बुटवल । दुई दुई पटक उद्घाटन भएपनि सञ्चालनमा आउन नसकेको भैरहवास्थित मुलुककै पहिलो विशेष आर्थिक क्षेत्र (सेज) अब सञ्चालनमा आउने निश्चित भएको छ । सेजमा उद्योग सञ्चालनका लागि एक दर्जन औद्योगिक प्रतिष्ठानले विशेष आर्थिक क्षेत्र प्राधिकरणसँग सम्झौता गरिसकेका छन् । सम्झौताको एक वर्षभित्र ती उद्योगले उत्पादन गरिसक्नुपर्छ ।
यसअघि ऐन अभाव र विद्युत प्रशारण लाइनका कारण सेजमा उद्योगहरु आएका थिएनन् । सेज संचालनका आवश्यक ऐन गत वर्ष नै संसदबाट पारित भएको हो भने विद्युत आपुर्तिका लागि ३३ केभीए (२० मेगावाट) क्षमताको छुट्टै सव स्टेसन राख्ने गरी नेपाल विद्युत प्राधिकरणसँग प्रकृया अघि बढेपछि सेजमा उद्योगहरु स्थापना छिट्टै शुरु हुने विशेष आर्थिक क्षेत्र भैरहवाका सूचना अधिकृत सुन्दर थापाले जानकारी दिए ।
‘सम्झौता गरेका र्फमहरुमध्ये यसअघि नै दर्ता भएकाहरुले उद्योग स्थापनाको काम अघि बढाउंछन्, दर्ता नभएकाले दर्ता गरिसकेपछि काम थाल्छन्’-सूचना अधिकृत थापाले भने-‘अहिलेसम्म कहिले ऐन त कहिले विद्युतका कारण देखाउंदै उद्योगहरु सम्झौता गर्न आएका थिएनन्,तर अब सबै आवश्यकता पूरा भएको छ,सेज छिट्टै संचालन हुनेमा शंका छैन ।’
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij