
जुम्लामा डा. गोविन्द केसीको अनसन स्थल बाहिर भएको झडपमा प्रहरीको गोली लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ। जुम्ला स्थिति पत्रकार प्रकाश उपाध्यायले जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी तपन दाहालको भनाइलाई उद्धृत गर्दै प्रहरी जवान उपाध्यायको मृत्यु भएको जानकारी दिए।
यता कर्णाली प्रदेशका प्रमुख डिआईजी सुरेशविक्रम शाहले भने घाइते जवान खतरामुक्त रहेको दाबी गरेका छन्। उनले घाइते जनाव उपाध्यायको छातीमा गोली नभई शिसा लागेको बताए।
अनसनरत डा. केसीलाई काठमाडौँ ल्याउन सरकारको टोली जुम्ला पुगेपछि स्थानीयले गरेको प्रदर्शनका क्रममा भएको झडपमा जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत प्रहरी जवान कमल उपाध्याय घाइते बनेका थिए। उनको छातीमा गोली लागेको बताइएको छ।
प्रहरीले अन्धधुन्ध लाठी चार्ज गर्दा र गोली चलाउँदा प्रहरीलाई नै लाग्न पुगेको प्रत्यक्षदर्शीले बताएका छन्। घाइते उपाध्यायको जिल्ला अस्पताल जुम्लामा उपचारका क्रममा मृत्यु भएको हो।
यसैबीच जुम्लास्थित जिल्ला प्रशासन कार्यालयले अनसनरत डा. गोविन्द केसीलाई १० मिनेट भित्रमा अस्पतालबाट बाहिर निस्कने समयसीमा दिएको छ। उक्त समयमा बाहिर ननिस्के बल प्रयोग गरेर अस्पतालबाट बाहिर निकाल्ने चेतावनी दिएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij