न्युयोर्क– अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टका संस्थापक बिल गेट्सले कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास गर्न लगानी गर्ने जनाएका छन्। अमेरिकाबाट प्रकाशित हुने टाइम म्याग्जिनसँग कुराकानी गर्दै अर्बपति व्यापारी गेट्सले कोरोना भाइरसविरुद्धको खोप छिटोभन्दा छिटो विकास गरी प्रयोगयोग्य बनोस् भन्नका लागि आफू लगानी गर्न तयार रहेको बताएका हुन्।
सम्बन्धित निकायबाट प्रमाणीकरण हुनुअघिका प्रक्रियाका लागि पनि लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका उनले कोरोना भाइरसलाई आफ्नो जीवनको ‘डरलाग्दो सपना’सँग तुलना गरेका छन्।
अन्तर्वार्ताका क्रममा उनले भने‚ ‘कोरोना नियन्त्रणका लागि करोडौंको संख्यामा भ्याक्सिन विकास गर्नका लागि चाहिने फ्याक्ट्रीको निर्माण गर्नुपर्ने हुन्छ‚ ताकी विश्वभरी नै भ्याक्सिन उपलब्ध गराउन सकियोस्।’ भ्याक्सिनको विकासका लागि काम गरिरहेको अक्सफोर्ड युनिभर्सिटीको मातहतमा रहेको एक फर्मास्युटिकल कम्पनीसँग कुरा भइरहेको समेत उनले बताए। कम्पनीद्वारा विकसित भ्याक्सिन मानव परीक्षणको चरणमा प्रवेश गरिसकेको छ।
‘उनीहरू छिट्टै नै उक्त भ्याक्सिन मानिसमा परीक्षण गर्दैछन्। यदि सो परीक्षणको नतिजा राम्रो आयो भने हामी र अन्य दातृ निकायहरूले सो भ्याक्सिन विश्वभर पर्याप्त मात्रामा उपलब्ध हुन सक्ने गरी सक्दो सहयोग गर्नेछौं,’ उनले भनेका छन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij