तारकेश्वर नगर प्याब्सन कार्यसमितिको आयोजनामा आज एक औपचारिक कार्यक्रम बीच नवनिर्वाचित प्याब्सनका केन्द्रीय अध्यक्ष टीका पुरीलाई सम्मान तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरिएको छ ।
अभिनन्दन पश्चात् उक्त कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष पुरीले प्याब्सन नेतृत्व तहमा आफुलाई माथि उठाउन तारकेश्वर प्याब्सनको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । साथै ऊहाँले तारकेश्वर नगर प्याब्सनलाई विशेष आभार समेत प्रकट गर्नुभएको छ ।
कार्यक्रममा बोल्ने क्रममा ऊहाँले अहिले संघीय संरचना बमोजिम ४ संरचनामा प्याब्सन रहेको अवस्था बारे बताउँदै आफू निजी विद्यालय बचाउ अभियानको प्रतिवद्धता सहित निर्वाचन प्रक्रियामा अघी बढेको र ती प्रतिवद्धता पूरा गर्न लागिपर्ने समेत बताउनुभएको छ ।
अहिलेको समयमा निजी विद्यालय सञ्चालकहरु पीडामा रहेको र आफू निजी विद्यालय सञ्चालकहरुका पक्षमा निरन्तर गतिविधिहरु अघी बढाउने र निजी शिक्षा प्रदायकका मुद्धालाई किनारा लगाएरै छोड्ने समेत ऊहाँले बताउनुभएको छ । यस कार्यमा निजी विद्यालय सञ्चालकहरुको आफूलाई साथ आवश्यक रहेको समेत अध्यक्ष टीका पुरीले बताउनुभयो ।
पछिल्लो समय योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम निजी विद्यालयहरुको लागि चुनौतीको विषय बनेको बताउँदै यसलाई कसरी उपयुक्त विकल्प दिन सकिन्छ भन्ने सम्बन्धमा श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट, अर्थमन्त्री युवराज खतिवडा लगायत सँग छलफल गरी उपयुक्त तवरले अघी बढ्ने समेत बताउनुभएको छ ।
कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक, प्रकाशनगृहका प्रतिनिधिहरु, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।
सोही कार्यक्रमको अवसर पारेर नेतृत्व विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम समेत सम्पन्न गरिएको छ । उक्त नेतृत्व विकास कार्यक्रमका प्रशिक्षक नर बहादुर कार्की हुनुहुन्थ्यो । कार्कीले व्यक्तित्व र नेतृत्व विकास कार्यक्रमलाई व्याहारिकतामा जोड्नसके मात्र प्रभावकारी बन्ने बताउँदै निकै उल्लासमय तवरले आफ्नो प्रस्तुति सम्पन्न गर्नुभयो ।
आजको कार्यक्रममा लोकेन्द्र बहादुर खड्का, थकिन कुमार गुरुङ, दिनेश अधिकारी लगायतका वक्ताहरुले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बोल्दै थकिन कुमार गुरुङले सरकारले निजी विद्यालयलाई छात्रवृत्ति उपलब्ध गराउन दबाब दिनेमात्र नभई सरकारले सब्सिडी समेत उपलब्ध गराउनुपर्ने बताउनुभयो । साथै अबको शिक्षण प्रणाली स्मार्ट टिचिङ कन्सेप्ट अनुसार अघी बढाउनुुपर्नेमा समेत ऊहाँले जोड दिनुभयो ।
कार्यक्रममा हिमरश्मी स्कुलका प्रिन्सिपल लोकेन्द्र बहादुर खड्काले निजी लगानीलाई अवसरको रुपमा लिनुपर्ने र निजी लगानी सुरक्षित हुनुपर्ने लगायतमा आफ्ना धारणा राख्नुभयो ।
उक्त कार्यक्रमका सभापति प्याब्सन तारकेश्वर नगर कार्यसमितिका अध्यक्ष धन बहादुर पुन हुनुहुन्थ्यो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij