लाेकेन्द्र बहादुर खड्का, प्रिन्सिपल, हिम रश्मी स्कुल
नेपालमा शिक्षा क्षेत्रमा लामो समय देखि संलग्न रहँदै आउनुभएका लोकेन्द्र बहादुर खड्का नेपालको शिक्षा क्षेत्रमा केही नीतिगत समस्याहरु रहेको र निजी क्षेत्रले चाहेबमोजिम शिक्षालाई माथि उठाउँदै अघी बढ्न बाधा सृजना भएको बताउनुहुन्छ । सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि हुन नसकेको अवस्थामा निजी क्षेत्रको घाँटी निमोठेरै भएपनि यी दुवै शिक्षाको गुणस्तर एकै किसिमको बनाउने प्रयाश भइरहेको उहाँको दाबी छ ।
उहाँ अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स)का अध्यक्ष पनि हुनुहुन्छ । प्याब्सन काठमाडौंका सहसचिव समेत रहनुभएका उहाँ नेपाल विद्यालय भलिबल कमिसनका केन्द्रीय सचिव समेत हुनुहुन्छ । तारकेश्वरको डाँडागाउँ स्थित गुणस्तरीय शिक्षामा केन्द्रित रहँदै आएको हिम रश्मी स्कुल सञ्चालन गर्दै आउनुभएका ऊहाँ नेपालमा संस्थागत शिक्षामा देखिएका समस्या समाधानको निम्ति आफूहरु पनि सहयोग गर्दै अघी बढ्न तयार रहेको सेतोघर डट कमसँगको अन्तरवार्ताको क्रममा बताउनुभएको छ ।
नेपालमा पछिल्लो समय शिक्षा स्थानीय तह मातहत अघी बढ्दै गरेको परिस्थितिमा यदि कुनै स्थानीय तहले शिक्षामा अलि बढी कडाई गर्ने अवस्था आए नजिकैको अर्को स्थानीय तहमा सञ्चालन हुने विद्यालयमा विद्यार्थी भर्ना गर्न अभिभावक लालायित हुने र विद्यालय र विद्यार्थी अनुपात लगायत अन्य कुरामा समस्या निम्तिने भन्दै प्रिन्सिपल खड्का ‘के अब शिक्षा सुधार्ने नाममा निजी क्षेत्रको गुणस्तर कमजोर बनाउनु आवश्यक छ त ?’ भन्दै राज्य पक्षलाई प्रश्न गर्नुहुन्छ ।
राज्यको नीति समान नभएको दाबी गर्दै खड्का स्थानीय तहमा समेत फरक–फरक नीति बनाएर अघी बढ्ने हो भने ढिलोछिटो विस्फोट हुने सम्भावना पनि रहेको बताउँदै राज्यका नीति प्रति आक्रोश व्यक्त गर्नुहुन्छ । साथै अबका दिनमा शिक्षा नीति समेत लगानीमैत्री हुनुपर्ने कुरामा उहाँको विशेष जोड छ ।
हामीले उनै खड्कासँग नेपालको शिक्षा नीति, शिक्षाको गुणस्तरीयता र यसका मापदण्डहरु, शिक्षामा निजी क्षेत्रको योगदान लगायतका विषयहरुमा रही उहाँसँग कुराकानी गरेका थियौं । प्रस्तुत छ सोही कुराकानी ः
शिक्षा क्षेत्रमा निजी क्षेत्रको योगदान कस्तो छ ?
नेपालमा निजी शिक्षामा करिब २ खर्ब प्रत्यक्ष र ३ खर्ब अप्रत्यक्ष लगानी भएको छ । सबै गर्दा करिब ५ खर्बको लगानी भएको छ । यस क्षेत्रबाट २ लाख रोजगारी सृजना भएको छ । ६ हजार निजी विद्यालयहरु रहेको सरकारी तथ्यांक छ । समग्र शिक्षाको भार मध्ये करिब २० प्रतिशत निजी शिक्षाबाट नै धानिएको छ । करिब १७ लाख विद्यार्थी रहेको रहेको र ७०-८० प्रतिशत नतिजा आएको अवस्था छ । त्यसरी नै सरकारी विद्यालयमा प्रति विद्यार्थी २० हजार लगानी भएको छ । तर त्यसको परिणाम भने निकै कम छ ।
नेपालमा अहिले विभिन्न ऐनहरु बनाएर निजी शिक्षालाई समस्या सृजना गर्ने पहल हुँदैछ । नयाँ दर्ता हुने विद्यालय कम्पनीमा दर्ता हुन नपाउने, कम्पनीमा दर्ता भएका विद्यालयले स्तर वृद्धि गर्न नसक्ने लगायतका व्यवस्था गरी विद्यालय गुठीमा दर्ता हुने व्यवस्था गरेर शिक्षामा निजी क्षेत्रलाई रोक लगाउने प्रयाश हुँदैछ ।
यसको विकल्प वा समाधान के हुन सक्छ ?
यदि सकिन्छ भने निजी क्षेत्रमा भएका विकृति हटाउने र सार्वजनिक शिक्षामा व्यापक सुधार गर्दै भौतिक पूर्वाधार तथा गुणस्तरमा विशेष ध्यान दिनु जरुरी छ ।
नेपालमा शिक्षा क्षेत्र अहिलेको अवस्थामा कस्तो छ ? आगामी दिनमा शिक्षा क्षेत्र कसरी अघी बढ्नुपर्छ ?
नेपालमा शिक्षाको जागरण धेरै पहिले देखि नै आएको हो । राणाकाल देखि नै शिक्षा जरुरी छ भन्ने महसुस भई जङ्ग बहादुर राणाले नेपालमा शिक्षा भित्र्याएका हुन् । वि.सं. १९९० बाट नेपालमा एस.एल.सी वोर्ड स्थापना गरी भारतबाट परीक्षा दिने व्यवस्था गरी व्यवस्था गरियो । त्यस समयमा नेपालमा संस्कृत शिक्षा बढी चलनचल्तीमा थियो । शिक्षा पछि २०२८ हुँदै २०४६ मा पुग्दा निकै गतिको साथ अघी बढ्न सफल भयो । त्यस सँगै नेपालमा शिक्षा क्षेत्र संस्थागत र सामुदायिक गरी २ किसिमले अघी बढ्यो ।
नेपालमा निजी शिक्षामा करिब २ खर्ब प्रत्यक्ष र ३ खर्ब अप्रत्यक्ष लगानी भएको छ । सबै गर्दा करिब ५ खर्बको लगानी भएको छ । यस क्षेत्रबाट २ लाख रोजगारी सृजना भएको छ । ६ हजार निजी विद्यालयहरु रहेको सरकारी तथ्यांक छ ।
निजी शिक्षा थोरै सङ्ख्यामा भएपनि शुरु देखि नै गुणस्तरीय रहँदै गए । तर सामुदायिक विद्यालयहरु संख्यात्मक रुपमा धेरै रहेपनि त्यसको प्रतिफल भने कमजोर देखिन्छ । अहिले पनि यही अवस्था छ । निजी शैक्षिक संस्थाहरु गुणस्तरीय, प्रभावकारी र व्यावहारिक शिक्षामा केन्द्रित रहँदै अहिले अघी बढेका छन् । प्रतिशतको हिसाबले हेर्र्दा निजी शिक्षाको पहुँच करिब २० प्रतिशत नै रहेपनि शिक्षाको महत्वपूर्ण भूमीका निर्वाह गर्ने काममा निजी शिक्षाको योगदान निकै नै महत्वपूर्ण रहेको छ ।
नेपालमा निजी शिक्षा प्रदायक संस्थाहरुले जीवनको निम्ति शिक्षालाई व्यावहारोपयोगी बनाउनुपर्छ भन्ने हिसाबले काम गर्दै आएका छन् । यद्यपि निजी शिक्षाको उत्पादन अहिले नेपालमा भन्दा पनि विदेशमा नै बढी आकर्षित हुँदै गएको छ । नेपालमा अध्ययन गरेका विद्यार्थीहरुलाई नेपालमा नै कसरी रोक्ने भन्ने कुरा अझै पनि चुनौतीको रुपमा नै रहेको छ ।
नेपालमा शिक्षा अहिले पनि घोकन्ते किसिमको नै छ । साथै नेपालमा पाठ्यक्रममा समेटिएको शिक्षा निकै कम मात्र व्यवहारमा उपयोगी देखिएको छ ।
प्रतिशतको आधारमा हेर्दा शुरुमा विद्यार्थीले जुन उद्धेश्यले जुन विषय अध्ययन गरेका छन्, त्यो प्रयोगमा आएको अवस्था कस्तो छ ? यस बारे अध्ययन भएको छ कि छैन ?
नेपालमा अहिले पनि कतिपय सामुदायिक विद्यालयले राम्रो शिक्षा दिएका छन् । त्यसरी नै कतिपय निजी विद्यालयले पनि राम्रो शिक्षा दिन नसकेका होलान् । जहाँसम्म ‘सइइ परीक्षा’ पछिको कुरा छ, अधिकांश विद्यार्थी कक्षा १२ पश्चात् एउटा उद्धेश्य बमोमिज अघी बढेको अवस्था छ । त्यस मध्ये आफ्नो लक्ष्यमा अघी बढेका मध्ये करिब २०÷२५ प्रतिशत विद्यार्थीहरु त्यो अवस्थामा पुगेका छन् ।
विद्यालय तहमा अध्यापनको क्रममा अतिरिक्त क्रियाकलापमा विशेष जोड दिँदै आइएको छ, अतिरिक्त क्रियाकलापबाट नै बाँच्न सक्ने अवस्था अहिलेको शिक्षाले दिन सकेको छ कि छैन ?
नेपालमा अहिले अतिरिक्त क्रियाकलापलाई पनि शिक्षाको अभिन्न पाटोको रुपमा सँगसँगै अघी बढाइएको छ । साथै अतिरिक्त क्रियाकलापहरुमा पनि विद्यार्थीहरु अघी बढेका छन् । नेपालमा अहिले ब्रिटिस काउन्सिलले छनौट गरेका स्कुल मध्ये मैले सञ्चालन गर्दै आएको हिम रश्मीलाई पनि छनौट गरिएको छ, नेपालमा शिक्षा प्रदायक विद्यालयहरु बीच उत्कृष्ट तवरले अघी बढेका र विद्यार्थीमा राम्रो क्षमता विकास भएका विद्यालय अन्तरगत विद्यार्थीमा विकास भएको क्षमता र रचनात्मक क्रियाकलापहरुलाई हेरेर नै यस्तो व्यवस्था गरिएको हो । यसलाई नै हेर्दा पनि आगामी दिनमा अतिरिक्त क्रियाकलापहरुको महत्व निकै बढेर गएको छ ।
अर्को कुरा अहिले सम्म विद्यालयमा विद्यार्थीलाई घोकाएर वा कण्ठ गराएर शिक्षाको गुणस्तरलाई नम्बरमा मात्र हेर्ने प्रचलन रहँदै आएकोमा यसलाई नयाँ अभ्यासमा लैजानुपर्छ भन्ने मान्यतामा हामी छौं । यसैकारण नर्सरी देखि नै विद्यार्थीहरुलाई विभिन्न क्लबहरुमा आवद्ध बनाउँदै विभिन्न गतिविधिहरुमा हामीले उनीहरुलाई संलग्न गराउँदै आएका छौं । अहिले म्युजिक, साइन्स, आर्ट, डान्स, भलिबल, फुटबल, लगायतका विषयहरुमा विद्यार्थीको चाहना बुझेर हामीले सोही बमोजिम उनीहरुलाई अघि बढाएका छौं ।
अहिले हामीले विद्यालयका नियमित अध्ययन हुने विषयको अलावा प्रतिभाको प्रष्फुटन हुने उद्धेश्यको साथ एउटा विद्यार्थीको रुचिको विषयलाई समेत नयाँ विषयको रुपमा सञ्चालनमा ल्याएका छौं ।
तपाई लामो समय देखि यसै क्षेत्रमा हुनुहुन्छ, तपाईंको विद्यालयबाट अध्ययन गरेका पहिलेका विद्यार्थीहरु अहिले कुन अवस्थामा हुनुहुन्छ, त्यो पनि खोजबिन गर्नुभएको होला नि ?
अत्यन्तै महत्वपूर्ण कुरा उठाउनुभयो, हामीले वि.सं २०५९ मा पहिलो व्याचको रुपमा विद्यार्थीहरुलाई एसएलसीमा संलग्न गरायौं । दोस्रो बर्ष १७ जना विद्यार्थीहरुले एसएलसी परीक्षा दिए, तेस्रो बर्ष २१ जनाले परीक्षा दिए । ती सबैले रामै्र नतिजा ल्याए । शुरुको ब्याचका विद्यार्थीहरुले नै ८१-८२ प्रतिशत ल्याउन सफल भए । अहिले ती विद्यार्थीहरु कतिपय इन्जिनियर छन् । कतिपय लेक्चर छन् । कतिपय डाक्टर भए । कतिपय कलाकार, कतिपय बैंकर लगायत विभिन्न क्षेत्रमा छन् । समता स्कुल, जसले १ सय रुपियाँमा अध्ययन गराइरहेको छ, त्यसका प्रिन्सिपल अजय अधिकारी पनि हामीबाटै अध्ययन विद्यार्थी गरेका हुन् । हामीले अहिले पनि ती विद्यार्थीहरु कति कुन अवस्थामा छन् भन्ने कुरा निरन्तर रुपमा खोजी गरि नै रहन्छौैं । ती विद्यार्थीहरु ती स्थानमा पुग्न सकेकोमा मलाई गर्व लाग्छ । साथै आगामी दिनमा अघी बढ्नको निम्ति थप प्रेरणा समेत मिल्छ ।
कुन तहको विद्यार्थीले के–कस्ता व्यावहारिक कामहरु गर्न सक्नुपर्छ भन्ने कुराहरु नै यसका न्यूनतम मापदण्डहरु हुन् । सानै उमेरका बालक वा बालिकाले समेत घरका सानातिना कुराहरु बुझ्न सकोस्, बालक व्यावहारिक बन्न सकोस् भन्ने कुरा नै गुणस्तरीयताका मापदण्ड हुन् ।
महत्वपूर्ण स्थानमा महत्वपूर्ण भूमीकामा ती विद्यार्थी पुग्नुको पछाडि हामीले विद्यालय तहमा हामीले उनीहरुमा राम्रो अध्ययन र संस्कार विकास गराउनु नै महत्वपूर्ण कुरा थियो ।
तपाईंले अधिकांश विद्यार्थीहरु इन्जिनियर र डाक्टर बन्न सफल भन्ने कुरा गर्नुभयो तर अन्य अतिरिक्त गतिविधिहरुबाट अघी बढेको अवस्था चाहिँ कस्तो छ नि ?
एउटा कुरा हामीले हाम्रो विद्यालयमा इसिए र सिसिए अलि पछि मात्रै अघी सारेका हौं । अर्को कुरा खेलकुदमा जतिसुकै अब्बल भएपनि अन्तिममा अभिभावकहरुले बाध्यतावश अध्ययनमा नै अघी बढ्न दवाव दिनुहने अवस्था अलिहे पनि छ । यसकारण हामीले जति प्रयाश गर्दा पनि आफ्नो रुचिको दिशामा विद्यार्थीहरु अघी बढ्न सकेको अवस्था भने निकै कम नै छ ।
तपार्इंका आगामी योजनाहरु के छन् ?
हामी विद्यालय नजिकै फुटसल र स्वीमिङ पुल समेत सञ्चालन गर्ने योजनामा छौं । हामीले विद्यार्थीहरुको निम्ति नै आवश्यक देखेर करिब ४ रोपनी क्षेत्रफलमा यो व्यवस्था गर्न लागेका छौं । व्यवस्थित हल सहितको उक्त फुट्सल निर्माणको काम अघी बढेको छ । यो फुटसल व्यावसायिक रुपमा समेत अघी बढ्नेछ । साथै हरेक स्कुलमा भलिबल खेलको विकास गर्नुपर्छ भन्ने मान्यता बमोजिम म लागिपरेको छु ।
हिम रश्मी स्कुल अब कसरी अघी बढ्छ ?
हामीले अबको शैक्षिक सत्रबाट भोकेसनल कार्यक्रम सहितको कक्षा ११ सञ्चालन गर्दैछौं । बजारमा बिक्ने म्यानपावर जन्माउने योजना बमोजिम हामीले गुणस्तर कायम गर्दै अभिभावकले धान्न सक्ने किसिमले उहाँहरुका चाहना बमोजिमका सबै कुरा सम्बोधन गर्न सकियोस् भन्ने मान्यता बमोजिम यस्तो शिक्षा अघी बढाएका छौं । साथै आगामी दिनमा समेत यसै बमोजिम हामी अघी बढ्दैछौं ।
जीवनोपयोगी र गुणस्तर शिक्षाका मापदण्डहरु के–के रहन्छन् ?
कुन तहको विद्यार्थीले के–कस्ता व्यावहारिक कामहरु गर्न सक्नुपर्छ भन्ने कुराहरु नै यसका न्यूनतम मापदण्डहरु हुन् । सानै उमेरका बालक वा बालिकाले समेत घरका सानातिना कुराहरु बुझ्न सकोस्, बालक व्यावहारिक बन्न सकोस् भन्ने कुरा नै गुणस्तरीयताका मापदण्ड हुन् । ठूलालाई सम्मान र सानालाई माया गर्ने, आवश्यक परिस्थिति बमोजिम अघी बढ्न सक्ने परिस्थिति सिक्नुपर्छ भन्ने चाहना बमोजिम नै हामी अघी बढेका छौं ।
अन्त्यमा तपाईं के भन्नुहुन्छ ?
नेपालमा निजी शिक्षालाई शिक्षाको मुख्य मेरुदण्डको रुपमा हेरिनु जरुरी छ । तर शिक्षालाई व्यवस्थित गर्ने नाममा राम्रो गरिररहेकाहरुलाई अघी बढ्न रोक्ने किसिमका नीति बन्नु हुँदैन । सामुदायिक शिक्षाको गुणस्तर माथि जान नसकेको कारण निजी शिक्षाको गुणस्तरलाई खस्कने किसिमको नीति स्वीकार्य छैन । अग्लो मान्छे अग्लो भएको कारण होचो र अग्लो दुवैलाई बराबर बनाउन अग्लो मानिसको घाँटी काटेर बराबर बनाउने प्रयाश गरिनु कत्तिको उपयुक्त होला त ?
त्यसरी नै गुणस्तरीयतामा अघी बढेका निजी शैक्षिक संस्थालाई पनि विभिन्न समस्या देखाएर वाधाअवरोध सृजना गर्ने तर सामुदायिक विद्यालयलाई माथि उठाउनको निम्ति कुनै पनि प्रयाश नगर्ने कार्यले निजी शिक्षालाई समस्यामा पार्ने प्रयाश गरिएको छ ।
यसैकारण हामीले शिक्षाको गुणस्तरमा निकै राम्रो स्थान हासिल गर्न सफल भएका छौं । अहिले हाम्रो यस विद्यालयले एसइइको रिजल्ट, विद्यार्थी सङ्ख्या, अतिरिक्त क्रियाकलाप लगायत सबै गतिविधिहरुमा निकै राम्रो नतिजा हासिल गर्न सफल भएका छौं ।