२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

नेपालमा जिपिएस ट्रयाकिङ सिष्टम, कस्ताे छ बजार, के छन् चुनाैती ?

नेपालमा जिपिएस ट्रयाकिङ सिष्टम, कस्ताे छ बजार, के छन् चुनाैती ?

आतिष गैह्रे, सिइओ, टेलिमेटिक्स टेक प्रा.लि

नेपालमा जिपिएस सिष्टमबाट सवारीसाधनको ट्रयाकिङ गर्ने कार्यमा संलग्न रहँदै आएको कम्पनी हो टेलिमेटिक्स टेक प्रा.लि. । यातायात क्षेत्रमा विभिन्न समस्याहरु रहँदै आएको आफूले जानकारी पाएसँगै ती समस्याहरुलाई समाधान गर्नको लागि आफ्नो तवरबाट कुनै पहल गर्न सकिन्छ कि भन्ने बारे विचार गर्दा जिपिएस ट्रयाकिङ उपयुक्त समाधान हुन सक्ने मान्यता सहित आफूहरुले यस क्षेत्रमा हात हालेको कम्पनीका सिइओ आतिष गैह्रे बताउँछन् । शुरुमा यातायात क्षेत्रबाट प्रभावित भई प्रविधिमा आधारित जिपिएस ट्रयाकिङ सिष्टममा काम गरेका गैह्रेले पछि विभिन्न क्षेत्रमा यस प्रविधिलाई प्रयोग गर्न सकिने जानकारी पाए । यससँगै जिपिएस प्रविधिको थप अध्ययन र प्रविधिको प्रयोगलाई जोड दिने क्रममा टेलिमेटिक्स टेक प्रा.लि. जन्मिएको हो । हाल यस कम्पनीले जिपिएस प्रविधिको प्रयोग गरी सवारीसाधनको ट्रयाक सेवा उपलब्ध गराउँदै आएको छ । जुन जियोमेटको नाममा प्रचलित छ ।

जिपिएस प्रविधिमा गैह्रेको अनुभव 
प्रविधिको प्रयोगलाई जोड दिँदै आगामी दिनमा राम्रो सम्भावना रहेको क्षेत्रलाई कसरी अघी बढाउने भन्नेबारे एउटा निष्कर्षमा पुगेर व्यवसायमा हाम्फालेका गैह्रेले व्यवसायको दौरानमा छोटो समयमा जुन सफलता हात पारेका छन्, त्यसबाट उनी आफैं दङ्ग छन् । शुरुमा त गैह्रे जिपिएस नेपालको लागि नयाँ प्रयोग भएको कारण यस क्षेत्रमा केही प्रयाश गरी हेर्ने मान्यताले नै प्रवेश गरेका हुन् ।

को हुन् आतिष गैह्रे ?
स्याङ्जा जिल्लामा जन्मिएका आतिष गैह्रे सिए पढ्दापढ्दै त्यसबाट बाहिरिएर व्यावसायिक क्षेत्रमा संलग्न हुने योजना बनाए । प्रविधिमा गैह्रेले सानै देखि नै विशेष चासो राख्थे । सिएको अध्ययनले सिकाएको व्यापार कला र प्रविधि प्रतिको विशेष चासोको फ्युजनबाट जन्मिएको उपलब्धिको रुपमा टेलिमेटिक्स टेक प्रा.लि जन्मिएको भन्न रुचाउँछन् आतिष ।

कस्ता थिए व्यवसायका शुरुका दिन ?
शुरुका दिनमा चीनमा उत्पादन भएका जिपिएस उपकरणहरु नेपालमा भित्र्याएर काम आतिषले काम शुरु गरेका हुन् । पछि ती उपकरणमा नै आफूहरुको कल्पनालाई समेत मिसाउँदा साँच्चै नेपाली जनताको चाहना बमोजिमको प्रविधि विकास भयो । यस कम्पनीका सेवालाई बढी प्रभावकारी र व्यावसायिक बनाउने कार्यमा व्यापकता ल्याउन प्रविधिको क्षेत्रमा क्रियाशिल व्यक्तिहरुलाई पनि कम्पनीले साथमा लिएर काम अघी बढायो । अनिश्चित यात्राबाट अघी बढेका आतिषका शुरुका दिन भित्र अदृश्य रुपमा अकल्पनीय उपलब्धि लुकेको महसुस अहिले गरिरहेका छन् आतिष । अहिले यस कम्पनीले नेपालका विभिन्न ठाऊँहरुमा शाखा र डिलर समेत विस्तार गर्न सफल भएको छ ।

यातायात क्षेत्रका जिपिएसको प्रयोग 
अहिले टेलिमेटिक्स टेकले करिब ८ सय गाडीहरुमा जिपिएस ट्रयाक गरिरहेको छ । यद्यपि सबैभन्दा पहिले जिपिएस ट्रयाक सम्बन्धी काम गर्न प्रभावित पार्ने यातायात क्षेत्रमा भने जुन अपेक्षा गरिएको थियो, त्यस बमोजिम यस प्रविधिको प्रयोग हुन सकेको छैन । नेपालमा साधारण मानिसको लागि अहिले पनि सवारीसाधन निकै नै महँगो रहेको र यातायात क्षेत्रमा काम गर्नको लागि राम्रो ज्ञान हासिल गरेका प्रोफेसनल जनशक्तिको कमी रहनु लगायतका कारण यस प्रविधिको प्रयोग बढ्न नसकेको हो । नेपाल सरकार मातहतका यातायातमा समेत जिपिएस सिष्टम राख्ने व्यवस्था हुनसके यसको प्रयोग बढाउन सकिन्छ । यातायात क्षेत्रका ठूला समस्याहरु सडकको अवस्था र भौगोलिक अवस्थाको कारणले सृजना भएका समस्याहरु छन् । यसको अलावा प्रतिदिन गाडीबाट कति रकम कमाई हुन्छ भन्ने कुरा गाडी मालिकले नै जानकारी पाउन सक्ने अवस्था अहिले सम्म छैन ।

अहिले सम्म आइपुग्दा यो प्रविधि सबैभन्दा बढी निर्माण क्षेत्र सम्बन्धी कार्यमा संलग्न गाडीहरुमा बढी प्रयोग भइरहेको छ । जसअन्तरगत ट्रिपर, स्काभेटर लगायत छन् । पछिल्ला बर्षहरुमा निर्माण कार्य बढेसँगै ट्रिपरको समेत कारोवार बढेको हुनाले यस्ता साधनमा यसको प्रयोग बढी भएको हुन सक्छ । यसको अलावा ट्राभल एजेन्सीहरुले पनि अहिले यो प्रविधिको प्रयोग गरिरहेका छन् । खासगरी नयाँ सवारी किन्ने व्यक्ति यस प्रविधि प्रति बढी जागरुक भएको पाइएको छ ।

अबको सम्भावना 
निर्माण क्षेत्रमा जिपिएस ट्रयाकिङ सिष्टमको भूमिका निकै महत्वपूर्ण रहन्छ । ट्रिपरबाट बालुवा झार्ने क्रममा हुन सक्ने कमजोरी एवं सही ठाउँको जानकारी हुन नसक्दा आउन सक्ने समस्या लगायतमा यस प्रविधिले उपयुक्त समाधान दिन सक्छ । पछिल्लो समय विद्यालयहरुमा पनि जिपिएस प्रयोग बढ्दो छ । नेपाल सरकारले अघी बढाएको नेपाल भ्रमण बर्षलाई प्रभावकारी बनाई सुरक्षात्मक वातावरण सृजना गर्नको लागि पर्यटन क्षेत्रमा पनि जिपिएसको प्रयोग बढाउनमा जोड दिनु आवश्यक छ ।

जिपिएसमा प्रयोग भएका अहिलेका उपकरणहरु 
हाल यस कम्पनीले जिपिएस ट्रयाकर सिष्टम, भेइकल सेन्सर सिष्टमहरु जस्ता उपकरण प्रयोगलाई जोड दिइरहेको छ । यी सिष्टमहरु यस कम्पनीले आफ्नै डिजाइन बमोजिम चीनबाट निर्माण गरिएको छ । यद्यपि आवश्यक प्रविधि भने आफैंले विकास गरिएको छ । सर्भर, सफ्टवेयरहरु भने यस डिभाइसमा नेपालमा नै इन्स्टल गरिन्छ ।

राज्यको भूमिका कस्तो हुनुपर्छ 
यातायात व्यवस्था विभागले यस क्षेत्रलाई चासो लिएको जस्तो त देखिएको छ । यद्यपि अहिले सम्म नेपाल सरकारले सरकारी गाडीमा समेत जिपिएस लगाएको छैन । यसले सरकार यस क्षेत्रमा प्रतिवद्ध भएर काम गरेको हामीले अनुभव गरेका छैनौं । अब सरकारी गाडी, कर्मचारीका गाडी, प्रहरी, प्रोजेक्ट लगायतका गाडी ट्रयाकिङ गर्नु जरुरी छ । यसबाट निजी क्षेत्र समेत यस प्रविधिको प्रयोगमा थप जागरुक बन्न सक्छन् ।

पर्यटक वस, गाडी र ट्याक्सीमा अब जिपिएस ट्रयाक सिष्टम अनिवार्य गरिनु जरुरी छ । यस्तो व्यवस्था भारतमा पनि छ । सम्भावित दुर्घटना घटाउन यस प्रविधिले निकै नै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । साथै पर्यटक गाडीहरुमा विश्वभर नै ट्रयाकिङ गर्ने प्रचलन छ । पर्यटकीय गाडीहरुमा एसओएस बटन सहितको जिपिएस ट्रयाकिङ डिभाइस नितान्त आवश्यक देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij