बुटवल । देवदह नगरपालिकाले स्थानीय परिवेश र पहिचानका लागि स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक तयार गरी नगरभित्रका विद्यालयमा लागू गरेको छ ।
गौतमबुद्धको मावलीस्थलमा रहेको देवदहमा बौद्ध शिक्षा र देवदह परिचय नामक स्थानीय पाठ्यपुस्तक संस्थागत र सामुदायिक दुवै विद्यालयका कक्षा ६ र ७ मा लागू गरेको हो ।
गतवर्ष ६ कक्षामा मात्र शुरु भएको पाठ्यपुस्तक यसवर्ष नेपाली र अंग्रेजी दुवैमाध्यमबाट अध्यापन शुरु हुने पुस्तक विमोचन कार्यक्रममा देवदह नगरपालिकाका तर्फबाट जानकारी गराइएको छ ।
प्रदेश नं ५ का सामाजिक विकास मन्त्री माननीय सुदर्शन बरालले संघीय ढाँचामा मुलुक अघि बढेपछि स्थानीय सरकारले गर्ने यस्ता प्रयासले हरेक क्षेत्रमा स्वावलम्बी क्षमताको विकास गर्छ भन्ने विश्वास गरे।
उनले बुद्धको मावलीबाट शुरु भएको यो अभियान अब प्रदेशभरी र देशभरीका स्थानीय तहले प्रेरणा लिनसक्ने बताए। उनले स्थानीय पाठ्यक्रम विद्यालयस्तरमा धेरै स्थानमा लागू गर्ने प्रयास भए पनि नगरभरि एकरुपताका साथ नगरपालिकाको स्थानीय उद्देश्य पूरा गर्ने गरी ल्याइएकोमा राम्रो रहेको बताए।
पाठ्यक्रम निर्माण समितिका संयोजक सिद्धिचरण भट्टराईले देवदह नगरपालिका बनेसँगै स्थानीय पाठ्यपुस्तक र पाठ्यक्रमको अवधारणा नगरपरिषद्ले पारित गरेर अगाडि बढेको स्मरण गर्दै २०७६ सालसम्म यो पाठ्यक्रम परीक्षणको रुपमा लागू हुने बताए। त्यसपछि परिमार्जन गरी पूर्ण रुपमा लागू गरिनेछ ।
जिल्ला शिक्षा कार्यालयको स्थानीय पाठ्यक्रम निर्धारण समितिको बैठकबाट गतवर्ष कम्प्युटर शिक्षालाई १०० पूर्णाङ्क बाट ६० मा रुपान्तरण गरी ४० पूर्णाङ्क बौद्ध शिक्षा र देवदह परिचय राख्ने र पाठ्यभार ६० रहने निर्णय भएको कार्यक्रममा जानकारी गराइएको थियो । रासस
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij