२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

तिनाउँ नदी किनारबाट प्रसारण लाईन बन्दै

तिनाउँ नदी किनारबाट प्रसारण लाईन बन्दै

शशि पन्थी, भैरहवा ।

नेपाल विद्युत प्राधिकरणले बुटवल–मैनहिया १३२ केभी प्रसारण लाईन बिस्तारका लागि रोजेको सिद्धार्थ राजमार्ग क्षेत्रलाई सडक विभागले स्वीकृती नदिएपछि नयाँ विकल्प अघि सारेको छ ।
रुपन्देहीको विद्युत आपूर्तिलाई सहज बनाउन बुटवल–मैनहिया १३२ केभी प्रसारण लाईन बिस्तार गर्न लागेको प्राधिकरणले सडक क्षेत्रबाट प्रसारण लाईन बनाउन सडक विभागले स्वीकृति नदिएपछि तिनाउ नदी आसपासको क्षेत्रबाट अघि बढाउने गरी नयाँ विकल्प अघि सारेको हो । “सकेसम्म सहज, छिटो र कम जोखिमयुक्त ठाउँबाट प्रसारण लाईन बिस्तार गरौं भन्ने हो, त्यसो हुन नसकेपछि तिनाउ नदीको किनारै किनार प्रसारण लाईन बिस्तार गर्ने तयारी हुँदैछ”–बुटवल–लुम्बिनी १३२ केभी प्रसारण आयोजनाका प्रमुख हरिप्रसाद पाण्डेले बताए ।
रुपन्देहीको विद्युत समस्या समाधान गर्न प्राधिकरणले मैनहियामा सवस्टेशन बनाउन लागेको छ । त्यही सवस्टेशन सम्म लैजाने प्रसारण लाईनको बाटो निश्चित हुन नसकेपछि आयोजनाको काम एक वर्ष पछाडि धकेलिएको प्राधिकरणका अधिकारीहरुले बताएका छन् । तिनाउ किनारबाट प्रसारण लाईन बिस्तार सहज नभएकाले प्राधिकरणले सिद्धार्थ राजमार्गको योगीकुटी–कोटिहवा सडक खण्डबाट बिस्तार गर्न दिन सडक विभागसँग अनुरोध गरेको थियो । सडक क्षेत्रबाट बिस्तार गर्दा कुनै क्षति नहुने र पूर्णतः सुरक्षात्मक उपाय अपनाउने प्राधिकरणको भनाईलाई सडकले बेबास्ता गरेपछि नयाँ विकल्प खोजिएको हो ।

बुटबल–लुम्बिनी १३२ केभी प्रसारण आयोजनाका प्रमुख पाण्डेले तिनाउ नदीको दायाँ वा बायाँ कताबाट राम्रो हुन्छ, त्यसबारेमा सर्भे सहितको सबै कामको जिम्मेवारी दिनेगरी ठेकेदार कम्पनी छनोट गर्ने बताउनुभयो । आयोजनाले प्राधिकरण केन्द्रीय कार्यालयमा इस्टिमेट पठाइसकेको र स्वीकृत भइसकेपछि थप प्रक्रिया अगाडि बढाउने पाण्डेले जानकारी दिनुभयो । “असोज अन्तिमसम्म हामी टेन्डर गर्छौं, अल्मलिने समय छैन”–उनले भने ।
विद्युत भार अनुसार प्रसारण लाईन बिस्तार र सव स्टेशनको अभावले भैरहवा र लुम्बिनी क्षेत्रमा विद्युत आपूर्तिमा समस्या भैरहेको छ । विद्युत प्रसारण लाईनको अभावले अहिले प्राधिकरणले भैरहवाको विशेष आर्थिक क्षेत्रमा बिजुली दिन सक्ने अवस्था छैन ।

लुम्बिनी कोरिडोरका उद्योगलाई पनि प्राधिकरणले माग गरे अनुसार विद्युत दिन सकिरहेको छैन । विद्युत लोडकै कारण भैरहवा र लुम्बिनी क्षेत्रमा आपूर्ति नियमित हुन सकिरहेको छैन । “सरकारी निकायबीच समन्वय छरितो हुन नसक्दा ढिलाई भयो, अव काममा ढिलाई नगर्ने गरी काम अघि बढाउँदै छौं”–पाण्डेले भने ।
बुटवल–मैनहिया प्रसारण लाईनका लागि प्राधिकरणले तीन विकल्प अघि सारेको थियो । पहिलो बुटवल–योगीकुटी–कोटिहवा–लखनचोक हुँदै मैनहिया, दोस्रो योगीकुटी–तिनाउ किनारको पुर्व क्षेत्र हुँदै र तेस्रो तिनाउ किनारको पश्चिम क्षेत्र हुँदै मैनहिया लैजान सकिने विकल्प अघि सारिएको हो । त्यस मध्ये पहिलो विकल्पका लागि सडकले स्वीकृति नदिएपछि दोस्रो र तेस्रो विकल्प अघि सारिएको हो ।


आयोजना प्रमुख पाण्डेले राजमार्गको योगिकुटी–कोटिहवा हुँदै मैनहियाको १९ किमि दुरीको विकल्प छरितो र सस्तो पर्ने तर अरु विकल्पमा जाँदा लागत बढ्ने बताए । पहिलो विकल्पबाट प्रसारण लाईन बिस्तार गर्दा ८० करोड रुपैयाँ लागत लाग्ने इस्टिमेट गरिएको थियो । तिनाउ किनारको दुवै क्षेत्र प्रसारण लाईनका लागि जोखिमयुक्त भएपनि यही ठाउँबाट लैजानुको विकल्प नभएको आयोजना प्रमुख पाण्डेको भनाई छ । नदी किनारको कमजोर भु बनोट र बाढीको जोखिमलाई ख्याल गर्दै प्रसारण लाईन बिस्तारको विकल्प नभएको बताए ।

प्राधिकरणका अधिकारीहरुका अनुसार तिनाउ किनारको पुर्व क्षेत्र हुँदै लैजान स्थानीय बासिन्दाको अवरोध हटाउनुपर्छ । नदीको सय मिटरकै दुरीमा बाक्लो बस्ती छ । पश्चिम क्षेत्र हुँदै लैजान मोतीपुर औद्योगिक कोरिडोर पर्छ । पाँच नम्बर प्रदेशको नमुना औद्योगिक क्षेत्र बनाउने गरी मोतीपुरमा ८ सय बिघा जग्गा स्वीकत भई औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा लालपुर्जा आइसकेको छ ।

प्राधिकरणले मैनहियामा सव स्टेशन बनाउनका लागि चार बिघा जग्गा खरीद गरी सव स्टेशन र कर्मचारी आवास बनाउन ४० करोड रुपैयाँको टेन्डर सूचना निकालिसकेको छ । राजमार्ग क्षेत्रबाट प्रसारण लाईन बिस्तार गर्न सके दुई वर्षभित्र सबै काम पूरा गर्न सकिने गरी काम अगाडि बढाएको प्राधिकरणका लागि सडक विभाग बाधक बनेपछि अव कम्तीमा एक वर्ष ढिला हुनेछ । २०६७ सालमा सुरु भएको यो आयोजना विभिन्न कारणले रोकिएको थियो । विद्युत अभावले जनजीवन अस्तव्यस्त हुन थालेपछि गत वर्षदेखि यो आयोजना अघि बढाइएको हो ।

सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले प्रसारण लाईन बिस्तारमा व्यक्ति मात्रै नभएर सरकारी निकाय नै बाधक बन्नु दुर्भाग्य भएको बताए । “प्रसारण लाईन बिस्तारमा कोही बाधक नबनी द्रुत गतिमा काम अघि बढाउन सहयोग गर्दा मात्रै रुपन्देहीको विकासमा सहयोग पुग्छ”–उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij