२०८३ कार्तिक १८ मंगलबार

Nov 03 2026 Tuesday

  • २०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

६ नम्बर प्रदेशमा को बन्ला मुख्यमन्त्री ?

६ नम्बर प्रदेशमा को बन्ला मुख्यमन्त्री ?

जुम्ला | कर्णालीबाट प्रदेश नम्बर ६ को मुख्यमन्त्रीका दाबेदार तीनै जना उम्मेदवारहरु विजयी भएका छन् । यो प्रदेशको भावी मुख्यमन्त्रीका लागि चर्चामा रहेका उनीहरु प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । कर्णालीबाट प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्दै आएका कांग्रेसका जीवनबहादुर शाही, माओवादी केन्द्रका नेता नरेश भण्डारी र माओवादीकै महेन्द्रबहादुर शाही प्रदेश सभा सदस्यमा निर्वाचित हुन सफल भएका छन् । कांग्रेसले भावी मुख्यमन्त्रीमा दाबी गरेका जीवनबहादुर शाही हुम्लाको प्रदेश सभा (ख) बाट विजयी भएका छन् ।

उनले चार हजार पाँच सय १९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार विजय भण्डारीले तीन हजार नौ सय ९३ मत प्राप्त गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वपर्यटन मन्त्रीसमेत रहेका शाहीलाई यो प्रदेशमा कांग्रेसले मुख्यमन्त्रीको रुपमा अगाडि सारेको छ । भावी मुख्यमन्त्रीका दाबेदार शाही एमाले र माओवादीको वाम गठबन्धनलाई हराउँदै भावी मुख्यमन्त्रीको दौडमा सफल भएका छन् ।

यस्तै कर्णालीबाटै मुख्यमन्त्रीको दाबी गर्दै आएका माओवादी नेता महेन्द्रबहादुर शाही कालिकोटको प्रदेश सभा (ख) बाट विजयी भएका छन् । उनले १२ हजार तीन सय ५३ मत प्राप्त गरे ।उनका प्रतिस्पर्धी कांग्रेसका कालीबहादुर सहकारीले ९ हजार तीन सय ४२ मत प्राप्त गरेका छन् । विना विभागीय मन्त्रीसमेत रहेका महेन्द्र शाहीलाई पनि कर्णालीबाट भावी मुख्यमन्त्रीको रुपमा हेरिएको छ ।

मुख्यमन्त्रीकै आश्वासन पाएका कारण उनी प्रदेशसभाको निर्वाचनमा लडेका हुन् । उनले पनि प्रदेश सभामा विजयी भएर मुख्यमन्त्रीको लागि तयार रहेको बताएका छन् । साथै प्रदेशको समृद्धि र विकासका लागि आफूले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए । यस्तै जुम्लाको प्रदेश सभा (क) बाट १२ हजार ५ सय ७४ मत प्राप्त गर्दै माओवादी केन्द्रका नेता नरेश भण्डारी विजयी भएका छन् । भण्डारीले पनि निर्वाचन अघि आफूलाई मुख्यमन्त्रीको रुपमा मत मागेका थिए ।

विजयी घोषणा भएसँगै भण्डारीले भने ‘६ नम्बर प्रदेशलाई देशकै नमूना बनाउन काम गर्नेछु ।’ जुम्लालाई प्रदेश ६ को गृष्मकालीन राजधानी बनाइनेछ, यसका लागि मेरो मुख्य पहल रहनेछ’, उनले भने ।

भण्डारीका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजुसिंह कठायतले ८ हजार ५ सय ३५ मत ल्याए । भण्डारीले पनि आफू यो प्रदेशको मुख्यमन्त्री बन्ने र कर्णालीलाई न्याय दिलाउने बताउँदै आएका छन् । कर्णालीमा मुख्यमन्त्रीको एजेण्डा लिएर निर्वाचनमा होमिएका तीनै जनाले यो प्रदेशको भावी मुख्यमन्त्री बन्ने बाटो सुरक्षित गरेका छन् ।

यो प्रदेशको पहिलो मुख्यमन्त्री कर्णालीले नै पाउने आंकलन गरिएको छ । सुर्खेतमा प्रदेश राजधानी हुने भएपछि कर्णालीले मुख्यमन्त्री पाउनुपर्ने माग बलियो बनाउन थालेको छ । पहिले जुम्लामा हुने सम्भावित राजधानी गुमाएपछि नरेश भण्डारी लाई मुख्य मन्त्री हुनु पर्ने जुम्लीको जोड छ ।

 

निर्माण सञ्चारकाे लागि जुम्लाबाट सागर परियार

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij