विराटनगर । प्रदेश १ का भारतसंग सिमाना जोडिएका चार जिल्लाका सीमा क्षेत्रमा थप कडाई गरिएको छ । उदयपुरको त्रियुगा नगरपालिकाको भुल्केमा मस्जिदमा बसिरहेका ११ जना भारतीय सहित एक नेपालीमा कोरोना संक्रमण पुष्टी भए पछि सुनसरी, मोरङ, झापा र इलाम जिल्लाको सीमा नाकामा सुरक्षाकर्मीको परिचालन बढाइएको हो ।

अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफ्नो जनशक्तिलाई सीमा क्षेत्रमा नै केन्द्रित गरेको छ । सीमा क्षेत्रमा ३ हजार ७ सय सशस्त्र प्रहरी र एक हजार एक सय नेपाल प्रहरी परिचालन भएका छन् ।
दशगजामा चोकपोष्ट खडा गरी २४ घण्टा प्रहरी सुरक्षा तैनाथी बढाइएको छ । लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम नरोकिएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको सीमा क्षेत्रमा परिचालन बढाइएको सशस्त्र प्रहरी बल नेपाल प्रदेश १ बाहिनीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) नगेन्द्र थापाले जानकारी दिनुभयो ।
शनिवारदेखि प्रदेशको मुख्य चार जिल्ला इलाम, झापा, मोरङ र सुनसरीमा थप पाँचसय जनशक्ति परिचालन गरिएको पनि उहाँले जानकारी दिनुभयो । हाल ३ हजार ७ सय जना सशस्त्र प्रहरी, १ हजार १ सय १ जना नेपाल प्रहरी परिचालन गरिएको छ ।
कुल २ सय २९ स्थानमा सुरक्षा पोष्ट खडा गरी सुरक्षा तैनाथी बढाएको प्रदेश एक प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिनुभएको छ । सीमा क्षेत्रको सुरक्षा निगरानी र नियन्त्रणका लागि १८ जना प्रहरी निरीक्षकको नेतृत्वमा नेपाल प्रहरी परिचालन गरिएको उहाले बताउनु भयो ।
लकडाउनपछि दशगजा क्षेत्रको १ किलोमिटर दुरीमा सुरक्षापोष्ट शनिवार देखि पाँचसय मिटरको दुरीमा खडा गरिएको छ । अहिले सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको गरी प्रत्येक ५ सय मिटरमा सुरक्षा पोष्ट राखिएको छ ।
भारतको विहार र पश्चिम बंगाल राज्यसंग सीमाना जोडिएको प्रदेश १ का जिल्ला इलाम, झापा मोरङ र सुनसरीको सीमावर्ती क्षेत्रमा कुल ३ सय ८ वटा नयाँ पोस्ट थपिएको छ । ती पोस्टमा सात जनाको दरले सशस्त्र प्रहरी रहने छन् ।
झापाको सीमा क्षेत्रमा सबैभन्दा बढी १ सय १४, सुनसरीमा ६९, मोरङमा ७१ र इलाममा १४ वटा नयाँ पोस्ट थपिएको छ । भारतसँग झापा, मोरङ र सुनसरीको २ सय ७० किलोमिटर र इलामको ५२ किलोमिटर सीमा क्षेत्र रहेको छ । सशस्त्र प्रहरीले दशगजा क्षेत्रमा अहिले चौबिसै घण्टा गाडी, मोटरसाइकल, साइकल र पैदल गस्ती गरिरहेको जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij