लकडाउनको कारण मदिरा व्यवसायीहरु समस्यामा परेको भन्दै मदिरा व्यवसायीहरुले यथाशिघ्र छिटो मदिरा पसलहरु सञ्चालन गर्ने वातावरण मिलाउनको लागि नेपाल सरकारलाई आग्रह गरेका छन् ।
राज्यले वैध तवरले सञ्चालन हुँदै आएका मदिरा पसल सञ्चालनको वातावरण नमिलाउँदा यसबाट विभिन्न रुपले राज्य र व्यवसायी दुवैलाई नोक्सानी पुगेको निष्कर्षमा मदिरा व्यवसायीहरु छन् ।
लकडाउनको कारण व्यवसाय बन्द हुँदा यसबाट राज्यलाई ठूलो राजस्व गुमेको साथै बजारमा अवैधानिक तवरले घरेलु मदिरा उत्पादनलाई प्रोत्साहन मिलेको कुरा नेपाल मदिरा व्यवसायी महासंघले एक विज्ञप्ति मार्फत बताएको छ ।
महासंघका अध्यक्ष सोनाम शेर्पा र महासचिव तारानाथ ढुंगानाले जारी गरेको विज्ञप्तिमा कुल राजस्वको २२ प्रतिशत राजस्व असुल गर्ने व्यवसायको रुपमा मदिरा व्यवसाय रहेको उल्लेख गर्दै यस व्यवसायमा राज्यको सुरक्षा र संरक्षण आवश्यक रहेको कुरा उल्लेख छ ।
सेतोघर डट कमसँगको छोटो कुराकानीको क्रममा महासचिव तारानाथ ढुंगानाले यस व्यवसायलाई पनि अन्य व्यवसाय जसरी सुरक्षित तवरले निर्वाध रुपमा सञ्चालन हुन सक्ने वातावरण मिलाउनुपर्ने बताउनुभयो ।
व्यवसायमा परेको मर्कालाई विचार गर्दै महासंघले बैंक, विद्युत, विमा प्रिमियम लगायतको माध्यमबाट सहुलियत दिन समेत आग्रह गरेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij