२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

कोरोना नियन्त्रणमा सबै पक्ष एकजुट हुनु जरुरी छः उद्यमी विनायक शाह

कोरोना नियन्त्रणमा सबै पक्ष एकजुट हुनु जरुरी छः उद्यमी विनायक शाह

व्यवसायीका समस्याबारे छलफल पछि निष्कर्षमा पुगिने

विनायक शाह-प्रबन्ध निर्देशक, होटल एयरपोर्ट

विश्वमा कसैले पनि सोच्न नसकेको परिस्थिति सृजना भएको छ । कोरोनाका कारण सबैतिर सन्त्रास छाएको छ । अहिले विश्वका अधिकांश मुलुकमा लकडाउन गरिएको छ । नेपाल पनि लकडाउनमा छ । यो लकडाउन लम्बिने अवस्था देखिएको छ । यसको प्रभाव के–कति पर्यो भनेर अहिले नै आँकलन गर्न सकिने अवस्था नरहेको वरिष्ठ उद्यमी तथा होटल एयरपोर्टका प्रबन्ध निर्देशक विनायक शाह बताउनुहुन्छ ।
पर्यटन क्षेत्र नेपालमा रोजगारी उपलब्ध गराउने ठूलो क्षेत्र हो । तर अहिले यस क्षेत्रबाट प्राप्त हुने रोजगारी तत्काल शुन्यमा झरेको छ । यो हाम्रो लागि दुखद हुँदाहुँदै पनि अहिले हामी सबैको ध्यान अहिलेको सङ्कटलाई कसरी सामना गर्ने भन्नेमा केन्द्रित हुनुपर्ने शाहको धारणा छ ।
‘लकडाउन र कोरोना प्रभाव नियन्त्रण पछाडिको परिस्थिति के हुन सक्ला ?’ भन्ने प्रश्नमा शाह भन्नुहुन्छ, ‘अबको परिस्थिति विगतका दिनहरु जस्तो सहज त पक्कै हुँदैन । साथै नेपालमा पर्यटकहरु जुन देशबाट नै आउँथे, ती देशहरुबाट पनि पर्यटक आउने सम्भावना अत्यन्त न्यून देखिन्छ । तैपनि हामी सकारात्मक भाव सहित अघी बढ्नु जरुरी रहन्छ । आशावादी हुनुपर्छ, अब अल्पकालको लागि हामीले आन्तरिक पर्यटन प्रवद्र्धनमा केन्द्रित हुँदै त्यसको लागि प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्नु उपयुक्त हुन सक्छ ।’

अबको विकल्प 
हामीले अपनाउनुपर्ने सतर्कता र अहिलेको परिस्थितिबारे सङ्केत गर्दै उद्यमी शाह भन्नुहुन्छ, ‘अहिले सम्म नेपालमा कोरोना प्रकोपको रुपमा फैलिएको छैन । केही व्यक्ति यसबाट संक्रमित भएपनि उनीहरुको स्वास्थ्य ठीक हुने क्रममा छ । साथै नेपालमा अन्य देशको तुलनामा निकै पछि मात्र कोरोना प्रवेश गरेको छ । संसारभरका विकसित देशहरुमा महामारीको रुपमा फैलिएको कोरोनाबारे हामीले धेरै जानकारी हासिल गर्न पाएका हुनाले कम्तिमा पनि सचेत र सतर्क रहने अवसर पाएका छौं । जुन आफैंमा खुसीको कुरा हो ।
यसको अलावा हाम्रो संस्कार, चालचलन, खानपिन, हावापानी, प्राकृतिक वातावरण र हाम्रो रहनसहनले पनि हामीलाई कोरोना विरुद्ध लड्न विशेष सहयोग गर्न सक्ने अपेक्षा गर्न सकिन्छ । हामीले स्वागतसत्कारको लागि हात जोडेर गरिने नमस्कार पद्धति अपनाउँदै आएका छौं । जुन अहिले विश्वभर प्रयोग हुने अवस्था सृजना भएको छ । हामीले यसमा पनि गर्व गर्नुपर्छ । त्यो अर्को पाटो रह्यो, तत्कालको लागि हामीले सावधानी अपनाउनु नै हाम्रो लागि उपयुक्त विकल्प हुन सक्छ ।’

अबका सम्भावना
शाह भन्नुहुन्छ, ‘हरेक जटिल परिस्थिति पश्चात् केही आशाका किरण पनि सँगसँगै देखिँदै आएका छन् । यद्यपि अहिलेको प्रभाव विश्वभर परेको र नयाँ जोखिमता समेत थपिँदै जान सक्ने अवस्था देखिएको कारण तत्काल नै अबको परिस्थिति के हुने हो भन्न नसकिएला । अहिले हामीले छोटो समयमा नै निर्णय लिनुपर्ने र तत्कालै परिस्थिति बदलिने अवस्थामा परिस्थिति साम्य नभई दिगो प्रभाव आँकलन गर्न सकिने अवस्था नरहन सक्छ ।’

अहिले विश्वभर नमस्कारलाई स्वागतसत्कारको रुपमा अपनाउन शुरु गरेको प्रशङ्गलाई सङ्केत गर्दै शाहले भन्नुभयो, ‘अबका दिनमा हामीले विगत देखि हामीसँग रहेका तर खासै प्रयोगमा नल्याएका स्वागतसत्कारमा प्रयोग हुने थुप्रै विधिहरुलाई समेत प्रयोगमा ल्याई ती विधिलाई विश्व समुदायमा प्रवद्र्धन गर्ने अवसर पनि सृजना हुन सक्ने देखिएको छ । तत्कालको लागि भने जतिसक्दो छिटो अहिलेको समस्या नियन्त्रणमा आउन सकोस् । हामी सबैको यही कामना हुनुपर्छ ।’

अबको परिस्थिति बारे सरकारसँग छलफल हुँदै
‘अहिलेको अप्ठ्यारो परिस्थितिले नेपालका निजी व्यवसायीहरु पनि निकै समस्यामा छौं । यस बारेमा हामीले सरकारसँग सरसल्लाह गरिरहेका छौं । तैपनि परिस्थितिको जटिलताले गर्दा ठोस निष्कर्षमा पुग्न सकिएको छैन । सरकार र निजी क्षेत्र टेलिफोनबाट मात्र कुरा गर्नुपर्ने अवस्था छ । यसको साथै अहिले हामी सबैको दायित्व नेपाली जनतालाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने नै हो । यसको अलावा कसरी संक्रमणलाई जति सक्दो छिटो नियन्त्रणमा लिन सकिन्छ त्यसैमा नै हामी सबैको कल्याण हुनेछ’ शाहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij