नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घन्टा सञ्चालन गर्न रन वे मर्मतका लागि साढे आठ करोड रुपैयाँ विनियोजन गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारको अध्यक्षतामा एक साताअघि बसेको क्यानको बोर्ड बैठकले आठ करोड ५० लाख रुपैयाँ बजेट स्वीकृति गरेको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए।
त्रिभुवन विमानस्थल २१ घन्टा सञ्चालनका लागि रन वे तत्काल सुधार गर्नुपर्ने ठहर गर्दै रकम विनियोजन गरिएको गौतम बताउँछन्। ‘विमानस्थल इन्जिनियरिङ महाशाखालाई ‘रन वे’ को अति संवेदनशील ठाउँको पहिचान गरी त्यस्ता ठाउँको मर्मत तथा सुधार गर्न बोर्ड बैठकले निर्देशन दिएको छ’, महानिर्देशक गौतमले भने, ‘ विमानस्थलको रन वे मर्मतमा रकम अभाव भएको गुनासो आएपछि आवश्यक बजेट विनियोजन गरेका हौं।’
विमानस्थलको बढ्दो ट्राफिक जाम न्यूनीकरण गर्न मन्त्री अधिकारीले २१ घन्टा विमानस्थल सञ्चालन गर्ने घोषणा गरेको थिए।‘ बोर्डले विनियोजन गरेको रकम नियमित भइरहेको मर्मतभन्दा पनि अति संवेदनशील ठाउँको पहिचान गरी सुधारका लागि हो’, गौतमले भने। तर, विमानस्थल इन्जिनियरिङ माहाशाखाले भने २१ घन्टा विमानस्थल सञ्चालन गर्न असहज रहेको बताउँदै आएको छ।
माहाशाखाका अनुसार रन वे मर्मतका लागि अहिले दैनिक राति साढे १ बजेदेखि विहान साढे ५ बजेसम्म काम गर्नुपर्ने अवस्था छ।,यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij