक्त कार्यक्रम माघ १५ गते प्रज्ञा प्रतिष्ठानमा प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घाटन सँगै शुरु भएको थियो । दोस्रो दिन अर्थात माघ १६ गते अमृतभोग बैंक्वेट, डिल्लीबजारमा देशभरका कार्यकर्ताको वृहद छलफलसँगै उक्त भेला सम्पन्न भएको छ ।

उक्त भेलामा फरक–फरक विषयवस्तुहरुका सम्बन्धमा छुट्टाछुट्टै छलफल भएका छन् । सम्बोधनमा वक्ताहरुबाट व्यक्त भएका विषयवस्तुलाई निचोडको रूपमा व्यक्त गर्दा उक्त भेलालाई कर्मचारीहरुका समस्या एवं गुनासो व्यवस्थापन सम्बन्धमा सम्बन्धित पक्षलाई जागरुक बनाउन आयोजना गरिएको भेला समेत मान्न सकिन्छ ।

भेलामा बैंक वित्तीय तथा सहकारी कर्मचारी युनियन-वाफ्स्युका महासचिव भैरव कुमार श्रेष्ठले स्वावलम्बन लघुवित्त लगायत विभिन्न वित्तीय संस्थाहरूमा कार्यरत कर्मचारीहरूकाे समस्याहरुको गहन अध्ययन गरी समाधानको पहल गर्न नेपाल ट्रेड युनियन महासंघ -जिफन्टले विशेष पहल गर्नुपर्ने धारणा राखेका छन् ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका अधिकांश कर्मचारीहरु विगत ६९ दिन देखि  शान्तिपूर्ण धर्ना सहित आन्दोलनमा रहेको र आगामी दिनमा थप आन्दाेलनका कार्यक्रमहरु समेत घाेषणा गरिसकेकाे परिप्रेक्ष्यलाई लक्षित गर्दै तत्काल उक्त लघुवित्तको समस्या समाधानको लागि पहलकदमी लिनुपर्नेमा उनले सरोकारवालाहरुको ध्यानाकर्षण गराएका हुन् ।

स्मरण रहोस्, स्वावलम्बन लघुवित्तका कर्मचारीहरुले व्यवस्थापन पक्षसँग विभिन्न मागहरु सहित साउन १ गते कर्मचारीका हकहितका विभिन्न  माग सहितकाे मागपत्र पेश गरेका थिए । ती मागहरू पूरा नभएकाेले विगत ७० दिन देखि कर्मचारीहरू शान्तिपूर्ण धर्नामा रहँदै आएका छन् ।

कर्मचारीहरुले नेपाल सरकारले २०७६ चैत्र ११ देखि २०७७ जेष्ठ मसान्त सम्म सार्वजनिक विदा सरह घोषणा गरेको लकडाउन अवधिमा कोरोना जोखिम र लकडाउनको कारण कार्यालयमा उपस्थित हुन नसकेका कर्मचारीहरुलाई संस्थाले जबरजस्ती विदा लेख्न लगाएको, बढ्दो महँगी र बजार आवश्यकता अनुसार तलब वृद्धि हुन नसकेको, जोखिम बीच कार्य क्षेत्रमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध हुन नसकेकाे लगायतका गुनासाहरु राख्दै आएका छन् ।

कर्मचारीहरूकाे कोरोना बीमाको यथाशिघ्र दावी भुक्तानी हुनुपर्ने, सेवा अवधि बीच कामबाट अवकाश लिने कर्मचारीहरुलाई सामाजिक सुरक्षा कार्यक्रम बापतको रकम प्राप्त हुनुपर्ने, कोभिड–१९ बाट प्रभावित कर्मचारीको कर छुट हुनुपर्ने, श्रमिक वर्गलाई सहुलियत व्याजदरमा बिनाधितो कर्जाको व्यवस्था हुनुपर्ने, गुटबन्दी र राजनीतिक रुपमा गलत नियतका कर्मचारीकाे संरक्षण गर्ने प्रथा हटाउनुपर्ने, समसामयिक रुपमा तालिम एवं प्रशिक्षण सञ्चालन गर्नुपर्ने, वित्तीय क्षेत्रका नवविकशित प्रविधि बारे कर्मचारीलाई जानकारी गराउनुपर्ने, कर्मचारीहरुको खातामा सिधै रकम जम्मा गर्ने व्यवस्था गर्नुपर्ने, वित्तीय कर्मचारीलाई यथाशिघ्र कोरोना भ्याक्सिन सेवा उपलब्ध गराउनुपर्ने, श्रमिक वर्गलाई सामाजिक सुरक्षा कोषको व्यवस्था गर्नुपर्ने लगायतका मागहरु जिफन्टले सम्बाेधन गर्नुपर्नेमा वाप्स्युका प्रतिनिधिहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij