२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

नाकाबाट बाह्र करोडको सामाग्री बरामद

नाकाबाट बाह्र करोडको सामाग्री बरामद

काठमाडौँ — नेपाल प्रहरीले भन्सार छलेर नेपाल ल्याउँदै गरेको रु ११ करोड ९५ लाख ५२ हजार बराबरको सामग्री बरामद गरेको छ । प्रहरीले वैशाखदेखि साउनसम्मको अवधिमा विभिन्न भन्सार नाकाबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको उक्त सामग्री बरामद गरेको हो । प्रहरीले विभिन्न शीर्षकमा रु ३८ करोड ९७ लाख ११ हजार राजश्व सङ्कलन गरेको छ । गत वर्ष वैशाखदेखि साउनसम्मको अवधिमा रु ३१ करोड ८९ लाख सात हजार राजश्व सङ्कलन भएको प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए । 

सो अवधिमा ६ लाख ११ हजार ३०६ सवारीसाधनका धनी र चालकलाई कारबाही गरिएको छ । गत वर्षको चार महिनामा पाँच लाख २६ हजार ६६४ सवारीसाधनका धनी तथा चालकलाई कारबाही गरिएको थियो । प्रहरीले चार महिनामा एक हजार ९१९ किलो गाँजा बरामद गरेको छ । गत वर्ष सो अवधिमा ७०६ किलो गाँजा बरामद गरेको थियो । यस्तै चरेश ३४० किलो, हिरोइन दुई किलो र अफिम ११ किलो बरामद गरेको छ ।

प्रहरीले विभिन्न प्रकारका अवैध हातहतियार १०३ थान र गोली १६९ थान बरामद गरेको छ । गत वर्षको चार महिनामा हातहतियार ७५ थान र गोली ८६ थान बरामद गरिएको थियो । प्रहरी प्रवक्ता क्षेत्री गत वर्षको तुलनामा यस वर्ष आपराधिक गतिविधि बढेको बताउँछन् ।

-रासस

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij