२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

लकडाउनमा नाम्लो

लकडाउनमा नाम्लो

  • -ध्रुवराज घिमिरे

भारी बोकेर जिविका धान्ने यो नाम्लोले आजभोलि बस्ने ठाउँ र गर्ने काम सबै परिवर्तन गरेको छ । हिजोको दिनमा टाउकोमा लगाएर पारिवारिक खर्च धानेको नाम्लो आज पेटमा कसिएर पीडा भुलाउने साधन बनेको छ ।

लकडाउन वा निषेधाज्ञा जे भनेपनी हिजोसम्म परिवारलाई जीवित राख्ने र सीमित इच्छाहरुको परिपुर्ति गर्ने नाम्लो आज थकाइ मार्न बेकामे बनेर पल्टिएको छ । हिजोसम्म परिवारको ओठमा मुस्कान भर्ने यो नाम्लो आज आखामा टल्पलाइरहेका आँसु टुलुटुलु हेर्न बाध्य छ ।

हो, त्यही नाम्लो हो जसले यो पेटको गुजारा चलाउँथ्यो, कोठाको मासिक भाडा बुझाउँथ्यो, लुगाफाटो व्यवस्था गरी नाङ्गो लुकाउँथ्यो । आफन्त र साथीभाइको ओठमा पनि धेरथोर सम्बन्ध बनाएकै थियो । अनि भविष्यको सहारा यी लालाबालाहरुको विद्यालय खर्च पनि जोहो गर्थ्यो अर्थात न्युनतम आवश्यकता पूरा गरिरहेकै थियो । काममा जतिसुकै कठिनाइ भएपनि घरमा आउँदा स्वर्गीय आनन्दको अनुभुती गराएकै हुन्थ्यो । अर्थात त्यही नाम्लो सिङ्गो परिवारको मुस्कान र समृद्धिको एक्लो कारण थियो ।

हिजोसम्म मुस्कानको माध्यम बनेको यो नाम्लो आज बाध्यताको मार्गमा पेट कसेर संसार चियाउने माध्यम बनेको छ । परिवार, नातागोता, इष्टमित्र, साथीभाई लगायतका आफन्त भनाउँदाहरुको मुटु छामिरहेको छ । आफ्नै सन्तानको भोक मेटाउन नसकेर निदाएको नाटक गर्ने बाबुआमाको प्राणवायुमाथि नै प्रश्न चिन्ह खडा गरिरहेको छ अहिले ।

यो नाम्लोलाई पहिचान दिनेले पनि केवल नागरिकतासँगै कर्तव्यको पाठ त पढायो तर हक र अधिकारमाथि कुनै पनि स्वामित्व प्रदान गरेन किनकि यो त्यति धेरै महत्त्वपूर्ण थिएन । न यो विदेशमा गएर रेमिट्यान्स भित्र्याउने माध्यम नै थियो न त कुनै दबाब समुहको सदस्य नै बनेको थियो ।

पहुँच नभएको यो नाम्लोलाई संकट आउँछ भन्ने पनि थाहा थियो तर जति प्रयास गरेपनि काठमाडौंको महँगो सहरीकरणमा सिङ्गो परिवारको जिम्मा लिनुपर्ने भएकोले संकट व्यवस्थापन गर्न सक्ने हैसियत राखेन यसले ।

अहिले पनि राज्य कोषको ठूलो हिस्सा हामी जस्ताको लागि खर्च भएको छ रे तर हामी बिना योगदानका हाम्रो त्यसमा भाग हुने कुरै भएन किनकि हाम्रो न कुनै ठाउँमा लगत राखिएको छ न कतै हाम्रो बारेमा कुनै कानुनी दस्तावेजमा नै लेखिएको छ । हामी राज्यको नागरिक भएर पनि दोस्रो दर्जामा केवल कर्तव्यमात्र पालन गर्नुपर्ने मात्र बन्न पुगेका पात्र बनेका छौं ।

अब यदि महामारी बिनायोजना बढ्दै जाने हो भने त्यही नाम्लो आफुले जिम्मा लिएको सारा परिवारलाई यमराजको दरबारमा पुर्याउने साधन बन्नु शिबाय अर्को विकल्प बाकी रहने छैन । २०२० जुलाई अन्तिममा The Republica ले निकालेको रिपोर्टले पनि दैनिक बीस जनाको हाराहारीमा यस्तै डोरिले बाटो खुलाएको प्रमणित गर्दछ । राजतन्त्र भएकै समयमा राजाको बंशनास हुँदा पनि न्याय नपाउने यो देशमा त्यस्तो तथ्यांकले कुनै आश्चर्य थप्नेछैन । किनकी कुनै पनि नागरिकको हत्या, अपराध, बलात्कार वा त्यतै अन्य घटना सामान्य मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij