
आफ्नो उद्योगबाट उत्पादित वस्तुहरु बजारमा राम्रोसँग नचले सम्म वितरकहरुलाई नानाथरी लोभ, लालच, इमान्दारिता र विश्वास दिलाएर उद्योग भनेको तपाईं वितरकहरु र हामी उत्पादकको सहकार्यमा जीवन्त रहने नङ र मासुको सम्बन्ध हो भनी विश्वास दिलाउने तिनै उद्योगहरुले वितरकहरुलाई भर्याङ बनाएर कम्पनी राम्रो अवस्थामा पुगेपछि भने वितरकको हितमा काम नगर्ने परिपाटी छ ।
नयाँ नयाँ दुलही भित्र्याउँदा आफ्नी दुलहीलाई खुब मायाका साथ ‘तिमी नै मेरो सहारा, तिमी नै मेरो जिन्दगी, तिमी नै मेरो मुुटुको धड्कन’ भन्दै नानाथरी मायाको नाटक गर्ने, जब श्रीमतीबाट केही समय पछि एक दुई सन्तान जन्मन्छन् । त्यसपछि श्रीमतीको रुप र श्रृङ्गारमा पनि कमी आएको देखिन्छ, त्यसपछि अर्की श्रीमती ल्याउने सुरसारमा लाग्ने श्रीमानको चाला जस्तै उद्योगीबाट
‘more deal more sell’ नीति अबलम्बन हुँदै आएको छ । पहिला–पहिला ठूला राणा शासकहरु वा जमिन्दारहरुले अधिक श्रीमती भित्र्याएर आफ्नो भित्री इच्छा पनि फेरीफेरी पूरा गर्न पाउने, कामदार धेरै राख्नु भन्दा श्रीमती नै धेरै राख्नु वुद्धिमानी ठान्ने परिपाटी अर्थात ‘आफ्नो मात्र व्यक्तिगत स्वार्थलाई प्रश्रय दिने’ प्रचलन थियो ।
त्यसरी नै वितरकहरुको कुनै महत्व, दुखःपीडा नै नबुझी वितरकले गर्दा मेरो उद्योग अब यहाँ सम्म चल्यो, यस्तो राम्रो प्रगति भयो । आखिर हिजो उद्योगको अवस्था निकै नाजुक थियो तर कसरी यस्तो हुन सक्यो त ? पक्कै पनि ती वितरकहरुको सहयोगले गर्दा नै यस्तो भएको हो । त्यसो भए आखिर ती वितरकहरुलाई पनि फाइदा छ कि छैन ? वितरकहरु पनि टिक्नुपर्यो, भविष्य बनाइदिनुप¥यो । भन्ने मानसिकता अहिले उद्योगीहरुको देखिएको छैन ।
जबकी उल्टो ती उद्योगीहरुको बजार प्रतिनिधि या विभिन्न तप्काका उद्योगीहरुका कर्मचारी प्रतिनिधिले विभिन्न किसिमले कमिसनको वहानामा दुःख दिएकै हुन्छन् । उक्त प्रतिनिधिको लहलहैमा उद्योगी मालिक पनि लागेकै हुन्छ । साथै कसरी हुन्छ नयाँ–नयाँ वितरकहरु धेरै बनाउने, पुरानो वितरकहरुलाई जेठी श्रीमतीलाई जस्तै कान्छी श्रीमती ल्याइसकेपछि जेठी श्रीमतीले खाए खाओस् नखाए नखाओस् भनी हेला, तिरष्कार र अपमान गर्ने । कसरी हुन्छ बाहिर निकाल्न प्रयास गर्ने । यस्तै अवस्था छ वितरक क्षेत्रमा पनि ।
यसको सिको नेपालमा भारतबाट आयात वा भारतीय मूलका नेपाली उद्योगीहरुको नक्कल हामी स्वदेशी नेपाली मूलका उद्योगीहरुले पनि गर्दै आइरहेका छन् । विस्कुट उद्योग होस् वा मदिरा उद्योग । चाउचाउ उद्योग नै किन नहोस् । भारतबाट आयात हुने हर्लिक्स, पार्लेजी, नेपालमा नै उत्पादन हुने आफ्नै नेपाली मूलका दाजुभाईबाट उत्पादित विभिन्न मदिराजन्य वस्तुहरु नै किन नहोस् । यी सबैमा यस्तै भएको छ । जसले गर्दा अब हाम्रो नेपालमा पनि विभिन्न तप्काका वितरकहरुको भविष्य सुनिश्चित् छैन ।
उद्योगहरुको निम्ति भर्याङ मात्रै भएको छ वितरक व्यवसाय । वितरकको आफ्नै लगानी र मेहनत, आफैं उद्योगी हुँदा पनि मालिकको नोकर सरह दासी मात्र भएर पनि नपुगी उद्योगी प्रतिनिधिको समेत दासी भइ चाकरी गर्नुपर्ने अवस्था छ। वितरकको न लगानीको ग्यारेन्टी छ, न त उद्योगी वा मालिकको नै सहानुभुति । हिन्दीहरुको उखान जस्तै–‘पैसा भि गुमाना, पागल भि बुना’ भन्ने उखानसँग मेल खाएको छ ।
(लेखक बनेपाली नेपाली वितरक संघका पूर्व कार्यसमिति सदस्य हुनुहुन्छ ।)
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij