नेपाल दूरसञ्चार प्राधिकरणले सातै प्रदेशका दुई–दुई जिल्लामा सूचना प्रविधिसम्बन्धी सामग्री उपलब्ध गराउने भएको छ । प्राधिकरणको वार्षिक कार्यक्रमअन्तर्गत सोलुखुम्बु, उदयपुर, सप्तरी, धनुषा, सिन्धुपाल्चोक, रसुवा र नवलपरासीका विद्यालयमा पाइलट प्रोजेक्टका रूपमा कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिनलगायत सामग्री उपलब्ध गराइने भएको हो । त्यस्तै मुस्ताङ, दाङ, रोल्पा, सुर्खेत, जुम्ला, डडेल्धुरा र बाजुराका विद्यालयमा पनि यस्तो सामग्री उपलब्ध गराइने भएको छ ।
सूचना तथा सञ्चार प्रविधि (आइसिटी) नीतिले आइसिटीको प्रयोगमार्फत गुणस्तरीय शिक्षा अभिवृद्धि गर्ने भनेको छ । इ–स्कुल, इ–लर्निङ तथा इ–एजुकेसनको अवधारणालाई प्रवद्र्धन गर्ने नीतिगत उद्देश्यअनुसार प्राधिकरणले छनोटमा परेका १४ जिल्लाका हरेक विद्यालयमा २ थान कम्प्युटर, १ थान मल्टी फंक्सन (स्क्यानर र फोटोकपीसमेत) प्रिन्टर उपलब्ध गराउने भएको हो । विद्युतीकरण नभएको क्षेत्रका लागि सोलार पावर सप्लाइसमेत उपलब्ध गराइनेछ ।

अघिल्लो वर्षको कात्तिकमा सूचना तथा सञ्चार मन्त्रालयले स्वीकृत गरेको प्राधिकरणको वार्षिक कार्यक्रममा मन्त्रालयले नै नमुनाको परियोजनाका रूपमा प्रत्येक प्रदेशका दुई जिल्लामा कम्प्युटर सामग्री पुर्याउने कार्यक्रम थप गरेको थियो ।
त्यसका लागि आवश्यक सम्पूर्ण रकम प्राधिकरणको कोषमार्फत खर्च हुने प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । नमुना परियोजनाका लागि ५० करोड रुपैयाँ खर्च हुने अनुमान छ ।
बोलपत्र आह्वान
परियोजनाअन्तर्गत उपकरण खरिद, आपूर्ति, जडानलगायतका कार्यका लागि प्राधिकरणले २० असोजमा राष्ट्रियस्तरको बोलपत्र आह्वान गरिसकेको छ ।
जसअनुसार आगामी आइतबारसम्म बोलपत्र दर्ता गराइसक्नुपर्नेछ । हरेक प्रदेशका लागि छुट्टाछुट्टै प्याकेज बनाइएको भए पनि टेन्डरकर्ताले एक वा एकभन्दा बढी प्याकेजका लागि प्रस्ताव पेस गर्न सक्ने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार ६ महिनाभित्र परियोजनाअन्तर्गतको सम्पूर्ण कार्य सम्पन्न गरिसक्नुपर्ने हुन्छ ।
जसमा विद्युत् तथा इन्टरनेट सेवा पुगिसकेका विद्यालयमा पहिलो, विद्युत् पुगेका तर इन्टरनेट सुविधा नपुगेका विद्यालयमा दोस्रो तथा विद्युत् र इन्टरनेट दुवै सुविधा नपुगेका विद्यालयमा तेस्रो गरी तीन चरणमा उपकरण उपलब्ध गराइनेछ । इन्टरनेट सुविधा पुग्न बाँकी क्षेत्रमा ब्रोडब्यान्ड सेवा विस्तारका लागि प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषमार्फत विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij