काठमाडौं। बैंकर्स संघले गरेको भद्र सहमतिअनुसार बुधबारबाट सबै वाणिज्य बैंकहरुले निक्षेपको ब्याज दर घटाएका छन्। पत्रिकामा सार्वजनिक सूचना जारी गरेर बैंकहरुले निक्षेपको ब्याज दर घटाएका हुन्। बैंकहरुले मुद्दति, बचत र कल डिपोजिटको ब्याज दर एकदेखि डेढ प्रतिशत विन्दुसम्मले घटाएका छन्। बैंकहरुले डेढ वर्ष पुरानो भद्र सहमति पुनरावलोकन गर्दै ब्याज दर झारेका हुन्। अब ऋणको ब्याज दर पनि घट्ने छ।
सहमतिअनुसार बैंकहरुले एक वर्षे ब्यक्तिगत मुद्दतिको ब्याज दर एक प्रतिशत विन्दुले झारेर ८.७५ प्रतिशत कायम गरेका छन्। संस्थागत निक्षेपकर्ताको ब्याज दर डेढ प्रतिशत विन्दुले घटाएका छन्। ९.५ प्रतिशतसम्म ब्याज दिँदै आएका बैंकले संस्थागतलाई ८ प्रतिशत ब्याज दिनेछन्। नवीकरण गर्ने निक्षेपको ब्याज दर ८.१ प्रतिशत हुनेछ। बचत खाताको ब्याज दर पनि बुधबारदेखि घटाएका छन्। बैंकले साढे ६ प्रतिशतसम्म दिँदै आएको बचतको ब्याज दर ५.५ प्रतिशतमा झारेका हुन्। यो अधिकतम ब्याज हो। केही बैंकले ५ प्रतिशत अधिकतम ब्याज तोकेका छन्।
‘अर्थतन्त्रलाई अहिले सस्तो पैसा चाहिएको छ। ऋणको ब्याज घटाउनका लागि निक्षेपको तल झार्नु आवश्यक थियो,’ संघका पूर्वअध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बिजमाण्डूसँग भने, ‘त्यही भएर अर्को सहमति गरिएको हो।’
निक्षेपको ब्याज दर डेढ प्रतिशत विन्दुसम्मले घटेपछि आधार दर पनि घट्ने छ। आधार दर घटेपछि स्वचालित रूपमा ऋणको ब्याज दर पनि घट्ने छ। बैंकहरुले आधार दरमा लिने अधिकतम प्रिमियम दर पनि एक प्रतिशत विन्दुले घटाएका छन्। यसको कार्यान्वयन भने जेठ १ गतेबाट हुनेछ।
‘अब ब्याज दर ०.५ देखि ०.७५ प्रतिशत विन्दुसम्मले घट्नेछ,’ संघका अध्यक्ष भुवन दाहालले भने, ‘अब बैंकहरुले जेठमै आधार दर सार्वजनिक गर्नेछन्। यसो हुँदा जेठ १ गतेबाटै ऋणीको ब्याज दर घट्नेछ।’
आधार दर तीन-तीन महिनामा प्रकाशित गर्ने ब्यवस्था छ। यसो हुँदा साउन १ गते मात्र नयाँ आधार दर प्रकाशित हुन्थ्यो। बैंकहरुले चाँडै नै ऋणको ब्याज कम होस् भनेर जेठ १ गते नै नयाँ दर सार्वजनिक गर्ने दाहालले जानकारी दिए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij