ई. रविभूषण झा, प्रबन्ध निर्देशक, जियोकम इन्टरनेशनल प्रा.लि.
तराई क्षेत्रका जनताहरु शिक्षा र चेतनास्तरको हिसाबले तुलनात्मक रुपमा निकै नै पछाडि छन् । तराईका अधिकांश क्षेत्रको विकास अवस्था अत्यन्तै कमजोर छ । स्थानीय जनताहरु सदियौं देखि राज्य भित्र भएरपनि राज्यविहीनताको महसुस गर्दै आएका छन् । हेपिएको महसुस गरिरहेका छन् । यसो हुनुमा तराई क्षेत्रका नेताहरुले त्यस क्षेत्रको दिगो र सन्तुलित विकासको योजनामा आफूलाई अडिग राख्दै स्थानीय आवश्यकता र भौगोलिक यथार्थता बमोजिम स्वतन्त्र निर्णय एवं योजना छनौट प्रक्रियामा आफूलाई क्रियाशिल गराउन नसक्नु पनि महत्वपूर्ण तथ्य हो ।
हुनतः तराई क्षेत्रका केही शीर्ष नेताहरु सदावहार नेतृत्व पंक्तिमा अग्र स्थानमा नै रहँदै आएको देखिन्छ । एउटै व्यक्तिले नै राजतन्त्र, बहुदलीय प्रजातन्त्र हुँदै अहिलेको गणतन्त्र सम्म आइपुग्दा तराई मधेशको नेतृत्व गरिरहेको छ । आखिर कहाँ पुर्याए त यस्ता नेताहरुले तराई क्षेत्रको विकास अवस्था । साथै उनीहरुले नै ठाऊँ ओगटिइरहँदा नयाँ ऊर्जा र योजना बोकेका व्यक्तिहरुले अवसर पाउन समेत सकेका छैनन् । जसले गर्दा स्थानीय जनजीविकामा समेत कुनै सुधार हुने अवस्था नै छैन ।
समग्र तराईको विकास अवस्था बुझ्नको लागि महोत्तरी जिल्लालाई नमुना जिल्लाको रुपमा छनौट गर्न सकिन्छ । यसले अधिकांश तराई क्षेत्रका आर्थिक सामाजिक अवस्थाको प्रतिनिधित्व गर्छ । नेपाल ७५ जिल्लाको संरचनामा हुँदा गरिएको एउटा अध्ययनमा महोत्तरीको विकास अवस्था ७३ औं नम्बरमा देखिएको थियो । भौगोलिक हिसाबले कर्णाली प्रदेश र हिमाली जिल्लाहरुको अवस्था निकै नाजुक हुँदाहुँदै पनि तराई क्षेत्रको महोत्तरी आखिर किन यस्तो अवस्थामा छ त ? उक्त अध्ययनको मापनका आधारहरु सामाजिक परिस्थिति एवं त्यहाँको विकास रहेकाले त्यस क्षेत्रका जनताहरुको विकास अवस्था के होला भन्ने यस घटनाले पनि प्रतिबिम्बित गर्दछ । साथै मलाई लाग्छ, उक्त जिल्लाको दक्षिणी भेगमा पहाडी क्षेत्रका केही सचेत व्यक्तिहरुको समेत बसोबार समेत भएको कारणले मात्र यो जिल्ला ७३ औं स्थानमा सीमित भएको हुनुपर्छ ।
आधारभूत सुविधाको छैन पहुँचः
महोत्तरीमा अझै यस्ता थुप्रै ग्रामीण वस्तीहरु छन्, जहाँ सार्वजनिक यातायातको पहुँच विस्तार हुन सकेको छैन । त्यस मध्ये एक हो मनेरासिसवा नगरपालिका । जुन मेरो आफ्नै जन्मस्थल पनि हो । यद्यपि उक्त नगरपालिकाको अवस्था अन्य जिल्लाका थुप्रै ग्रामीण वस्तीको तुलनामा निकै नै कमजोर छ । अहिले सम्म आइपुग्दा त्यहाँ केवल विद्युत सेवा मात्रै विस्तार भएको छ । अन्य सुविधा केही पनि छैनन् । मैले यसै नगरपालिकाकै एउटा विद्यालयबाट एसएलसी उत्तीर्ण गरेको हुँ । त्यहाँको शिक्षाको गुणस्तर विगतको तुलनामा पछिल्ला बर्षहरुमा झन्–झन् कमजोर बन्दै गएको छ । पछिल्ला दिनहरुमा मधेशी भू–भागमा शिक्षकको आपुर्ति कम गइरहेको छ । शिक्षालाई कसैले पनि विशेष महत्वको साथ सम्बोधन गर्नुपर्नेमा ध्यान दिन सकेका छैनन् । मधेश मूलकै चित्रलेखा यादब (पूर्वशिक्षामन्त्री) लगायत थुप्रै मन्त्रीहरुले राज्यको वागडोल सम्हालेपनि आफ्नो निर्वाचन क्षेत्र सुधार तर्फ अहिले सम्म उहाँहरुको ध्यान केन्द्रित नै हुन नसक्नुले स्थानीयहरुको जनजीवन थप कष्टकर बन्दै गएको हुनुपर्छ । जुन स्थिति महोत्तरीको लागि मात्र नभई हाम्रो समग्र मुलुककै निम्ति ठूलो चिन्ताको विषय बनेको छ ।
तराइको राजनीति
तराईमा राजनीति पछिल्ला दिनहरुमा कमजोर बन्दै गएको छ । जनताहरु राजनीतिबाट वितृष्ण हुँदै गएका छन् । विगतका दिनहरुमा काङ्ग्रेसको गड मानिने तराई क्षेत्रमा यस पटकको निर्वाचनमा नेकपाले प्रभाव जमाएपनि नेकपाले जनताहरुको मन जित्न भने सकेको छैन । सिके राउतको पक्षमा जनसागर बढ्दै जानुका पछाडि यस्ता थुप्रै कुराहरुले भूमिका खेलेका छन् ।
राष्ट्रियताकै पक्षमा देखिए मधेसी नेताहरुः
विगतमा भारत निकट मानिने तराईका नेताहरु पनि अहिले राष्ट्रियताकै पक्षमा उभिएका छन् । भर्खर मात्रै राजेन्द्र महतो र उपेन्द्र यादब पनि राज्यको पक्षमा नै मतदान गर्नुले यो प्रमाणित भइसकेको छ । अब यी नेताहरुको ध्यान मधेसको विकासमा केन्द्रित होस् । उनीहरुले भारतले आफ्नो स्वार्थको लागि मात्र आफूहरुलाई प्रयोग गरेको महसुस गरेका छन् ।
भारत सँगको सीमा विवाद र हाम्रो कमजोरीः
विगतमा २ राष्ट्र बीच गरिएका (अहिले असमान भनिने) सम्झौता त्यतिबेला आपसी सहमतिमा नै भएका हुनुपर्छ । तर सहमति गर्ने क्रममा ती निर्णयले दीर्घकालिन रुपमा पार्ने प्रभाव सम्बन्धमा भने नेपालका नेताहरुले विचार गर्न नसक्नुले हामी ठगिएका हौं । यसलाई हामीले स्वीकार्नैपर्छ । सोही विषयमा थप विवाद निकालेर कुनै निकास ननिस्कन सक्छ । यस्तो अवस्थामा अब बौद्धिकता प्रकट गरेर समयानुकुल मध्यमार्गी उपाय खोजी गर्नेतर्फ हाम्रो वहस केन्द्रित हुनुपर्छ ।
मुलुकका अहिलेका मुख्य समस्याहरुः
अहिलेको लागि हाम्रो सबैभन्दा ठूलो समस्या कोरोना सङ्कट नै हो । यस सङ्कटसँगै अन्य थुप्रै समस्याहरु सृजना हुँदैछन् । अबको अर्को ठूलो समस्या भनेको वैदेशिक रोजगारीबाट स्वदेश फर्कने नेपालीको व्यवस्थापन समेत बन्ने देखिएको छ । यस्तो अवस्थामा हामीले नेपाल फर्कने युवाहरुलाई नेपालमा ल्याई उनीहरुलाई उनीहरुको क्षमता बमोजिमको काममा कसरी लगाउन सकिन्छ भन्नेमा विशेष ध्यान केन्द्रित गर्नु जरुरी छ । कृषि, नयाँ उद्योग स्थापना, निर्माण क्षेत्र वा अन्य लगानी क्षेत्र, जहाँ जसरी सम्भव हुन्छ, सोही बमोजिम ती युवाहरुलाई काममा लगाउनु जरुरी छ । तत्काल उनीहरुको व्यवस्थापन हुन सकेन भने नेपालमा चोरी, डकैटी, बलात्कार जस्ता आपराधिक क्रियाकलाप समेत फस्टाउन सक्छन् ।
औद्योगिकीकरणको आवश्यकताः
विगतमा नेपालमा पनि ठूलो क्षमताका उद्योग व्यवसायहरु सञ्चालनमा नरहेका होइनन् । ती उद्योगहरु राज्य मातहत नै सञ्चालनमा थिए । तर अहिले ती सबैजसो उद्योगहरु ध्वस्त भएका छन् । यदि विगतका सञ्चालनमा रहेका ती उद्योगहरुलाई पुनः सञ्चालन गर्न र लाभ लिन सकिने अवस्था रहे रुग्ण अवस्थाका ती उद्योगहरु पुनः सञ्चालन गर्नु जरुरी रहन्छ । त्यो सम्भव नभए अहिले सम्भव हुने उद्योग स्थापना तर्फ राज्यको ध्यान केन्द्रित हुनुपर्छ । विगतको तुलनामा अहिले परिस्थिति बदलिएको छ । हाम्रा चाहनाहरु बदलिएका छन् । उपलब्ध स्रोतसाधनहरु र काम गर्ने तौरतरिकाहरु बदलिएका छन् । यस्तो अवस्थामा अहिलेको परिस्थिति बमोजिम उपयुक्त हुने किसिमका नयाँ प्रविधिमा आधारित उद्योगहरु पहिचान गरी सोही बमोजिम सञ्चालनको वातावरण मिलाउनु जरुरी देखिएको छ ।
आत्मनिर्भर बन्नैपर्छः
राज्यको ध्यान अब मुलुकलाई कसरी आत्मनिर्भरताको बाटोमा अघी बढाउने भन्ने तर्फ केन्द्रित हुनु जरुरी छ । भारतसँग सम्बन्ध बिगारेर हाम्रो अवस्था सुधार हुन सक्दैन । यसकारण भारतसँग हामीले असल छिमेकीको सम्बन्ध कायम राख्दै हाम्रा क्रियाशिल युवाहरुलाई विकास कार्यमा संलग्न गराउँदै हाम्रो अवस्था माथि उठाउनु जरुरी छ । हाम्रा कति युवामा कस्तो क्षमता छ भन्ने पहिचान गरी उनीहरुको दक्षतालाई नै नयाँ पुँजीको रुपमा परिचालन गर्दै हाम्र्रो विकास कार्यमा लगाउनसके मात्र हामी दिगो रुपमा बलियो बन्न सक्छौं । आत्मनिर्भर बन्न सक्छौं । सोहीकारण अहिलेको यस विश्वव्यापी कोरोना सङ्कटलाई नयाँ अवसरको रुपमा पनि लिँदै विकास कार्यमा अघी बढौं । चिन्ता गरेर अथवा सदैव निष्क्रिय भएर हाम्रो अवस्था सुधार हुन सक्दैन ।
आत्मनिर्भर बन्न नसक्दाको परिणामः
नेपालमा कोरोना सङ्कट आउनुपूर्व सम्म विदेशबाट रेमिट्यान्स बापत पठाएको रकम नै राज्य सञ्चालनको ठूलो आधार स्तम्भको रुपमा रहँदै आएको थियो । अहिले सम्म अधिकांश नेपालीहरु श्रमको लागि वैदेशिक रोजगारमा नै निर्भर थिए । नेपालका सम्पन्न वर्गका व्यक्तिहरु दशौं लाख रकम कन्सल्टेन्सीलाई बुझाएर अध्ययन तथा रोजगारीको लागि आर्थिक रुपमा अगाडि रहेका अमेरिका, क्यानडा, अष्टे«लिया लगायतमा पुगेका थिए । मध्यमवर्गीय व्यक्तिहरु केही लाख रकम जोहो गरेर रोजगारीको लागि खाडी मुलुकहरुमा थिए र छन् । अति कमजोर अवस्थाका अधिकांश व्यक्तिहरु बिना लगानी रोजगारीको लागि भारतीय भूमिमा छन् । कोरोना सङ्कट शुरु भएपश्चात् अहिले नेपालमा विभिन्न देशहरुबाट मानिसहरु फिर्ता आइरहेका छन् । कोरोना सङ्कट सँगै रेमिट्यान्स रोकिने अवस्था छ । जसले गर्दा राज्य आत्मनिर्भर बन्नैपर्ने अवस्था समेत सृजना भएको छ ।
लकडाउनको ठूलो मारमा कमजोर अवस्थामा श्रमिक वर्गः
सबै नेपालीहरुको आर्थिक अवस्था एकै किसिमको छैन । एउटा वर्गका नेपालीहरु दैनिक श्रममा निर्भर रहनुपर्ने किसिमका छन् । यसैगरी किसिमका व्यक्तिहरु पनि १ हप्ता, १५ दिन हुँदै बढीमा ३ महिना सम्म चल्न सक्ने अवस्थाका हुन सक्छन् । तर नेपालमा लकडाउन भएको ३ महिना नाघिसकेको छ । यस्तो अवस्थामा अबका दिनमा हाम्रो अवस्था निकै नै भयावह हुने देखिएको छ । अहिले नेपालमा सञ्चालनमा रहेका कार्यालयहरु आफ्नो सवारीसाधन भएका माथिल्लो हैसियतका मानिने व्यक्तिहरुले मात्रै सञ्चालन गरेका छन् । तर अझै पनि लकडाउनको बढी मारमा त्यही वर्ग छ, जसलाई दैनिक रुपमा काम नगरी खान पुग्ने अवस्था नै छैन । यस्तो अवस्थामा उनीहरुको दैनिकी गुजारा कसरी चलिरहेको होला भन्ने कुरा निकै चिन्तापूर्ण हुने देखिएको छ ।
आगामी दिनमा आउन सक्ने थप चुनौतीहरुः
परिवार नै पाल्न नसक्ने गरी स्रोतको अभाव हुँदै जाँदा अब आउन सक्ने दीर्घकालिन असर भनेको सामाजिक विकृति र विसङ्गतिमा हुने वृद्धि पनि एउटा हुन सक्ने मैले देखेको छु । यस अन्तरगत चोरी, डकैटी, लुटपाट, बलात्कार, हत्या, हिंसा, झै–झगडा, कुलत एवं दुव्र्यसनी लगायत हुन सक्छन् । यसले हाम्रो सिङ्गो समाजलाई नै तहसनहस बनाउन सक्छ । आपसमा अहिले सम्म मिलेर बसेको समाजमा कलह सिर्जना हुन सक्छ । यसले निकै नै नराम्रो दीर्घकालिन असर सृजना गर्न सक्छ । यसलाई व्यवस्थापन गर्ने सबैभन्दा राम्रो उपाय भनेकै युवाहरुको व्यवस्थापन र रोजगारी सृजनामा तत्काल नै विशेष कदम चाल्नु हुन सक्छ । युवाहरुलाई सीप बमोजिम कामको अवसर सृजना गर्न सकेमात्र यो समस्या समाधान हुन सक्नेछ । तर परम्परागत र निर्वाहमुखी कृषि प्रणालीलाई अपनाउँदै आएको नेपालमा युवा व्यवस्थापन र रोजगारी सृजनामा अन्य विशेष कदम समेत नचालिए यसले विकराल समस्या समस्या सृजनाा गर्न सक्छ ।
विकास कार्यमा ठूला आयोजना पहिचान गरौंः
नेपालमा मेलम्ची खानेपानी जस्ता ठूलो क्षमताका र दिगो महत्वका विकास कार्यहरु अहिले सम्म पनि अघी बढ्नै सकेका छैनन् । युरोपियन मुलुकहरुमा यस्ता ठूला–ठूला संरचनाहरु पहिले नै निर्माण भइसकेका छन् । जसले गर्दा उनीहरुको अवस्था समृद्ध बनाउन त्यसले निकै ठूलो सहयोग पुर्याएको छ । राजनीतिक नेतृत्व राष्ट्र प्रति इमान्दार रही विकास कार्यमा समर्पित हुनसके मात्र विकास कार्यले पनि राम्रो गति पाउन सक्छ । यो हाम्रो अहिलेको आवश्यकता हो । यसबाट ठूलो परिमाणमा रोजगारी समेत सृजना गर्न सकिने अवस्था रहन सक्छ ।
यसको लागि प्रशासनिक सुधार एवं भ्रष्टाचार न्यूनीकरण पनि निकै जरुरी रहन्छ । अब हाम्रो मुलुकलाई औद्योगिकीकरणको दिशामा अघी बढाउनु जरुरी छ । तर नेपाली परिवेशमा नेतृत्व वर्ग ठीक उल्टो दिशामा हिँडिरहेको हामीले महसुस गरेका छौं । नेताहरुले बिना तयारी निर्णय गरेकै कारण हरेक निर्णय सँगै कार्यान्वयन जटिल हुँदो रहेछ भन्ने कुरा त भर्खरै नक्सा पास गरिएपश्चात् मात्र विज्ञ कमिटी बनाएको घटनाले पनि पुष्टि गर्छ ।
अन्त्यमा,
वैदेशिक रोजगारीबाट नेपाल फर्किएका युवाहरुलाई नेपालमा दीर्घकालिन रुपमा टिक्न र सकारात्मक गतिविधिमा संलग्न गराई उद्यमशिल बनाउन सोही बमोजिमको वातावरण तयार गर्ने कार्यको मुख्य दायित्व अब नेपाल सरकारले नै वहन गर्नुपर्ने जरुरी छ । कस्ता कार्यहरुमा कसरी युवाहरुलाई परिचालन गर्ने भन्ने सम्बन्धमा ठोस नीति सहित कार्यविधि अघी बढाउन नसके हाम्रा आगामी दिनहरु निकै नै कष्टकर हुने निश्चित छ । अहिले भारतमा कार्यरत नेपालीहरु स्वदेश फर्किइरहेका छन् । अन्य देशबाट पनि नेपाल भित्रिने क्रम शुरु भएको छ । उनीहरुलाई नेपाल भित्रिने अवस्थामा नै कुन क्षेत्रका काम गरेका थिए । कस्तो सीप सिकेका छन् ? उनीहरु नेपालमा के गर्न चाहन्छन् ? भन्ने सम्बन्धमा तथ्यांक सङ्कलन गरी राज्यले सोही बमोजिम भावी योजनाहरु तयार गर्नुपर्ने आवश्यकता देखिएको छ ।
तराई क्षेत्रका अधिकांश मानिसहरु सीपमूलक काममा भन्दा पनि श्रमिकको रुपमा नै विदेशिएका छन् (करिब ८० प्रतिशत) । उनीहरु नेपालमा पनि श्रम गर्न तयार हुन्छन् । अबका दिनमा विकास कार्यहरु अघी बढाउँदा हाम्रा क्षेत्रगत समस्याहरु पहिचान गर्दै त्यस्ता योजना तथा विकास कार्यमा हाम्रा जनशक्तिलाई प्रयोगमा लगाउनु जरुरी हुन सक्छ ।
इन्जिनियरिङ परामर्श व्यवसायमा संलग्न ई. रविभूषण झाले मुलुकको सामाजिक आर्थिक र राजनीतिक परिस्थितिलाई नजिकबाट अध्ययन गर्दै आउनुभएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij