२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

नेपालकाे विकास र समृद्दि यसरी सम्भव छ : कमलेश अग्रवाल

नेपालकाे विकास र समृद्दि यसरी सम्भव छ : कमलेश अग्रवाल

कमलेश अग्रवाल, महासचिव , नेपाल चेम्बर अफ कमर्स

अहिलेको अवस्थामा नेपालमा निजी क्षेत्र ः

राजनैतिक अन्योलताको कारण नेपालमा निजी क्षेत्रले लगानीको प्रवद्धन गर्न चाहँदाचाहँदै पनि निजी क्षेत्र अघी बढ्न सकेको छैन । नेपालमा संविधान आएपश्चात् नेपालमा निजी क्षेत्र फस्टाउनको लागी नेपालमा निकै ठूलो आशा गरिएको थियो । तर अहिले सम्मको अवस्थामा भने निजी क्षेत्र फस्टाउनको निम्ति त्यति उपलब्धिमूलक हुन सकेको छैन ।

नेपाल विकासको निम्ति निकै नै राम्रा सम्भावनाहरु भएको मुलुक हो । पर्यटन, जलस्रोत, खनिज पदार्थ (परिमाण पहिचान हुन नसकेपनि केही सिमेन्ट कम्पनीहरु सञ्चालनमा आएका छन्) लगायत अन्य विविध क्षेत्रहरु पनि नेपालमा छन् । नेपालमा औषधीय गुण भएका जडिबुटी तथा कृषिको विकास गर्न सकिने राम्रो सम्भावना छ । अहिले नेपालमा प्रशस्त उब्जाउ भूमी र सिंचाइको उपलब्धता हुँदाहुँदै पनि हामीले त्यसको प्रयोग गर्न सकेका छैनौं । इजरायललाई नै हेर्न सक्छौं, उक्त देशले कसरी आफ्नो देशलाई विकसित बनाएको छ, तर हामीले किन सकनौं त ? विकासको लागि स्पष्ट भिजन हुनुपर्छ ।

समृद्धिको लागि के हुनुपर्छ ?

विकास र समृद्धिको निम्ति सबै कुराहरु आपसमा अन्तरसम्बन्धित कुराहरु मिल्दै जानुपर्छ । नेपालको विकास हुन नसक्नुको अर्को कारण भनेको नेपालमा राज्यलेले कृषकहरुको सहयोगको निम्ति सहुलियत ऋण, समयमा बिउ मलको व्यवस्था, आवश्यक प्रविधिको उपलब्धता तथा विस्तार, सिंचाई तथा प्रयाप्त विद्युतको आपुर्ति गर्न नसकिनु लगायत पनि छन् । नेपालमा औद्योगिक क्षेत्रको योगदान पनि कूल ग्राहस्थ उत्पादनमा छ प्रतिशत भन्दा पनि कम छ । यसको मुख्य समस्या भनेको विद्युत नै हो । त्यस बाहेक नेपालमा प्रतिष्पर्धी श्रम बजारको विकास हुन नसक्नुमा नेपालको श्रम नीति पनि बाधक छ । यसको अलावा अर्को सबैभन्दा महत्वपूर्ण पक्ष भनेको नेपालमा उत्पादन हुने वस्तुको मूल्य अहिलेको विश्वव्यापीकरणको समयमा निकै महँगो पर्न गएको छ । यी लगायतका कारणले गर्दा पनि हामी आर्थिक समृद्धिमा जान सकेका छैनौं ।

विश्वव्यापीकरणमा आफुले सुलभ दरमा कुनै सामान उत्पादन गर्न सकिन्छ भने त्यो उत्पादन गर्ने हो तर उक्त वस्तु हामीले आयात गर्न सस्तो पर्न जाने खण्डमा भने हामीले आयात पनि गर्नुपर्छ ।
हामीले नेपालको परिस्थिति बमोजिम जलविद्युत, कृषि, पर्यटन लगायतका क्षेत्रहरुबाट नै राम्रो गर्न सक्छौं । भौगोलिक तथा प्राविधिक हिसाबले पनि यी क्षेत्रहरु नै राम्रो सम्भावना भएका क्षेत्रहरु हुन् । तर हामीले यस बारेमा भने त्यति ध्यान दिन सकेका छैनौं ।

कुनै पनि देशको विकासको निम्ति आर्थिक पक्षको व्यवस्थापन पनि महत्वपुर्ण पक्ष हुन आउँछ । अहिलेको समयमा नेपालको विकासको निम्ति पनि लगानीको स्रोतको रुपमा हामीले स्वदेशी लगानी र विदेशी लगानी गरेर आर्थिक स्रोतको जोहो गर्न सकिन्छ । स्वदेशी लगानी पनि राजनीतिक अस्थिरता, भूकम्प तथा नाकाबन्दीको प्रभाव लगायतको कारण निराशाजनक अवस्थामा नै छ । सरकारले पनि नेपालमा स्वदेशी लगानीको निम्ति आवश्यक प्रबन्ध मिलाउन सकेको छैन । आज भन्दा ३०÷४० बर्ष पहिलेको नियन्त्रित अर्थ–व्यवस्था बमोजिम ल्याइएका नियमहरु अहिले सम्म पनि त्यसै बमोजिम नै सञ्चालनमा रहेका छन् ।

राजनीति र कर्मचारीतन्त्र ः

हाम्रो राजनैतिक क्षेत्र र कर्मचारीतन्त्र पनि नेपालमा लगानीको निम्ति बाधक तत्वको रुपमा रहेका छन् । नेपालको राजस्व नीति जहिले पनि राजस्वमुखी मात्र रह्यो । लगानी प्रवद्धन मुखी नीति नै भएनन् । आर्थिक लगानी फस्टाउन सक्ने वातावरण पनि नेपालमा तयार हुन सकेन । यद्यपि नेपालमा सानो लगानीका निजी क्षेत्र नेपालमा लगानी गर्ने सोचमा नहुँदा नहुँदै पनि बाध्यतावश नेपालमा नै रहन बाध्य भएका छन् । यदि नेपालका साना निजी व्यवसायहरुको समेत पुजी पलायन हुने अवस्था रहेको भए निकै ठूलो रकम पुँजी पलायन भइसक्ने थियो । यस अवस्थालाई रोक्न र नेपालमा नै लगानी प्रवद्धनको निम्ति नेपालमा उद्योगमैत्री राजस्व नीतिमा हामीले विशेष ध्यान दिनु जरुरी छ ।

अहिले नेपाल भौगोलिक रुपमा जसरी भूपरिवेष्ठित राष्ट्रको रुपमा रहेको छ, त्यसरी नै यहाँको अर्थतन्त्र भारत वेष्ठित रुपमा परिणत हुँदै गएको छ । हाम्रा ट्रान्जिट प्वाइन्टहरु भारतमा नै रहेका छन् । नेपाल भारतबीच कुनै सम्बन्धमा अवरोध आउने बित्तिकै नेपाल माथि भारतले अवरोध गर्ने काम त विगत देखि नै हुँदै आएको छ । यसको कारण भनेको नेपालको उत्पादन लागत महँगो पर्न जानु हो ।

लगानीमैत्री वातावरण आवश्यक ः
अहिले अल्पविकसित मुलुकको रुपमा रहेको नेपाललाई सन् २०२२ सम्ममा विकासोन्मुख देश बनाउन र सन् २०३० सम्ममा विकसित देशको हैसियतमा पु¥याएर प्रतिव्यक्ति आय ७ सय ५० बाट बढाएर ४ हजार पुर्याउने लक्ष्य राखिएको छ । यद्यपि हाम्रा छिमेकी मुलुकहरु भारत, भुटान लगायतका देशहरुको प्रति व्यक्ति आय त्यसको तुलनामा निकै नै माथि पुग्ने अनुमान गर्न सकिन्छ । यसको निम्ति पनि हामीले दुइ अंकमा नेपालको आर्थिक विकास गर्नु जरुरी छ । नेपालको विकासको निम्ति प्रचुर सम्भावना रहेका क्षेत्रहरुको अधिकतम उपयोग गर्दै हाम्रा सम्भावनाहरु कसरी पूरा गर्न सकिन्छ भन्ने सम्बन्धमा पनि ध्यान दिनु जरुरी छ । नेपाल सरकारले लगानीमैत्री वातावरण बनाएर स्वदेशी लगानीको साथसाथै विदेशी लगानी पनि ल्याउनको निम्ति विशेष पहल गर्नुपर्छ ।

यदि हामीले हाम्रा सम्भावनाहरुको आधारमा विष्लेषण गर्ने हो भने केही बर्षमा नै हामी दक्षिण एसियाको सबैभन्दा बढी प्रतिव्यक्ति आय भएको देश बन्न सकिने सम्भावना छ । तर नेपालमा भएका राजनीतिक दलहरुले नेपालमा आर्थिक एजेण्डाहरुलाई प्राथमिकता दिन नसकेको कारणले गर्दा नेपाल यत्ति राम्रो सम्भावना भएको मुलुक हुँदाहुँदै पनि गरिब मुलुकको रुपमा कायम हुन गएको हो ।
संसारका सबैजसो विकासोन्मुख देशहरुमा हेर्ने हो भने ती देशहरुको मुख्य समस्या भनेको युवा जनशक्ति नै रहेको पाइन्छ । तर नेपालमा भने प्रयाप्त जनशक्ति छ । यी युवाशक्ति अहिले नेपालमा नभई बाहिर जान बाध्य छन् । यसकारण हाम्रा आर्थिक गतिविधिहरु पनि सङ्कुचित भइरहेका छन् । यस्तो अवस्थामा नेपालका राजनैतिक दलहरुले लक्ष्य सहितको आर्थिक गतिविधिलाई अघी बढाएको खण्डमा हामी गरीबीबाट सहज रुपमा अघी बढ्न सक्छौं ।

लगानीको वातावरण कसरी बन्न सक्छ ?

लगानी उपयुक्त वातावरण बन्न सकेको खण्डमा आफैं आउँछ । त्यासको लागि न्यूनतम पूर्वाधार त बन्नैप¥यो । लगानी पनि ओरालोमा पानी बग्नु जस्तै हो । अहिले नेपालमा अत्यधिक मात्रामा वाधाअवरोधहरु कायम रहेको कारण नेपालमा आउने सुनिश्चित जस्तै भएका लगानी पनि नेपाल आउने अवस्था रहेन ।
भारतले लगानी भित्र्याउनको निम्ति कर्पोरेट सेक्टरमा ४ प्रतिशत कर घटायो । हामीले नेपालमा पनि यसरी नै सहज रुपमा एकद्वार प्रणालीको माध्यमबाट लगानी प्रोत्साहित हुने वातावरण तयार गरिदिनुपर्छ । निजी क्षेत्रलाई अघी बढाउनको निम्ति राज्यले पनि सहयोगी हात अघी बढाउनुपर्छ । यद्यपि अहिले पनि नेपालमा लगानी भित्र्याउनको निम्ति विभिन्न नीतिनियमहरु समस्याको रुपमा रहेका छन् । यसबाहेक नेपालमा लगानी आउन नसक्नुको अर्को कारण हाम्रो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पनि हो । जुन अत्यन्त अव्यवस्थित छ ।

युवा व्यवस्थापनको निम्ति पहल आवश्यक ः
नेपालका युवाहरु रोजगारीको निम्ति ठूलो सङ्ख्यामा बाहिरिएका छन् । यस्तो अवस्था किन रह्यो त ? हामीले नेपालमा भएका युवा पलायनको कारण बुझ्नुपर्छ । अहिले नेपालीहरु विदेश पलायन हुनुको कारण भनेको मुख्यतः नेपालमा क्षमता बमोजिमको काम पाउन नसक्नु नै हो । यदि हामीले नेपालमा नै काम गर्नको निम्ति उपयुक्त वातावरण सृजना गरिदिने हो भने नेपालीहरु विदेशिनु पर्दैन । विदेशिएका युवाहरुलाई पनि नेपालमा नै फर्काउन सकिन्छ ।

निजी क्षेत्र अहिले नेपालमा लगानीको निम्ति आतुर छ । राज्यले छिटो भन्दा छिटो लगानीयुक्त वातावरण बनाइदिनुपर्छ । यद्यपि अहिले नेपालमा आर्थिक क्षेत्र राम्रो तवरले अगाडि आउन नसकेको कारणले गर्दा तल्लो तहका जनताहरु लाभान्वित हुन सकेका छैनन् । यद्यपि मुलुकमा आर्थिक वातावरण बन्न सकेको खण्डमा नेपालमा नै सबै तहका मानिसहरुको जीवनस्तर माथि उठ्न सक्छ । साथै प्रतिष्पर्धि श्रम बजारको विकास हुन जान्छ । जब यस्तो अवस्था सृजना हुन्छ, तब प्रतिष्पर्धि बजारमा स्वदेशमा नै प्रयाप्त अवसरहरु सृजना हुन्छन् । जसले गर्दा एकातिर नेपालमा भएका युवाहरु बाहिर जान रोकिन्छन् भने अर्कोतिर पलायन भएका युवाहरु पनि स्वदेशमा नै फर्किन्छन् । अहिले सम्म हाम्रा युवाहरु कति सङ्ख्यामा पलायन भएका छन् भन्ने यकिन तथ्याङ्क पनि छैन । हामीसँग आर्थिक क्षेत्रको विकासको निम्ति निकै राम्रो सम्भावना हुँदाहुँदै पनि विदेश पलायन हुनु दुखद कुरा हो ।

कृषिमा सम्भावना ः
अहिले नेपालमा कृषि क्षेत्रको योगदान करिब ३३ प्रतिशत छ । यदि हामीले कृषि क्षेत्रको मात्र विकास गर्न सक्ने हो भने नेपालका ग्रामीण वस्तीहरु पछिल्ला बर्षहरुमा जसरी उजाड र खाली हँदै गएका छन्, यस्तो अवस्था रहँदैन । हामी कृषि उपजको निम्ति विदेशमा भर पर्नु पर्दैन । नेपाल एक प्राकृतिक हिसाबले निकै राम्रो सम्भावना भएको देशको रुपमा विश्वमा नै परिचित छौं, जुन पहिचानलाई व्यावहारिक रुपमा अहिलेको परिप्रेक्ष्यमा पनि सार्थक पार्नुछ ।

उद्योगको सम्भावना ः
जसरी अन्य क्षेत्र (जस्तै  भौतिक पूर्वाधार लगायत)को विकास आवश्यक हुन्छ, त्यसरी नै औद्योगिक क्षेत्रको विकास पनि आवश्यक हुन्छ । अहिले नेपालमा प

र्यटन, जलविद्युत लगायतका क्षेत्रहरुको राम्रो तवरले विकास गर्न सकेको खण्डमा त्यसको साथसाथै उद्योगहरुको पनि विकास सम्भव छ । नेपालमा जलविद्युत उद्योगको नै कुरा गर्ने हो भने पनि यसको सँगसँगै अन्य विभिन्न क्षेत्रहरुको विकास हुन सक्छ ।

विश्वबजारलाई लक्षित गरी उत्पादन बढाउन पहल ः
अहिले हाम्रा छिमेकी मुलुकहरु भारत र चीन विश्वमा नै आर्थिक हिसाबले सम्पन्न मुलुकहरु हुन् । यी देशहरुको बीचमा अवस्थित नेपालले कुनै वस्तु उत्पादन गर्न सकेको खण्डमा हाम्रो बजार ती देशहरु हुन सक्छन् । जलविद्यूत निर्यातको लागि हामीले भारतलाई नै पनि लिन सकिन्छ ।

 

राज्यले निजी क्षेत्रलाई विश्वास गर्नु जरुरी ः
सबैभन्दा पहिले नेपालमा निजी क्षेत्रलाई राज्यले पुर्ण रुपमा विश्वास गर्नु जरुरी छ । नेपालमा सरकारले निजी क्षेत्रलाई सहयोग गर्ने कुरा गर्दै आएपनि यसलाई राज्यले आवश्यक सहयोग भने गरेको छैन । नेपालमा पनि प्रशस्त विज्ञविशेषज्ञहरु नभएका होइनन् । यद्यपि विशेषज्ञहरुलाई सैद्धान्तिक ज्ञान मात्र हुन्छ । तर निजी क्षेत्रलाई भने व्यावहारिक ज्ञान पनि हुन्छ । अर्थात काम गर्ने क्रममा आइपर्ने सबै किसिमका कठिनाईहरु निजी क्षेत्रले भोगिसकेका हुनाले उनीहरुलाई यसको बारेमा राम्रो ज्ञान रहन्छ । तसर्थ राज्यले नीति तय गर्दा पनि निजी क्षेत्रको सहकार्यमा नीतिगत व्यवस्था गर्नु आवश्यक रहन्छ । हरेक क्षेत्रमा निजी क्षेत्रलाई स्वतन्त्र वातावरण निर्माण गरिएको हुन्छ । तर नेपालमा भने यस किसिमको वातावरण अहिले सम्म बन्न सकेको छैन । 

खुल्ला बजार अर्थतन्त्रमा मूल्य निर्धारण ः
खुल्ला बजार अर्थतन्त्र बमोजिम बजारको मूल्य प्रतिष्पर्धी बजार बमोजिम नै निर्धारण हुने गर्दछ । तर यसको निम्ति राज्यले अवरोध गर्नुहुँदैन । नेपालमा आपुर्तिमा अवरोध कायम भएको कारण नेपालमा भने यो अवस्था सृजना हुन नसकेको हो । खुल्ला बजार अर्थतन्त्रमा मागको तुलनामा आपुर्ति बढी हुने गर्दछ । अहिले भारतमा पेट्रोलियम पदार्थको मूल्य दिनप्रतिदिन परिवर्तन हुने गरेको हुन्छ । नेपालमा भने पेट्रोलियम पदार्थमा राज्यको नियन्त्रण कायम रहेको कारण अहिले नेपालका उपभोक्ताहरुले विश्व बजारमा आएको मूल्य परिवर्तन अनुरुप परिवर्तन हुन सकेको छैन ।

राज्यको विशेष भूमीका जरुरी ः
भारतमा सरकारी संयन्त्र अन्तरगतकै खाद्य आयोगले पनि बजार नियन्त्रणको निम्ति विशेष पहल गर्दै आएको छ । भारतमा ३ बर्षको निम्ति पुग्ने खाद्यान्न पहिले नै राज्यले सञ्चय गरिसकेको हुन्छ । कुनै बर्षको उत्पादन बढेको खण्डमा मूल्य घट्न जाँदा किसानहरु मर्कामा पर्न सक्ने कुरालाई भारतको सरकारले राम्रोसँग बुझेको छ । कुनै दिनमा खाद्यान्नको उत्पादन कम भएको खण्डमा राज्यले मूल्य बढाउने काम पनि गरिँदैन । यसले गर्दा भारतमा मूल्य नियन्त्रण सम्भव भएको हो । तर नेपालमा भने यस किसिमको व्यवस्था गर्नको निम्ति न त राज्यको नीतिगत व्यवस्था नै छ । न त त्यस्ता ठूला गोदामघरहरु नै छन् ।

आगामी सम्भावना ः
नेपालमा राजनीतिक स्थायित्व कायम भएको र संविधान कार्यान्वयनमा गएको खण्डमा नेपालमा प्रयाप्त मात्रामा रोजगारीका क्षेत्रहरु सृजना हुनेछन् । अब नेपालमा पनि छिटै नै इन्धनको समस्या समाधान हुनेछ । औद्योगिक वातावरण निर्माणका कामहरु पनि अब छिट्टै अघी बढ्ने क्रममा छन् । यस्तो अवस्थामा नेपाल विकासको दिशामा जानेछ ।

 

काे हुन् कमलेश अग्रवाल ?

भारतबाट फाइनान्स विषयमा स्नातकोत्तर तह पुरा गर्नुभएका कमलेश अग्रवाल अहिले नेपाल चेम्बर अफ कमर्समा महासचिवको भूमीकामा सक्रिय हुनुहुन्छ । २०५५ मा नेपाल सरकार अन्तरगतको नेपाल ढलोट उद्योग निजीकरणको समयमा निजी क्षेत्रको तर्फबाट विशेष भूमीका निर्वाह गर्नुभएका अग्रवाल नेपालको कर्पोरेट क्षेत्रका एक अगुवाको रुपमा परिचत हुनुहुन्छ । नेपाल लाइफ इन्स्युरेन्स कम्पनी, एनएमबी बैंक लगायत विभिन्न निजी कर्पोरेट संस्थाहरुमा संलग्न रहँदै आउनुभएका अग्रवाल हाल पोलिमर, फर्म, ट्रेडिङ लगायत व्यवसायमा पनि संलग्न हुनुहुन्छ ।

वि.सं. २०१४ सालमा धरानमा जन्मनुभएका अग्रवाल २०३० मा एसएलसी उत्तीर्ण भएपश्चात् काठमाडौं आउनुभएको हो । व्यापारिक पृष्ठभूमीमा जन्मनुभएका अग्रवाल नेपालमा अध्ययनको क्रममा नै प्लाष्टिक, गार्मेन्ट, कार्पेट लगायतका उद्योगहरु सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी लिनुभएको थियो । अग्रवाल नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधित्व गर्दै राजस्व परामर्श समितिमा पनि उहाँ आजीवन सदस्यको रुपमा संलग्न हुनुहुन्छ । मारवाडी सेवा समिति र अग्रवाल सेवा समिति लगायतका संस्थाहरुमा संलग्न रहनुभएका अग्रवाल आगामी दिनमा सेवामूलक तथा उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने योजनामा हुनुहुन्छ । पर्यटन प्रवद्धन तथा कृषिको व्यावसायिकरणमा पनि लाग्ने उहाँको योजना छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij