नेपालमा रहेका युवाहरु नेपालमा अवसरहरु छैनन् भन्ने मान्यताले विदेशिइरहेको अवसरमा नेपालमा नै केही यस्ता व्यक्तिहरु छन्, जो नेपालमा नै नयाँ–नयाँ क्षेत्रहरु खोजी गर्न सकिन्छ भन्ने मान्यता बमोजिम अघी बढेका छन्, साथै हरेक समस्यामा अवसर समेत देख्ने गर्छन्, त्यसै मध्येका एक पात्र हुन् सान्त सर्मा ।
नेपालमा बग्गिलाई व्यावसायिक तवरले अघी बढाउने मान्यताले करिब ३० लाख रकमको लगानीमा करिब ३ महिना पहिले यस क्षेत्रमा लगानी अघी बढाएका एक व्यवसायी हुन् शान्त सर्मा । हाल उनले बग्गि एण्ड हर्स राइडर्स प्रा.लि. नामक कम्पनी स्थापना गरी बग्गीलाई व्यावसायिक तवरले अघी बढाएका हुन् । कम्पनी स्थापनाको छोटो अवधिमा नै उनले आफ्नो व्यवसायलाई पोखरामा समेत विस्तार गरिसकेका छन् ।
नेपालमा नयाँ क्षेत्रको रुपमा भित्रिएको बग्गी पर्यटनको क्षेत्रमा नयाँ क्षेत्रको रुपमा विस्तार हुने आशा लिइएको छ । नेपालमा अहिलेको अवस्थामा केही शोखिनले सेवा लिइरहेको यस व्यवसायमा आगामी दिनमा यस क्षेत्रको बजार निकै नै विस्तार हुन सक्ने राम्रो सम्भावना छ । उपत्यकामा राम्रो माग रहने देखेर हाल काठमाडौंबाट शुरु भएर पोखरामा समेत विस्तार भएको बग्गी व्यवसाय आगामी दिनमा देशका अन्य क्षेत्रमा समेत विस्तार हुन सक्छ ।
अहिले काठमाडौंमा शुरु भएको यो व्यवसाय उपत्यकामा दिउँसोको समयमा अव्यवस्थित सवारी चाप र सडकको अवस्थाको कारण सेवा सञ्चालन चुनौतीपूर्ण समेत छ । तर रातीको समयमा भने काठमाडौंमा यो (बग्गि) सेवा सञ्चालन गर्न सकिने सम्भावना राम्रो हुन सक्छ । यसैकारण सर्मा काठमाडौंमा आफ्नो सेवा रातीको समयमा समेत सञ्चालन गर्ने योजना बमोजिम रात्री प्याकेज समेत सर्माले ल्याउन लागेका हुन् ।
हाल यो व्यवसाय उच्च तथा मध्यम वर्गका व्यक्तिहरुलाई लक्षित छ । सोही बमोजिम सञ्चालन गरेको यो सेवामा काम गर्र्नको निम्ति हाल सर्माले ६ जना जनशक्तिलाई काममा खटाएका छन् । हाललाई भूतपूर्व सैनिकहरुको सहयोगमा यो सेवा विस्तार गरिएको छ ।
विवाह लगायतको विशेष अवसरमा बढी माग हुने बग्गी सेवा लिनको निम्ति हाल यसको शुल्क ६० हजार रुपियाँ कायम गरिएको छ । बग्गीमा शयर गर्ने क्रममा ठमेलबाट बुढानिलकण्ठ सम्म पुगेर फर्किनको निम्ति १० हजार मुल्य निर्धारण गरिएको छ । हाल यो सेवा सेनाप्रहरी, मन्त्री, प्रशासन लगायतका उच्च पदस्थ व्यक्तिहरुले धेरैजसो लिने गरेका छन । कर्पोरेट क्षेत्रका व्यक्तिहरु पनि सम्बन्धित सेवाको निम्ति लक्षित वर्ग हुन सक्छन् ।
नेपालमा अहिलेको अवस्थामा हर्स राइडिङ क्षेत्र नयाँ क्षेत्र भएको कारण यस क्षेत्रमा निकै कम व्यक्तिहरु मात्र संलग्न छन् । यसले गर्दा प्रतिष्पर्धा पनि कम छ । काठमाडौं, पोखरा र चितवनमा सीमित रहेको यस व्यवसायलाई अन्य क्षेत्रमा समेत विस्तार गर्न सकिने सम्भावना छ ।
यस क्षेत्रमा हाल स्तरीय जनशक्ति, सडकको अवस्था तथा नीतिगत कुराहरु लगायतका केही समस्याहरु छन् ।
हाललाई बग्गी सेवा काठमाडौंमा बुढानिलकण्ठमा केन्द्रित छ । पर्यटकहरुले यो सेवा लिन चाहेमा पहिले नै बुकिङ गरेर सेवा लिन सक्छन् । यसको अलावा नेपालका अन्य धार्मिक तथा ऐतिहासिक क्षेत्रमा समेत सेवा प्रदान गर्ने सर्माको योजना छ ।

समस्याले सम्भावनालाई जन्माउँदो रहेछ, शान्त सर्माले पनि यही महसुस गरेका छन् । केही बर्ष पहिले एउटा विवाह समारोहमा जानको निम्ति बग्गीको व्यवस्था गर्ने चाहना हुँदा यसको व्यवस्थापन गर्न निकै कठिन भयो । त्यही समय देखि नै नेपालमा बग्गिको राम्रो सम्भावना हुन सक्ने सर्माले देखे । त्यसै मान्यता बमोजिम अहिले उनले अहिले करिब ३० लाख रकम लगानीमा यो व्यवसाय शुरु गरेका हुन् ।
नेपालमा नयाँ व्यवसाय भएको र नेपालका सञ्चारगृहहरुसँग आफ्नो राम्रो सम्बन्ध भएका सर्मा व्यवसाय सञ्चालनको छोटो अवधिमा नै आफुबाट भएको प्रगति र आफ्नो व्यवसायमा भएको मानिसहरुको आकर्षणबाट सन्तुष्ट छन् । प्रचारप्रसारको निम्ति सञ्चारमाध्यमहरुको सहयोग प्रति पनि सर्मा आभार छन् । पछिल्लो समय नेपालका अनलाइन मिडियाहरुले आफ्नो सेवाबारे राम्रो सन्देश फैलाउन सहयोग गरिरहेको र सबै क्षेत्रको सहयोगमा नै आफूले यो अवस्थामा कम्पनीलाई ल्याउन सफल भएको सर्मा बताउँछन् ।
नेपालमा अहिले पनि महिलाहरुको संलग्नता यस क्षेत्रमा छैन । खासगरी नवप्रवेशी जनशक्तिले पनि शुरुका दिनमा यस क्षेत्रमा काम गर्न केही जटिल हुन सक्छ । यसै कुरालाई लक्षित गर्दैै आगामी दिनमा बग्गी तथा हर्स राइडिङ सम्बन्धि ट्रेनिङ प्रोग्रामहरु समेत सञ्चालन गर्ने सर्माको योजना छ ।
नेपालमा सम्भावना नभएका होइनन् । नेपालीहरु विदेशमा गएर विभिन्न किसिमका कामहरु गरिरहेका छन् । तर नेपालमा नै रहेर काम गर्नेतर्फ भने नेपालीहरुमा खासै आकर्षण पाइँदैन । हाम्रै देशमा नै रहेर केही नयाँ अवधारणा खोजी गर्ने हो भने नेपालमा नै राम्रा अवसरहरु भेट्न सकिन्छ । यसैका एक उदाहरण पात्र बनेका छन् शान्त सर्मा ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij